१३ बैशाख २०८१, बिहीबार
विश्वका सबैभन्दा धनी व्यक्ति बने बेरर्नाड अर्नल्ट, बिनोद चौधरी १६४७औँ नम्बरमा
  • काँचुली खबर

२२ चैत्र, काठमाडौँ । बेरनार्ड अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्यको सूचीमा पहिलो नम्बरमा आएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । अर्नल्टले एलन मस्कलाई दोस्रो नम्बरमा झार्दै नम्बर एक धनाढ्य बनेका हुन् । फोर्ब्सका अनुसार अर्नल्टको कूल सम्पत्ति २२१ बिलियन अमेरिकी डलर छ । यो दोस्रो स्थानमा रहेको मस्कको तुलनामा ३१ अर्ब डलर धेरै हो ।

दोस्रो स्थानमा रहेका विद्युतीय सवारीका मालिक मस्कको कूल सम्पत्ति १८० अर्ब अमेरिकी डलर छ । अर्नल्ट अमेरिकी नभई फ्रेन्च व्यवसायी हुन् । उनी र उनको परिवारले हाल फेसनसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेको छ । अर्नल्टको समूहको मातहत फेसन र कस्मेटिकतर्फका ७५ वटा ब्रान्ड छ ।

यस्तै, लुइस भुट्टोन र सेफोराजस्ता विश्व चर्चित ब्रान्ड समेत अर्नल्ट मातहतका कम्पनीले सञ्चालन गर्छन् । यस्तै, अर्नल्टको नेतृत्वमा रहेको अगाचे ब्याक्स भेञ्चर क्यापिटल फर्मले टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्स र अमेरिकी कम्पनी नेटफ्लिक्समा समेत लगानी गरेको छ ।

धनाढ्यहरूको सूचीको तेस्रो नम्बरमा अमेजनका मालिक जेफ बेजोस, चौथो नम्बरमा ल्यारी इलिसन, पाँचौ नम्बरमा सेयर लगानीकर्ता वारेन बफेट र छैटौं नम्बरमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन् । यस्तै, सातौँ नम्बरमा ब्लुमवर्गका मालिक माइकेल ब्लुमवर्ग छन् । विश्वका धनाढ्यहरूको सूचीको पहिलो नम्बरबाहेक क्रमशः ७ नम्बरसम्म अमेरिकी व्यवसायीको दबदबा छ ।

यसैगरी, ८ औँ नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु र परिवार छन् भने ९ औँ नम्बरमा छिमेकी भारतका धनाढ्य मुकेश अम्बानी छन् । फोर्ब्सले प्रत्येक वर्ष डलर अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यो सूचीमा यसवर्ष २५ सय ४० जना समेटिएका छन् । नेपालबाट एक मात्र व्यवसायी विनोद चौधरी परेका छन् । उनी १ अर्ब ८० करोड डलरसहित १६४७औँ स्थानमा छन् ।

एजेन्सीबाट

  • २२ चैत्र २०७९, बुधबार १८:१० प्रकाशित
  • Nabintech