१९ बैशाख २०८१, बुधबार
भविष्यमा काठबाट बन्नेछ स्मार्टफोनको डिस्प्ले !
  • काँचुली खबर

एजेन्सी । धेरै खालका डिभाइसको डिस्प्लेका लागि काँच वा प्लास्टिकको प्रयोग हुने गरेको छ । तर भविष्यमा एउटा तेश्रो वस्तुको पनि यसमा प्रयोग सकिने सम्भावना देखिएको छ ।

भविष्यमा तपाइँको स्मार्टफोनको स्क्रिन अर्थात् डिस्प्ले काठबाट बनेको पदार्थले तयार हुनेछ । वैज्ञानिकहरुले एउटा पारदर्शी काठ निर्माणमा काम गरिरहेका छन् जसको प्रयोग भविष्यमा स्मार्टफोन लगायतका विद्युतीय उपकरणहरुको डिस्प्ले बनाउनमा प्रयोग गर्न सकिनेछ ।

साइन्टिफिक अमेरिकनमा प्रकाशित एक रिपोर्टमा स्विडेनस्थित केटिएच रोयल इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ता लार्स बर्गलुण्ड तथा अमेरिकास्थित मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले पारदर्शी काठका बारेमा गरेको अनुसन्धानको विवरण दिइएको छ । पारदर्शी काठका विषयमा वर्षौँदेखिको अनुसन्धान पश्चात् भविष्यमा यसलाई विभिन्न काममा उपयोग गर्न सकिने आशाजनक वस्तुका रुपमा हेर्न थालिएको छ ।

के कुनै काठ पारदर्शी हुनसक्छ रु यो हामीलाई झ्वाट्ट विश्वास नलाग्ने कुरा हो । आखिर काठलाई कसरी पारदर्शी बनाउने ?

काठलाई पारदर्शी बनाउने प्रक्रियामा काठबाट लिग्निन नामक पदार्थलाई हटाइन्छ । गुँदजस्तो यो पदार्थले काठमा ट्युबजस्ता कोशिकाहरुलाई बाँधेको हुन्छ जुन पूरै रुखमा पानी तथा पोषक तत्वलाई एकसाथ पूराउँछ र रुखलाई खैरो रंग प्रदान गर्न मद्दत गर्दछ ।

काठको रंग हटाउनका लागि शोधकर्ताहरुले ब्लिच गरेर लिग्निन हटाइदिए र पारदर्शी बनाउनका लागि यसमा एपोक्सी रोल भरिदिए ।

मेरिल्याण्ड विश्वविद्यालयमा शोधकर्ता बर्गलुण्ड र प्रमुख वैज्ञानिक लियांगबिंगका अनुसार पादर्शी काठको मिलिमिटर मोटो पत्रबाट ८० देखि ९० प्रतिशत सम्म प्रकाश छिर्न सक्दछ । जब त्यो पत्र एक सेन्टिमिर मोटो हुन्छ, तब त्यसबाट प्रकाश छिर्न मुस्किल पर्दछ ।

दबाबका कारण काठ कति छिटो भाँचिन्छ भन्ने कुरा आँकलन गर्न गरिएको परीक्षणका क्रममा पारदर्शी काठ प्लेक्सीग्लास भन्दा ३ गुणा तथा काँचभन्दा १० गुणा धेरै बलियो हुने गरेको पाइयो ।

पातलो भएका कारणले गर्दा पारदर्शी काठलाई प्लास्टिक तथा काँचको विकल्पको रुपमा हेरिएको छ । त्यसैले आगामी दिनमा स्मार्टफोन, कम्प्युटर तथा अन्य उपकरणका स्क्रिनमा प्लास्टिक वा काँचको साटो यहीँ पारदर्शी काठको प्रयोग हुने आशा गरिएको छ । एजेन्सीको सहयोगमा

  • २४ पुष २०८०, मंगलवार १७:०१ प्रकाशित
  • Nabintech