७ बैशाख २०८१, शुक्रबार
तालिबान र अफगान सैनिकले सँगै मनाए इद
  • काँचुली खबर

अफगानिस्तानमा तालिबान र अफगानी सुरक्षाकर्मीले अंकमाल गर्दै आपसमा इदको शुभकामना आदान–प्रदान गरेका छन् । केही वर्ष अगाडिसम्म यस्तो हुनु असम्भव थियो, तर अहिले यो साँच्चिकै भएको छ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले युद्धविरामको समयसीमा बढाएका छन् र तालिबानसँग पनि युद्धबिरामको समयसीमा बढाउन अपिल गरेका छन् । सरकारले तालिबान चरमपन्थीलाई जेलबाट मुक्त पनि गरेको छ ।पवित्र मानिने रमजान महिनापछि अफगानिस्तानमा चरमपन्थी र अफगान सैनिकले मिलेर इद मनाएका हुन् । उनीहरूले अंकमाल गरे, एक–आपसमा शुभकामना दिए र सँगै फोटो पनि खिचाए ।  तर, अफगानिस्तानको नंगरहार पं्रान्तमा भने एक आत्मघाती हमला भएको छ । जसमा २५ जनाको मृत्यु भयो । यो घटना भएको ठाउँमा सरकारी कर्मचारी र तालिबानी चरमपन्थी जम्मा भएका थिए । यस प्रान्तका प्रवक्ता अतुल्लाह खोगयानीले बिबिसीसँग उक्त घटनामा तालिबानका केही सदस्य र केही स्थानीयको पनि मृत्यु भएको थियो । उक्त घटनामा ५४ जना घाइते भएका थिए । समाचार संस्था रोयटर्सका अनुसार उक्त क्षेत्रमा चरमपन्थी संगठन इस्लामिक स्टेटले उक्त हमलाको जिम्मेबारी लिएको बताएको छ ।

शान्तिका लागि युद्धविराम

राष्ट्रपति गनीले भने इदमा भएको युद्धविरामलाई बढाएर स्थायी शान्तिको बाटोमा कदम बढाउनुपर्ने बताएका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, ‘तालिबानका सदस्यलाई पनि अब सामान्य नागरिकको जस्तै सरकारी सहयोग मिल्न सक्छ ।’ उनले आफ्नो सम्बोधनमा नगरहारमा भएको हमलाका बारेमा भने केही पनि भनेनन् ।

राष्ट्रपति गानीले बिहीबार अमेरिकी वायुसेनाको एक ड्रोन हमलामा पाकिस्तानी तालिबान प्रमुख मौलाना फजलुल्लाहको मृत्यु भएको पुष्टि गरेका छन् । यो महिनाको सुरुवातमा तालिबान र अफगान सरकारबीच कुराकानी भएको चर्चा बाहिर आउँदा उसले त्यो हल्ला मात्रै रहेको बताएको थियो ।

इदमा केके भयो ?

टोलो न्युजले एक भिडियो पोस्ट गरेको छ जसमा उत्तरी भागस्थित कुन्दुज सहरमा एक तालिबानी चरमपन्थी अफगान सैनिसँग अंकमाल गरेका छन् । च्यानल वानले पनि काबुलको दक्षिणी भागमा रहेको गज्नी सहरमा तालिबान लडाकु र सैनिकले इद मनाएको तस्बिर पोस्ट गरेको थियो ।

काबुलमा पनि हजारौं तालिबान लडाकु युद्धविरामको खुसी मनाउन आएका थिए । एक तालिबानी सदस्यको हातमा अफगानिस्तानको झन्डा थियो । स्थानीय उनीसँग सेल्फी लिइरहेका थिए ।

कसरी भयो युद्धविराम ?

अफगान सरकारले बुधबारसम्म एकतर्फी युद्धविराम घोषणा गरेपछि तालिबानले यो महिनाको सुरुवात तीन दिन युद्धविराम गर्ने घाषणा गरेको थियो । सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको हमलापछि तालिबानी सत्ता ढलेपछिको यो पहिलो युद्धविराम हो । यो युद्धविरामपछि अमेरिकाले यसलाई सम्मान गर्ने बताएको छ ।

राष्ट्रपति गानीले युद्धविराम अझै लामो बनाउने घोषणा गरेका छन् । उनले आइतबार सकिने युद्धविराम थप गर्न निर्देशन दिएका छन् । फेब्रुअरीमा राष्ट्रपति भएपछि विनासर्त शान्तिवार्ता गर्न तयार भएका उनले भनेका थिए, ‘यदि तालिबान कानुनको सम्मान गर्छ भने उसलाई एक राजनीतिक दलको दर्जा दिइनेछ ।’

अफगान जनता के भन्छन् ?

स्थानीयवासीले इदको बेलामा भएको असम्भव मिलनले आश्चर्यमा परेको र खुसी पनि लागेको बताएका छन् । कुन्दुजमा बस्ने एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘मलाई मेरो आँखामा पनि भरोसा भएन । मैले तालिबान र पुलिस सँगै बसेर सेल्फी लिइरहेको देखें ।’ दक्षिणी अफगानिस्तानका जाबुलमा पढ्दै गरेका एक विद्यार्थीले भने, ‘यो अहिलेसम्मको सबैभन्दा शान्तिपूर्ण इद थियो । पहिलोपटक हामीले सुरक्षित महसुस गर्यौं । यो खुसी सुनाउनै सकिरहेको छैनँ ।’ रोयटर्सका अनुसार भीडले सिठी बजाएर कराएर विभिन्न सहरमा तालिबान लडाकुको स्वागत गरेको थियो । पूर्वी अफगानिस्तानको जलालाबादमा चरमपन्थीले फलफूल र मिठाईसमेत बाँडेको थियो ।

  • ३ असार २०७५, आईतवार १६:१२ प्रकाशित
  • Nabintech