७ बैशाख २०८१, शुक्रबार
बिदेशी लगानी बढ्यो, दुई वर्षमै दोब्बर लगानी भित्रियो
  • काँचुली खबर

काठमाडौँ
दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको छ ।
यो रकम आर्थिक वर्ष २०७२र७३ भर नेपालले प्राप्त गरेको विदेशी लगानीको तुलनामा दोब्बर बढी हो । सो आवभर नेपालले पाँच अर्ब ९२ करोड रुपियाँको प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको थियो । सोही आवको नौ महिनासम्मको तथ्याङ्क अनुसार चालू आवको समीक्षा अवधिसम्म प्राप्त लगानी भने तेब्बर बढी हुन आउँछ । त्यतिबेला नेपालले चार अर्ब १९ करोड रुपियाँको लगानी भित्र्याएको थियो ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आवको तुलनामा अहिलेसम्म प्राप्त लगानी ३० प्रतिशतले वृद्धि भएको छ । गत आवको नौ महिनासम्म नेपालले विदेशी लगानीबापत ११ अर्ब छ करोड रुपियाँ प्राप्त गरेको थियो ।

यस्तै, अघिल्लो आर्थिक वर्षभर १३ अर्ब ५० करोड रुपियाँ लगानी भित्र्याउन सफल भएको थियो । भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रको समग्र सूचकाङ्क खराब रहेको स्थितिबाट गत आवमा नेपालले प्राप्त गरेको उक्त लगानीले सकारात्मक सन्देश दिएको थियो । उक्त रकम नेपालले एकै आर्थिक वर्षमा प्राप्त गरेको प्रत्यक्ष विदेशी लगानीमा दशककै सबैभन्दा बढी हो । त्यसयता नेपालले विदेशी लगानीमा बापत प्राप्त हुने रकम नियमित बढ्ने क्रममा छ ।
वार्षिक अर्बौं रुपियाँको विदेशी लगानीको प्रतिबद्धता नेपालले प्राप्त गर्ने भए पनि वास्तविक लगानी निकै कम देखिन्छ । नेपालमा विदेशी लगानी खुला भएयता विदेशी लगानीकर्ताबाट खर्बौं रुपियाँको लगानी प्रतिबद्धता व्यक्त भए पनि अहिलेसम्म नेपालमा डेढ खर्ब रुपियाँको हाराहारीमा मात्र प्रत्यक्ष विदेशी लगानी प्राप्त भएको राष्ट्र बैङ्कले जनाएको छ ।
चालू आवकै नौ महिनासम्म नेपालले पर्यटन तथा यात्राबाट ५० अर्ब ३० करोड रुपियाँ बराबरको विदेशी रकम प्राप्त गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसरी भित्रने रकम १४ प्रतिशतले बढी हो । यद्यपि यही शीर्षकमा नेपालबाट बाहिरिने रकम भने तुलनात्मक रूपमा बढी देखिन्छ । तथ्याङ्क अनुसार समीक्षा अवधिसम्म नेपालबाट यात्रा तथा भ्रमणबापत ५८ अर्ब ३४ करोड रुपियाँ बाहिरिएको छ ।

  • ५ जेष्ठ २०७५, शनिबार १५:१९ प्रकाशित
  • Nabintech