एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित
  • काँचुली खबर

२२ मंसिर, काठमाडौं । नेपाली टोली अण्डर-१९ एशिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट पराजित भएको हो ।

जितका लागि नेपालले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितका लागि अजान अवैसले अविजित रहँदै ५६ तथा कप्तान साद बेगले ५० रनको अर्धशतकीय इनिङ खेले ।

शाहजैब खानले १५ रन, मोहम्मद जिशानले अविजित २० रन जोड्दा शमिल हुसेन शुन्य रनमा आउट भए । बलिङमा नेपालका लागि गुलशन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनको कुल योगफल तयार पारेको थियो । नेपालका लागि विकेटकिपर उत्तम थापा मगरले अर्धशतकीय इनिङ खेले । उनले ७६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ जोडे ।

यस्तै दीपेश कडेलले ५९ बलमा २ चौका र १ छक्कासहित ३१, अर्जुन कुमालले ३७ बलमा ३ चौकासहित २१, सुवास भण्डारीले २४ बलमा अविजित ८, आकाश त्रिथाठीले ६, विपिन रावलले ७ रन जोड्दा गुलशन झा र विशाल विक्रम केशी समान १ रनमा आउट भए ।

कप्तान देव खनाल १३ तथा तिलक भण्डारी ६ बल खेल्दै शून्य रनमा पेभिलियन फर्किए । पाकिस्तानका मोहम्मद जिशानले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिदा अमिर हसनले २ तथा उबेद शाह र अली असफन्दले मसान १ विकेट हात पारे ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली एशिया कपका लागि समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान रहेको छ ।

नेपालले अब दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तान र तेस्रो तथा समूहको अन्तिम खेल भारतसँग डिसेम्बर १२ मा खेल्नेछ। समूह चरणको खेलपछि शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

  • २२ मंसिर २०८०, शुक्रबार १७:३० प्रकाशित
  • Nabintech