१४ बैशाख २०८१, शुक्रबार
नेपाली फिल्म : ‘गुरिल्ला’ निर्माता, नचाहिँदो हल्ला अनि फरक यथार्थ
  • काँचुली खबर

अभिनेता दयाहाङ राईले आफुनजिकका साथीभाईको व्यानरमा बनेको फिल्ममा ५ लाख भन्दा बढि पारिश्रमिक लिँदैनन् । त्यसबाहेकको राम्रो कथा नभएको तर खेल्नैपर्ने फिल्मसम्म पुग्दा उनको पारिश्रमिक जम्मा ७ लाख हुन्छ । त्यसमा केहीबाहेक अन्य सुविधा हुँदैन ।

काठमाडौंका बागबजार, अनामनगरतिर एक कोठामा खोलिएका फिल्म व्यानरका निर्माताहरूले भने करोडौंको लगानी, लाखौंको पारिश्रमिक दिएको घोषणा गर्छन् । केहीबाहेक दिनभरी गुरिल्ला ताकमा रहेका निर्माताले पैसा लगानीका लागि विदेशी ओभरसीजका मालिक, विभिन्न देशमा फिल्म प्रदर्शनको जिम्मा लिने व्यक्तिको सहयोग लिन्छन् ।

उनीहरूले तयार पार्ने निर्देशक पनि अत्यन्तै कम पारिश्रमिकका हुने गरेका छन् । त्यसकारण चलेका निर्देशकहरूले फरक व्यानरका फिल्म समात्न नसकेका पनि हुन् ।

अहिले नयाँ हल्ला बजारमा देखाउन थालिएको छ । अभिनेत्री नम्रता श्रेष्ठले ‘प्रसाद’का लागि १५ लाख रुपैंया पारिश्रमिक लिइन् रे १ ‘१५ लाख त अभिनेतालाई पनि दिने गरेका छैनन्, कसरी अभिनेत्रीले पाउँछिन् रु आश्चर्यको कुरो हो’, एक फिल्मकर्मीले भने,‘यो बजार नै हल्लैहल्लाको हो । त्यसैले गसिप बन्ने गरेको छ ।’

नम्रताको मात्र होइन, यस्ता हल्ला अन्य अभिनेत्रीका पनि आएका हुन् । आर्यन सिग्देलसँग जोडी बाँधेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाख पारिश्रमिक लिएको हल्ला चलाइयो ।

खासगरी निर्माताले फिल्मको बजेट बढि देखाउनका लागि यस्ता हल्ला चलाउने गरेका छन् । खासमा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएकी होइनन्, उनी ५ लाखमा अनुबन्धित भएकी हुन् । बाँकी ५ लाख उनले लगाउने कपडाका लागि भनिएको छ । एक निर्माता भन्छन्,‘त्यो पनि फिल्म युनिटले नै तयार पार्छ होला । दिन्छन् भन्ने लाग्दैन ।’

स्टारडम झल्काउन र गलत हल्ला चलाएर फिल्म निर्माण गर्नेहरूसँग बार्गेनिङ बढाउनका लागि कतिपय अभिनेताहरूकै पारिश्रमिक पनि उच्च देखाउने गरिएको छ । चलेका भनिएका अभिनेतालाई बडीगार्डसँगै पत्रकार सम्मेलनमा उतारेर यस्ता ताण्डव देखाउने चलन रहेको छ ।

खासमा अभिनेताको पारिश्रमिक पनि भनेजति हुने गरेको छैन । ‘तीन किस्ता गरेर १० लाख पाउनु पनि भाग्य हो, यहाँ हल्ला २० देखि ५० लाखसम्मको चलाइन्छ’, फिल्म निर्माता दाबी गर्छन्,‘फिल्मको सबै खर्च बढिमा एक करोडमा सक्ने लक्ष्य राखेकाले कसरी अभिनेता र अभिनेत्रीलाई त्यत्रो रकम दिन्छन् र रु’

किन चलाइन्छ यस्तो हल्ला ?
केही बाहेकका अभिनेता अभिनेत्रीहरूले आफ्नो नजिक बनाएका मिडियामार्फत चलाउने यस्तो हल्लाले उनीहरूको विदेशी स्टेजमा देखाइने प्रदर्शनको दर बढ्ने भएकाले यस्तो हल्ला चलाइएको हो ।

नेपालका पनि विभिन्न ठाउँमा मेला महोत्सवमा कलाकारको माग बढ्ने हुँदा त्यहाँको रेट बढाउनका लागि पनि हल्ला चलाउने गरिएको छ । ‘नेपाली फिल्मको बजार हेरेर कुराकानी हुन्छ, बजार नै नभएको फिल्ममा अभिनय गरेर करोडौंको लगानी भएको हल्ला वाइयात हो’, स्रोतले भन्यो,‘आफ्नो व्यानरको फिल्मको कार्यालयमा गतिलो सोफा राख्न नसक्नेले लाखौं कसरी दिन्छ ?’

 

स्रोत : दैनिक नेपाल

  • १४ असार २०७५, बिहीबार १४:३७ प्रकाशित
  • Nabintech