अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथी गोली प्रहार
  • काँचुली खबर

३० असार, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
बाइडेनले गरे निन्दा
राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।
सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन ।’ ट्रम्प सुरक्षित रहेको र उनको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनि बाइडेनले बताए ।
गोली चलाउने व्यक्ति मारिए
बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।
अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।
चुनावी र्‍यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो । जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो ।
ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे । अनि स्टेजबाट ओराले । स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए ।
  • ३० असार २०८१, आईतवार ०९:०५ प्रकाशित
  • Nabintech