१३ बैशाख २०८१, बिहीबार
विश्वकपको उद्घाटन समारोह सवा ८ बजे
  • काँचुली खबर

विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ । आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती गायक, रचनाकार र अभिनेता रोबी विलियम्सले सांगितिक प्रस्तुती दिनेछन् ।

उनलाई रसियन गायिका आइडा गारीफुलिनाले साथ दिनेछिन् । ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । विश्व फुटबल महासंघ (फिफा) ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने जनाएको छ ।

फिफा वरियताअनुसार विश्वकपमा सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो । तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ ।

रसिया फिफा वरियतामा ७० औं स्थानमा छ भने साउदी अरेबिया ६७ औं स्थानमा छ । सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो ।

रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनोट भएको हो । साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भैसकेको छ ।

विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ ।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी हुँदैछन् । विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् । त्यस्तै, उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।

  • ३१ जेष्ठ २०७५, बिहीबार १८:११ प्रकाशित
  • Nabintech