नेमारले तोडे पेलेको कीर्तिमान
  • काँचुली खबर

२४ भदौ, काठमाण्डौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिलले बोलिभियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दा स्टार फरावर्ड नेमारले भने भिन्न कीर्तिमान कायम गर्न सफल भएका छन । शनिबार बिहान भएको खेलमा घरेलु टोली बोलिभियाविरुद्ध दुई गोल गरेका नेमारले ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका हुन्।

नेमारले शनिबार नै पेलेलाई पछाडि छाड्ने अवसर पाएका थिए। पहिलो हाफको १७औं मिनेटमा उनी पेनाल्टीमा चुक्दा पेलेको कीर्तिमानलाई पछाडि पार्न भने सकेनन्। नेमारले एक सय २५औं खेलमा ७७ गोल गर्दै पेलेसँगको कीर्तिमान बराबरी गरेका हुन्। ‘मैले कहिले पनि यो कीर्तिमानसम्म पुग्ने कल्पनासम्म पनि गरेको थिइनँ। म राष्ट्रका लागि प्रतिनिधित्व गरेका पेले वा अन्य खेलाडीभन्दा उत्कृष्ट होइन र छैन पनि’, नेमारले भने। समग्रमा ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने महिला खेलाडी मार्टा छिन्। उनले एकसय ८९ खेलमा एक सय २२ गोल गरेकी छन्।

गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएका पेलेले सन् १९५७ देखि १९७१ को समयमा ८२ खेलमा ७७ गोल गरेका थिए। पेले आफ्नो समयको महान खेलाडी थिए। पेलेको सामाजिक सञ्जाल ट्विटर (एक्स) ले नेमारको उपलब्धिप्रति बधाइ दिएको थियो। ‘ब्राजिलका लागि सर्वाधिक गोलकर्ता बन्दै पेलेसँग बराबरी गरेकोमा नेमारलाई हार्दिक बधाइ। निश्चित रुपमा पेलेले तपाईको सराहना गरिरहेका छन्’, ट्विटरमा भनिएको छ। ब्राजिलका प्रशिक्षक फर्नान्डो डिनिजले पनि नेमारको सराहना गरेका छन्। ‘उनी यही गर्न आएका थिए र उनले गरे पनि। दुई गोल गरे र कीर्तिमान तोडे’, प्रशिक्षक फर्नान्डोले भने, ‘उनी संसारकै उत्कृष्ट खेलाडीमध्येका हुन्। धेरैका आदर्श हुन्।’

सन् २०१७ मा नेमार विश्वकै सर्वाधिक महंगा खेलाडी बनेका थिए। सन् २०१७ मा दुई सय मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनाबाट उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। उनले यही वर्ष पीएसजीको बसाइलाई बिट मार्दै साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आवद्ध भएका थिए।

दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई प्रभावशाली जित दिलाउन नेमारसँगै रोड्रिगोले दुई गोल गरेका थिए। अर्को खेल गोल राफिन्हाले थपेका थिए। पहिलो खेल खेलेको ब्राजिल तीन अंकका साथ शीर्ष स्थानमा छ। शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोलले पराजित गरेको थियो। दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ।

  • २४ भाद्र २०८०, आईतवार १६:०४ प्रकाशित
  • Nabintech