१३ मंसिर, नेपालगन्ज । पूर्व जनमुक्ति सेना तथा पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष लीला शर्मा ‘अस्मिता’द्वारा लिखित संस्मरणात्मक कृति ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ माथि नेपालगन्जमा परिचर्चा गरिएको छ।
महेन्द्र पुस्तकालय, नेपालगन्जको सभाहलमा आयोजित परिचर्चा कार्यक्रममा जिल्लाका कवि, लेखक, साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा साहित्यकार बन्धु चन्द, राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर र साहित्यकार जितबहादुर शाहले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।
साहित्यकार बन्धु चन्दले कृतिमा जनयुद्धकालीन संस्मरण र जीवन भोगाइका अनुभवलाई गैरआख्यानात्मक शैलीमा प्रस्तुत गरिएको बताइन्। पुस्तकले विगतका ऐतिहासिक क्षणलाई पुनः स्मरण गराउँदै लेखकका वास्तविक अनुभूति र भोगाइलाई उजागर गरेको उनको भनाइ थियो।
नेपाली समाजमा महिलाहरूले भोग्नुपरेको सामाजिक अवस्था र त्यसलाई चुनौती दिँदै जनयुद्धले नयाँ इतिहास निर्माण गर्ने प्रयास गरेको प्रसंग पुस्तकमा समेटिनु आफैँमा महत्त्वपूर्ण रहेको चन्दले टिप्पणी गरिन्। महिलाको संघर्ष, साहस र परिवर्तनप्रतिको आकांक्षालाई कृतिले अभिव्यक्त गरेको उनको भनाइ थियो।
राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले कृतिले तत्कालीन जनयुद्धको परिवेश, त्यसबेलाका अनुभूति र ऐतिहासिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। इतिहासका महत्वपूर्ण पक्षलाई व्यक्तिगत भोगाइसँग जोडेर साहित्यिक अभिव्यक्ति दिनु कृतिको विशेषता रहेको उनको टिप्पणी थियो।
त्यस्तै, साहित्यकार जितबहादुर शाहले युद्धको विरोध गर्ने पाठकले समेत रुचिका साथ पढ्न सक्ने कृति तयार भएको बताए। युद्ध बन्दुकको नालले मात्र होइन, कलमको निबबाट पनि अभिव्यक्त गर्न सकिन्छ भन्ने सन्देश कृतिले दिएको उनको भनाइ थियो।
नेपाली साहित्यले शुद्ध, सिलसिलेवार र पठनीय कृति प्राप्त गरेको उल्लेख गर्दै शाहले ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ ऐतिहासिक घटनाक्रम र व्यक्तिगत अनुभूतिहरूको महत्वपूर्ण दस्तावेज बनेको टिप्पणी गरे।
कार्यक्रममा लेखक लीला शर्मा ‘अस्मिता’ले कृतिमा समेटिएका आफ्ना जीवनभोगाइ, संघर्ष र अनुभवका विभिन्न पाटाबारे चर्चा गरेकी थिइन्। उनले दशवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनाको कमाण्डरका रूपमा युद्धभूमिमा बिताएका दिनदेखि क्यान्सर रोगसँगको संघर्ष र त्यसलाई पराजित गर्दासम्मका अनुभूतिलाई पुस्तकमा समेटिएको बताइन्।
युद्धकालीन वास्तविकता, आफूले भोगेका पीडा, संघर्ष र अनुभवलाई साहित्यका माध्यमबाट अभिलेख गर्ने उद्देश्यले पुस्तक तयार पारेको शर्माको भनाइ थियो। इतिहासलाई सत्यपरक ढंगले प्रस्तुत गर्ने प्रयासस्वरूप कृति लेखिएको उनले बताइन्।
दश वर्षे जनयुद्धको कठिन परिवेश, एक महिला युद्धकर्मीका रूपमा भोग्नुपरेका चुनौती, व्यक्तिगत जीवनका उतारचढाव र क्यान्सरविरुद्धको संघर्षलाई पुस्तकमा संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले तत्कालीन राजनीतिक तथा सामाजिक परिवेशको चित्रण गर्नुका साथै एक महिलाको साहस, आत्मविश्वास र संघर्षपूर्ण जीवनयात्रालाई अभिलेख गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले कृति पठनीय र महत्वपूर्ण रहेको टिप्पणी गरेका थिए।
प्रगतिशील लेखक संघ नेपाल, बाँके शाखाका अध्यक्ष चरित्रा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री महेश्वर गहतराज ‘अथक’, संविधानसभा सदस्य तथा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य किरण आचार्यलगायतले कृतिमाथि धारणा राखेका थिए।
जनयुद्धको कठिन समयदेखि क्यान्सरसँगको जीवनमरणको संघर्षसम्मका अनुभव समेटिएको पुस्तकलाई संघर्ष, साहस र आत्मविश्वासको प्रेरणादायी दस्तावेजका रूपमा समेत हेरिएको छ। विशेषगरी महिलाहरूका लागि चुनौतीसँग जुध्ने आत्मबल र जीवनप्रतिको आशा जगाउने कृतिका रूपमा पुस्तकको महत्व रहेको सहभागीहरूको धारणा थियो।
नेपालयबाट प्रकाशित पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ।
१३ मंसिर २०८३, आईतवार १९:०३ प्रकाशित