१३ बैशाख २०८१, बिहीबार
कोहलपुर खानेपानीमा ३० लाख बढि बेरुजु, छानविन प्रतिवेदन सार्वजनिक गर्न माग
  • काँचुली खबर

२० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितीले गरेको अध्ययन अनुसार संस्थामा करिब ३० लाख बढि रकम बेरुजु देखिएको हो । छानविन समितिका एक सदस्यका अनुसार ठुलो परिमाणमा बेरुजु देखिएपछि प्रतिवेदन गुपचुप राख्न चलखेल सुरु भएको छ ।

प्रमुख दलहरूको आग्रहमा समितिले प्रतिवेदन सार्वजनिक गर्न नसकेको छानबिन समितका एक सदस्यले बताए । उनले प्रतिवेदन तयार भईसकेपछि सर्वदलीय छलफल गरिएको र दलहरूले हाल सो प्रतिवेदन सार्वजनिक नगर्न दवाव दिएको बताए ।

उनले अव सो प्रतिवेदन नयाँ समितिलाई बुझाइने बताए । उपभोक्ता समितिको दवावमा छानबिन समिति गठन भएको भएपनि सो प्रतिवेदन गुपचुप राख्ने चलखलमा दलहरू लागेका हुन । यस बिच प्रतिवेदन सार्वजनिक गरेर मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन माग गर्दै वेटर बाँके नामक सामाजिक संस्थाले निर्वाचन समिति लाई ज्ञापन पत्र बुझाएको छ । वेटर बाँकेका उपाध्यक्ष सञ्जय मण्डलले साधारण सभाले पारदर्शिताका लागी गठन गरेको छानबिन समितिले तयार परेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नुपर्ने बताए ।

उनले दलीय सिन्डीकेटका कारण अनियमितता ढाकछोपको प्रयास भईरहेको आरोप समेत लगाए । प्रतिवेदन सार्वजनिक गरेर मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन उनले माग गरे ।

आफ्नालाई चोख्याउने प्रपञ्च

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा झण्डै ३० लाखको हाराहारीमा बेरुजु पाएको छ । प्रतिवेदन सार्वजनिक नगरेको भएपनि मुख्य दलहरूले सो प्रतिवेदन अध्ययन पछि आफू नजिककालाई चोख्याउने खेल समेत सुरु भएको छ । समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनु पूर्व एक पूर्व पदाधिकारीले आफ्नो नाममा रहेको ६१ हजार बेरुजु रकम तिरेका छन । प्रतिवेदन तयार पार्नु पूर्व उनले ६१ हजार तिरेको भौचर छानबिन समिति लाई प्राप्त भएको समितिका एक सदस्यले जानकारी दिए ।

पुन: कुनै राजनैतिक दलबाट अध्यक्षमा प्रस्तावित उनले अध्यक्षमा उम्मेदवारी दिनका लागी ६१ हजार रुपैयाँ तिरेका हुन । नाम उल्लेख नगर्ने सर्तमा उनले दशैँ खर्च र बिमा बापतको रकम बेरुजु देखिए पछि पैसा फिर्ता गरेको भौचर समितिलाई बुझाएका हुन । राजनैतिक दलहरूको दलगत स्वार्थकै कारण प्रतिवेदन सार्वजनिक हुन नसको छानबिन समितीका पदाधिकारीले बताए ।

झण्डै ८ वर्ष भएको साधारण सभामा नेतृत्व चयनको प्रक्रिया बाँकी छ । फेरी पनि मुख्य दलहरूले भागबन्डा गरेर प्रतिनिधि पठाउने दाउमा छन । दलहरूले प्रत्यक्ष रुपमा प्रतिनिधि पठाउँदा अनियमितता बढेको र त्यसलाई दलहरूले संरक्षण गरेको उपभोक्ताको गुनासो छ । कोहलपुर १० कि उपभोक्ता गङ्गा सुबेदीले खानेपानी दलहरू कार्यकर्ता भर्तीकेन्द्र बनाउन नहुने बताइन । उनले योग्य व्यक्तिहरू सहितको नयाँ टिम बनाएर खानेपानीलाई नयाँ जीवन दिन आग्रह गरिन ।

प्रतिवेदन सार्वजनिक गर्न दवाव

छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा निर्वाचनको मिति तोकिएको भन्दै आम उपभेक्ता आक्रोशित भएका छन । संस्थाको निर्वाचन गराउन तोकिएका निर्बाचन अधिकृत राम बहादुर हमालले शनिबार एक सुचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेका थिए । निर्वाचन तालिका सार्वजनिक भएपछि आम नागरिकको चासोको बिषय रहेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दवाव बढ्न थालेको छ । शनिबार नै बेटर बाँकेले प्रतिबेदन कुनै न कुनै रुपले सार्वजनिक गरेर मात्र चुनावि प्रक्रियामा जान निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराएको छ ।

