८ बैशाख २०८१, शनिबार
कसले उचाल्ला विश्वकपको ट्रफी ?
  • काँचुली खबर

 विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् ।

२१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ । फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् । डिडियर फ्रान्सलाई प्रशिक्षकका रूपमा पनि उपाधि दिलाउन चाहन्छन् । ‘फाइनल जित्ने टोलीको दृढता बलियो छ । हाम्रो रक्षा, मध्य र अग्रपंक्ति सन्तुलित छ । हामीले एउटै कुरा देखेका छौं, त्यो हो उपाधि । त्यसका लागि हामी उत्कृष्ट फुटबल खेल्दैछौं’, डिडियरले भनेका छन् । फ्रान्स टोली इतिहासकै बलियो भएको पनि डिडियरले दाबी गरे ।

यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । पहिलो सहभागितामै क्रोएसियालाई फ्रान्सले सेमिफाइनलमै २–१ गोलले पराजित गर्‍यो । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका यी दुई टोलीबीच समग्रमा पाँचपटक भिडन्त भएको छ । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।

सेमिफाइनलमा सुरुआती अग्रता लिएको बलियो इङ्ल्यान्डलाई अतिरिक्त समयमा हराउँदै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया समूह चरणदेखि नै उत्कृष्ट लयमा छ । ‘हामीले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेका छौं । विपक्षी फ्रान्सलाई कम आँकेका छैनौं । तर, सुन्दर फुटबल खेल्दै उपाधि जित्न हामी कुनै कसर बाँकी राख्नेछैनौं’, प्रशिक्षक ज्लाट्को डालिचले भने । आक्रामक र रक्षात्मक दुवै रणनीतिमा अब्बल देखिएको क्रोएसियासँग मध्यपंक्ति पनि सन्तुलित छ ।

फ्रान्स र क्रोएसिया बीचको फाइनल भिडन्तलाई युवाविरुद्ध अनुभवी टोलीको प्रतिस्पर्धा पनि मानिएको छ । फ्रान्स प्रतिभाशाली युवा खेलाडीले भरिएको टोली हो । फ्रान्सेली टोलीमा केलियन एम्बाप्पे, राफेल भारान, सामुएल उम्टिटी, पल पोग्बा, एन्टोइन ग्रिजम्यानलगायत क्षमतावान् युवा खेलाडी छन् ।

यस्तै क्रोएसिया अहिले स्वर्णिम पुस्ता हो । उसका खेलाडी औसत २७ वर्षका छन् । क्रोएसियासँग कप्तान लुका मोड्रिड, इभान राकिटिच, इभान पेरिसिच जस्ता अनुभवी खेलाडी छन् । दुवै टोलीसँग उत्कृष्ट गोलरक्षक छन् । इङ्लिस क्लब टोट्टनहाम हर्टस्परसँग आबद्ध भएका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिस र फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका क्रोएसियाली गोलरक्षक डानिजेल सुबासिच दुवैले जारी प्रतियोगितामा सशक्त प्रदर्शन गरिरहेका छन् । सुबासिचले त प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनल चरणका दुवै खेलमा आफ्नो टोलीलाई विजयी बनाउन टाइब्रेकरमा सशक्त प्रदर्शन गरेका थिए ।

विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ । फ्रान्सले उपाधि जिते इतिहास दोहोर्‍याउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

  • ३१ असार २०७५, आईतवार ०८:०३ प्रकाशित
  • Nabintech