सुत्केरीको मृत्युपछि बाँकेको सञ्जीवनी मेडिकल कलेजमा तनाव
  • काँचुली खबर

३० कार्तिक, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा जुम्ल्याहा बच्चा जन्माएकी १९ वर्षीया सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका-७ की पवित्रा केसीको उपचारका क्रममा कात्तिक २९ गते राति पौने १ बजे मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

आन्दोलनका क्रममा मृतकका आफन्तले बाटोसमेत अवरुद्ध पारेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यता अस्पताल प्रशासनले भने पवित्रालाई भर्ना गर्दा नै गम्भीर संक्रमण र स्वास्थ्य जटिलता रहेको दाबी गरेको छ । उनको ज्यान बचाउन चिकित्सकले सम्भव भएसम्मका सबै उपचार विधि अपनाएको अस्पतालको भनाइ छ । उपचारमा लापरबाही भए/नभएको विषयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच विवाद हुँदा सहमति जुट्न सकेको छैन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पवित्रा सात महिनाकी गर्भवती थिइन् । पेट दुख्ने समस्या देखिएपछि आफन्तले उनलाई कात्तिक २६ गते बिहान अस्पताल पुर्‍याएका थिए । सुरूमा प्रसूति वार्डमा राखेर परीक्षण गर्दा गर्भमा रहेका शिशुको मुटुको धड्कन सामान्य रहेको चिकित्सकले बताएका थिए । त्यतिबेला प्रसव व्यथा पनि सुरु भएको थिएन ।

तर, स्वास्थ्य परीक्षणका क्रममा उनलाई जन्डिस, ज्वरो र ‘सेप्सिस’ अर्थात् गम्भीर संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यसपछि उनलाई प्रसूति वार्डबाट आकस्मिक कक्ष हुँदै मेडिसिन वार्डमा सारेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अल्तावान राहीका अनुसार पवित्रालाई अस्पताल ल्याउँदासम्म शरीरमा संक्रमण फैलिइसकेको थियो । उनको जन्डिसको मात्रा प्रतिडेसिलिटर ७ मिलिग्राम पुगेको थियो, जबकि सामान्य अवस्थामा यो १.२ मिलिग्रामभन्दा कम हुनुपर्छ । रगतमा सेतो रक्तकोषको मात्रा पनि उच्च देखिएको र कलेजोमा समेत संक्रमण फैलिएको चिकित्सकको भनाइ छ ।

मेडिसिन वार्डमा डा. राहीको नेतृत्वमा उपचार भइरहँदा प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. युवराज कार्कीले पनि उनको स्वास्थ्य अवस्थाको नियमित निगरानी गरिरहेका थिए । अस्पतालका अनुसार संक्रमणका कारण पवित्राको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको थियो ।

गर्भमा रहेका शिशुले दिसा गरिसकेको र कात्तिक २७ गते पानीको थैलीसमेत फुटेपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको थियो । त्यसपछि चिकित्सकको टोलीले शल्यक्रिया गरेर बच्चा निकाल्ने निर्णय गरेको थियो ।

कात्तिक २७ गते साँझ पौने ६ बजे गरिएको शल्यक्रियाबाट पवित्राले जुम्ल्याहा सन्तान (एक छोरा र एक छोरी) जन्माइन् । छोराको तौल १.९ केजी र छोरीको तौल १.७ केजी थियो । शल्यक्रियाका क्रममा करिब १ हजार २ सय मिलिलिटर रगत बगेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि पवित्रालाई पोस्ट-अपरेटिभ वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई आइसीयूमा सारियो । तीन पिन्ट रगत चढाउँदासमेत रक्तस्राव नियन्त्रणमा समस्या भएको चिकित्सकले बताएका छन् ।

रक्तस्राव नरोकिएपछि ज्यान बचाउने प्रयासस्वरूप चिकित्सकले पाठेघर नै निकाल्नुपरेको अस्पतालले जनाएको छ । प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. कार्कीका अनुसार रक्तस्राव नियन्त्रणका लागि ‘हिस्टेरेक्टोमी’ अर्थात् पाठेघर निकाल्ने शल्यक्रिया गरिएको थियो ।

अस्पतालका चिकित्सकका अनुसार विभिन्न पाँच प्रकारका औषधि प्रयोग गर्दा पनि उनको रक्तचाप सामान्य अवस्थामा ल्याउन सकिएको थिएन । रक्तचाप कायम राख्न कठिनाइ हुनुका साथै शरीरका महत्त्वपूर्ण अङ्गहरूको काम गर्ने क्षमतासमेत कमजोर हुँदै गएको थियो ।

अस्पतालले पवित्राको मृत्यु अत्यधिक रक्तस्रावका कारण मात्रै नभई संक्रमण र गर्भावस्थासँग सम्बन्धित जटिलताका कारण भएको दाबी गरेको छ । उपचारका क्रममा शरीरका विभिन्न महत्त्वपूर्ण अङ्गले काम गर्न छाड्ने अवस्था अर्थात् ‘मल्टिपल अर्ग्यान डिसफङ्सन सिन्ड्रोम’ (एमओडीएस) विकसित भएको र यही अवस्थालाई मृत्युको चिकित्सकीय कारण मानिएको अस्पतालको भनाइ छ ।

दुई शिशुको भविष्यको जिम्मेवारी अस्पतालले लिनुपर्ने माग

उपचारमा लापरबाही भएको दाबी गर्दै मृतकका आफन्तले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् । अस्पताल प्रशासन र प्रहरीसँग भएको छलफलमा माग पूरा नभएसम्म शव नबुझ्ने अडानसमेत उनीहरूले राखेका छन् ।

मृतककी हजुरआमा विष्णुमाया आचार्यले आमाको मृत्यु भएपछि दुई नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने माग गरिन् । परिवारले उपचारमा संलग्न चिकित्सकको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग पनि राखेको छ ।

यस विषयमा आइतबार भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन । अस्पताल प्रशासन, पीडित परिवार र प्रहरीबीच सहमति जुटाउन सोमबार पनि छलफल सुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले तीनै पक्षबीच सहमतिका लागि बैठक बसिरहेको बताए । ‘अहिले भर्खर छलफलका लागि बैठक बसेका छौँ, अस्पताल प्रशासन सहज ढङ्गले अघि बढ्नेछ,’ उनले नेपाल प्रेससँग भने ।

दुई नवजात शिशु आमाविहीन बनेपछि परिवारले उनीहरूको भविष्यको चिन्ता व्यक्त गर्दै अहिले पनि अस्पताल गेटमा धर्ना दिइरहेको छ ।

बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले अहिलेसम्म पीडित पक्षबाट कुनै जाहेरी नआए पनि विरोध प्रदर्शन भइरहेको बताए । ‘सहमतिका लागि धेरै पटकको बसाइ भयो, पीडित पक्ष सहमत भएका छैनन् ।

अस्पताल प्रशासन मृतकको अन्त्येष्टि, किरिया खर्च, दुई बच्चाको निःशुल्क उपचार र श्रीमानलाई रोजगारीसम्म मिलाउन सहमत देखिन्छ, तर पीडित पक्षबाट समझदारी भएन,’ उनले भने, ‘त्यही विषयलाई लिएर बाटो बन्द गरेका थिए, प्रहरीले ५ जनालाई पक्राउ गरेर राखेको छ । शव अस्पतालमै छ । अस्पतालको सेवा नरोक्न प्रहरी परिचालन गरिएको छ ।’

  • १ मंसिर २०८३, सोमबार १५:५५ प्रकाशित
  • Nabintech