श्रीलंकाबाट खोसियो अण्डर-१९ विश्वकप २०२४ को आयोजनाको अधिकार
  • काँचुली खबर

६ मंसिर, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड ९आईसीसी० ले आउँदो जनवरीमा हुने टी २० अण्डर-१९ विश्वकप २०२४ को आयोजकको अधिकार श्रीलंकाबाट खोसेको छ । आईसीसीले पहिले अण्डर–१९ विश्वकप २०२४ को आयोजनाको जिम्मेवारी श्रीलंकालाई दिएको थियो । तर अहिले आईसीसीले अण्डर-१९ विश्वकपको आयोजना दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ ।

आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा भएको राजनीतिक हस्तक्षेप र अण्डर-१९ विश्वकपको आयोजनाको बारेमा निर्णय दिन ढिलाई गरेका कारण १५औं संस्करण विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

श्रीलंकन क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएपनि आईसीसीले श्रीलंकन क्रिकेट बोर्डलाई निलम्बन भने गरेको छैन । आईसीसीको यो निर्णयले अव श्रीलंकाले अण्डर-१९ विश्वकप क्रिकेटको आयोजना गर्न नपाए पनि आईसीसी अन्तर्गतका सम्पूर्ण अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाउन भने पाउने छ ।

तर श्रीलंकन क्रिकेट बोर्डलाई आईसीसीवाट प्राप्त हुने फन्डिङ्गमाथि भने आईसीसीद्वारा नियन्त्रण गरिने छ । स्मरण रहोस यसै वर्षको शुभारम्भमा श्रीलंकाले महिला अण्डर-१९ टी२० विश्वकपको आयोजना गरेको थियो ।

आगामी जनवरी २०२४ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी२० अण्डर-१९ विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगितामा १६ राष्ट्रलाई ४ समुहमा विभाजन गरेर खेलाइने छ ।

टी २० अण्डर-१९ विश्वकपको समुह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका रहेका छन । त्यस्तै समुह ‘बी’ मा इङ्गल्याण्ड, दक्षिण अफ्रिका, वेष्टइण्डिज र स्कटल्याण्ड परेका छन्। यसैगरि समुह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिविया रहेका छन् भने समुह ‘डी’ मा अफगानिस्तान, पाकिस्तान, न्यजील्याण्ड र नेपाल रहेका छन् ।

  • ६ मंसिर २०८०, बुधबार १४:५९ प्रकाशित
  • Nabintech