इंग्लिस प्रिमियर लिगमा हडर्सफिल्डको पहिलो जित
  • काँचुली खबर

काठमाडौं – हडर्सफिल्ड टाउनले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै यो सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको हो । तर हडर्सफिल्डले गोल गर्दै जित निकालेको भने होइन । फुलहामका तिमोथी फोसु मेन्साहले आत्मघाती गोल गरेपछि हडर्सफिल्डको भाग्य चम्किएको हो ।  मेन्साहले खेलको २९ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे । उनले आत्मघाती गोल गरेसँगै हडर्सफिल्डले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको हडर्सफिल्डले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

जितसँगै ११ खेलबाट १ खेलमा जित र ३ खेलमा बराबरी खेलेको हडर्सफिल्डको ६ अंक भएको छ । यता फुलहामको भने ५ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । सिटीको ११ खेलबाट २९ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा चेल्सी र तेस्रो स्थानमा लिभरपुल रहेका छन् । चेल्सी र लिभरपुलको समान २७–२७ अंक भएपनि गोलअन्तरको आधारमा चेल्सी अघि रहेको छ ।

  • २० कार्तिक २०७५, मंगलवार ०८:०९ प्रकाशित
  • Nabintech