बाँकेमा एक लाख ८५ हजार डोज वीर्य उत्पादन
  • काँचुली खबर

१० असार, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ ।

मङ्गलबार कार्यालयको ४७ औँ फार्म दिवसका अवसरमा कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले चालु आवको जेठ महिनासम्म कार्यालयबाट भए गरेका प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले जर्सी साँढेबाट २८ हजार ३०९ डोज र होलिस्टिन बाट ४४ हजार ९५६ गरी ३ हजार २६५ डोज साँढको वीर्य, नेपालगन्ज मुर्राबाट ८१ हजार १६० डोज, भारतीय मुर्राबाट २० हजार ५३४ डोज र गड्डीबाट ४ हजार ५३७ गरी एक लाख ६ हजार २३२ डोज राँगाको र ५ हजार ५८० डोज वोयर बोकाबाट गरी जम्मा १ लाख ८५ हजार ७६ डोज जमेको वीर्य (सिमेन) उत्पादन भएको जानकारी दिए ।

कार्यालय प्रमुख खनालले २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको बताए । उनले २०६० सालमा चरन तथा घाँसेबाली बिउ वृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयको नाममा स्थापना भएको र देशमा संघीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयको नामबाट सेवा प्रदान गरिरहेको जानकारी दिए ।

उनले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको बताउनुभयो । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधारअन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको बताए । साथै प्राकृतिक गर्भाधानको सेवासमेत कार्यालयले प्रदान गर्दैआएको उनले जानकारी दिए ।

पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले कार्यालयले चालु आवको जेठ महिनासम्म साँढे, राँगो र बोकाबाट उत्पादन गरिएका ६३ हजार २९७ डोज वीर्य वितरण गरिएको जानकारी दिए । उनका अनुसार जर्सीको २५ हजार ३६६ डोज, होलिस्टिनको ९ हजार ५१७ डोज र साइवलको ९१३ डोज गरी साँढेको जम्मा ३७ हजार ९३६ डोज वीर्य वितरण गरिएको छ ।

त्यसैगरी नेपालगन्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २३ हजार ८५२ डोज गरी २४ हजार १४७ डोज राँगाको वीर्य वितरण भएको छ । वोयर बोकाबाट १ हजार २१४ डोज वीर्य वितरण गरिएको चौधरीले जानकारी दिए । त्यसैगरी विभिन्न जातका घाँसको ३० हजार ६३० केजी बिउ उत्पादन भएको उनको भनाइ छ ।

कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयले तरल नाइट्रोजन बिक्री, वीर्य बिक्री, घाँसको बिउ बिक्री, घाँस बिक्री तथा अन्य प्रशासनिक शुल्क र विविध सेवा प्रवाह गरेवापत ७३ लाख ७७ हजार ७३० रूपियाँ राजस्वसमेत सङ्कलन गरेको जानकारी दिए ।

उनले यस समय अवधिमा ४९ हजार ५८७ वटा पशु चौपायालाई कृत्रिम गर्भाधान गराइएको बताए । उनका अनुसार २८ हजार ५८८ वटा गाई, २० हजार ५२६ भैँसी, र ४७३ बाख्रालाई कृृत्रिम गर्भाधान गराइएको हो । कृत्रिम गर्भाधानका लागि वीर्य (सिमेन) उत्पादन गर्न कार्यालयमा १२ वटा मुर्रा राँगा, ८ वटा साँढे र ६ वटा बोका र २ वटा बाख्रा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधान समेत गराउँदै आएको छ । प्राकृतिक गर्भाधानका लागि ३ वटा राँगो, २ वटा साँढे र एउटा बोका, एउटा बाख्रा राखिएको छ । यस वर्षको ११ महिनाको अवधिमा १५५ वटा गाई, ३८४ भैँसी र ११ बाख्रा गरी ६५० वटा पशु चौपायालाई प्राकृतिक गर्भाधान गराइएको छ ।

कार्यालयबाट तरल नाइट्रोजन प्रतिलिटर ५० रुपियाँ, जमेको वीर्य स्वदेशी-विदेशी प्रतिस्ट्र ५० रुपियाँ, प्राकृतिक गर्भाधान गाई प्रतिसङ्ख्या २०० रुपियाँ, भैँसी २०० रुपियाँ र बाख्राको ५० रुपियाँ शुल्क तोकिएको जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गणेश पुनले कार्यालयले नश्ल सुधार र कृत्रिम गर्भाधान मात्र नगराएर उनीहरूको आहाराका लागि आवश्यक घाँसको समेत उत्पादन गर्दै र अन्य ठाउँमा पनि बिउ, बिरुवा तथा वीर्य वितरण गरेर पश्चिमका जनतालाई सेवा प्रदान गरेर महत्वपूर्ण कार्य गरेको बताए ।

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले नेपालमै तीन वटा मात्र रहेका पशु प्रजनन कार्यालयमध्ये एउटा आफ्नै पालिकाभित्र हुनु समग्र गाउँपालिकाकै लागि गर्वको विषय भएको बताए ।

कार्यक्रममा खजुरा २ का वडाध्यक्ष धनराम वलीले कार्यालयले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढे किसानहरूलाई थप सेवा सुविधा प्रदान गर्न सहज हुने बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत कर्मचारीहरु रमेशबहादुर खत्री, वेनबहादुर खत्री र मालती अहिरलाई सम्मान गरिएको थियो । त्यसैगरी कृत्रिम गर्भाधान अभिलेख र उत्कृष्ट रिपोर्टिङ गरेवापत सुक्लाफाँटा नगरपालिका पशु सेवा शाखा कञ्चनपुरलाई पनि सम्मान गरिएको थियो ।

  • १० असार २०८३, बुधबार १६:३१ प्रकाशित
  • Nabintech