यता कोहलपुर नगर शिक्षा प्रमुख समेत रहेका निर्बाचन अधिकृत राम बहादुर हमालले आफुलाई निर्वाचन सम्पन्न गर्न मात्र जिम्मा दिएको भन्दै प्रतिबेदन सार्वजनिक गर्ने निकाय आफु नभएको जिकिर गरेका छन । उन्ले बेटर बाँकेले उठाएको मुद्धा आफुले सम्बन्धित निकायसम्म पुर्याउने भन्दै निर्वाचनका कार्यक्रम भनेसार्वजनिक गरीसकेको बताए ।

निर्वाचन समितिद्वारा जारी गरीएको तालिका अनुसार आज २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएको छ । त्यसैगरी २२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र २५ गते चुनाव चिन्ह वितरण गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमजोरी ढाकछोप गर्न प्रतिवेदन लुकाईयो

छानविन समितिका एक सदस्यले आफ्नो नाम नबताउने शर्तमा खानेपानी संस्थामा देखिएको बिकृतीका बारेमा जानकारी दिएका छन । उनका अनुसार कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ब्यापक अनियमितता भएको पाईएको छ । अनियमितता सार्वजनिक भएपछि दलगत रुपमा समेत आक्षेप आउने देखिएपछि नयाँ कार्यसमितीलाई सो प्रतिबेदन बुझाउने गरि दलहरुको सहमतिमै सो प्रतिबेदन लुकाईएको ति सदस्यको आरोप रहेको छ ।

यता निबर्तमान अध्यक्ष नर बहादुर मल्लले आफु छानविन समितीको प्रतिबेदन सार्वजनिक हुनुपर्ने पक्षमा भएपनि दलहरुका कारण प्रतिबेदन सार्वजनिक नगरिएको जिकिर गर्दै आएका छन ।

छानबिन समितीका एक सदस्यले सर्वदलिय बैठकले प्रतिवेदन सार्वजनिक गर्न रोकेको खुलासा गरेका छन । प्रमुख राजनितीक दलका प्रतिनिधिसहितको सर्वदलिय बैठकले संस्थाको नयाँ कार्यसमिति गठन पछि मात्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निर्णय गरेकाले आफुहरुले प्रतिवेदन सार्वजनिक गर्न नसकेको उनले दावी गरे । छानविन समितिलाई प्रतिवेदन सार्वजनिक गर्ने म्याण्डेट नभएको दावी गर्दै उनले भने, “लाहछाप लगाएर सुरक्षित राखिएको छ, नयाँ समिति आएपछि सार्वजनिक हुन्छ ।”

उनका अनुसार खानेपानी संस्थामा अनियमितताका थुप्रै प्रमाणहरु फेला परेका छन । जसमध्ये आफुखुसी भत्ता बाँड्ने गरेको, असान्दर्भीक बिल पेश गरेर भुक्तानी लिने गरेको, बिभिन्न शिर्षकमा लिएको लाखौं रकम फिर्ता नगरेको जस्ता गहल विषयमा समेत छानविन गरीएको स्रोतले जनाएको छ । स्रोतका अनुसार महिनामा एक पटक मिटिङ बस्ने संस्थागत निर्णय भएपनि आफुखुसी पटक पटक बैठक बसेर २९०० सम्म भक्ता बुझ्ने गरेको तथ्य फेला परेको छ । संस्थागत रुपमा भत्तामा एकरुपता हुनुपर्ने भएपनि बैठकै पिच्छे फरक फरक १२००, १५००, २९००० सम्म लिएको बेतिथि फेला परेको हो ।

संस्थाको नियम अनुसार कर्मचारीहरुलाई मात्र दशैं भत्ता दिने ब्यवस्था रहेको छ । तर कार्यसमितिमै बसेका पदाधिकारीहरुले समेत दशैं भत्ता, पोशाक भत्ता लगाएतका भत्ताहरु आफुखुसि लिने गरेको तथ्य फेला परेको छानविन समितिका एक सदस्यले बताए ।

संस्थागत पारदर्शिताको कुरा गर्ने खानेपानीका पदाधिकारीहरुको आर्थिक पाटो समेत नकारात्मक देखिएपछि आम उपभोक्ताहरुले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न दवाव दिन थालेका छन ।

काेहलपुर खानेपानीकाे निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

  • २० जेष्ठ २०८०, शनिबार १५:०३ प्रकाशित
  • Nabintech