२ जेष्ठ २०८१, बुधबार
ओली पक्षीय युवा संघमा विवाद, पौडेलको बिदाई
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको बैठकमा विवाद भएको छ ।

नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक स्थल तनावग्रस्त बनेको थियो ।

युवा संघका इञ्चार्ज महेश बस्नेतसहितको अध्यक्ष मण्डलले उमेर हदका कारण पौडेललाई विदा गर्ने निर्णय सुनाएपछि विवाद भएको थियो ।

युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष तथा एकीकरणपछिका सहसंयोजक पौडेललाई अध्यक्ष बनाउनुपर्ने पौडेल पक्ष युवाको जोड थियो ।

अध्यक्ष मण्डलले अध्यक्षमा वचन बहादुर सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले चयन गरेको थियो । विवादपछि पौडेल समूह भने बाहिरिएको एक युवा नेताले बताए ।

युवा संघमा सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा एकलौटी गरेको आरोप गृहमन्त्री रामबहादुर थापा बादल पक्षका युवाको छ । सो बैठकमा बादल समूहका युवाहरु सहभागी समेत भएनन् ।

पूर्ववाइसीएलका नेता सुदीप तामाङले आफूहरु सो बैठकमै नगएको बताए । सबैलाई मिलाएर लैजाने विषयमा छलफल भएको तर कुरा नमिलेपछि आफूहरु बैठकमा नगएको उनले बताए । आफूहरु ८१ जना केन्द्रीय सदस्यसहित बैठकमा सहभागी हुन खोजेको पनि उनले बताए ।

‘यो बैठक त गुटको पनि उपगुटको मात्र हुन पुग्यो’ उनले भने, ‘हाम्रो असहमतिपछि महेश बस्नेतले पार्टीमा कुरा गरेर टुंग्याउने भन्नुभएको थियो, तर उहाँले पार्टीमा छलफल नै नगरी कार्यसमिति घोषणा गरिदिनुभयो ।’

अध्यक्षमा सिंह

युवा संघका इञ्चार्ज महेश बस्नेतसहितको अध्यक्ष मण्डलले वचन सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको हो ।

उक्त बैठककले सहअध्यक्षमा किरण पौडेललाई चुनेको छ । यस्तै, युवा संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-नेपाल समूहमा लागेपछि ओली पक्षले उनलाई हटाएर नयाँ नेतृत्व चुनेको हो । युवा संघका इञ्चार्ज बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचन बहादुर सिंहबीच सहमति जुटाउन केहि समययता प्रयत्न गरेका थिए ।

  • २७ माघ २०७७, मंगलवार १३:३९ प्रकाशित
  • Nabintech