८ बैशाख २०८१, शनिबार
जापानका समर्थकले खेलपछि सफा गरे रंगशाला, सेनेगलका समर्थक पनि त्यही बाटोमा
  • काँचुली खबर

काठमाडौं, ६ असार – कोलम्बियासँगको तनावपूर्ण म्याच २–१ ले जितेपछि जापानी समर्थकहरूले रंगशाला सफा गरेका छन् ।

विश्वकपका म्याचहरूपछि प्रायः दर्शकदीर्घामा खानेकुराको बाँकी भाग, कप र –यापरहरू यत्रतत्र फालिएका भेटिन्छन् ।  तर जापानी समर्थकहरूले आफूले फालेका सबै फोहोर झोलामा टिपेर लगेका छन् ।

उनीहरूले रंगशालामा आफू बसेको सीट र पंक्तिलाई ध्यान दिएर सफा गरेका छन् । पहिलोपटक एसियाली टोलीले दक्षिण अमेरिकी टोलीलाई हराएपछि खुशी भएका समर्थकहरूले सभ्य व्यवहारको उत्कृष्ट नमूना देखाएका हुन् । उनीहरूले फोहोर बोक्ने ठूला झोलाहरू ल्याएका थिए अनि त्यसैमा फोहोर हाल्दै हिँडेका थिए । उनीहरू रंगशालामा पस्दा जस्तो सफाइ थियो, गएपछि पनि त्यस्तै सफा रह्यो ।

नीलो सामुराई भनी चिनिने जापानका समर्थकहरूले असल व्यवहार देखाएको पहिलोपटक हैन । सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्न थालेदेखि जापानका समर्थकहरू जहाँ गएपनि फोहोर सफा गरिहाल्छन् । त्यस्तै अफ्रिकी टोली सेनेगलका समर्थकहरूले पनि मंगलवार पोल्यान्डसँगको खेलपछि रंगशालाको फोहोर सफा गरेका छन् । उक्त खेलमा सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको थियो ।

म्याचका बेलामा उत्साहित भएर फोहोर फ्याँकेका सेनेगली समर्थकहरूले दयालुता देखाउँदै रंगशाला सफा गरे ।  उनीहरूको यो कार्यले सामाजिक सञ्जालमा निकै प्रशंसा दिलायो । जीतपछि विनम्रता र सहयोगी भावना देखाएको भनी उनीहरूको प्रशंसा भएको हो ।

  • ६ असार २०७५, बुधबार १३:११ प्रकाशित
  • Nabintech