१३ बैशाख २०८१, बिहीबार
प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने कर्णाली प्रदेशमा
  • काँचुली खबर

सुर्खेत – कर्णाली प्रदेश सरकारले हरेक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार पनि समयको सदुपयोग गर्ने र बिदाको समयमा पनि नागरिककै काममा लाग्ने उद्देश्यले अबदेखि प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

‘कर्णाली प्रदेश अन्य प्रदेशभन्दा पछि परेको छ । हामीले कर्णालीलाई समद्ध गराउन धेरै मेहनत गर्नुछ’, सरकारकी प्रवक्ता समेत रहेकी केसीले भन्नुभयो, ‘हामीले प्रत्येक शनिबार बैठक बस्ने र समस्याका बारेमा छलफल गर्ने निर्णय गरेका छौं । यसले हामीलाई अघि बढ्न सहयोग गर्छ र समयको सदुपयोग पनि हुन्छ ।’

यस्तै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५  र जिल्ला सभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका  २०७५ स्वीकृत गरेको छ ।  प्रदेश सार्वजनिक व्यवस्था तथा संचालन सम्वन्धि विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्बन्धी विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि विधेयक २०७५को मस्यौैदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

  • २० जेष्ठ २०७५, आईतवार १९:४७ प्रकाशित
  • Nabintech