१४ बैशाख २०८१, शुक्रबार
‘मलाई गुलाब मन पर्छ’
  • काँचुली खबर

मलाई गुलाबको आकार मन पर्छ
मलाई गुलाबको प्रकार मन पर्छ
गुलाब रातो हुन्छ
गुलाब सेतो हुन्छ
गुलाब पहेँलो हुन्छ
गुलाब सुन्दर हुन्छ
गुलाब तराईमा फुल्छ
गुलाब समावेशी हुन्छ
गुलाबलाई हामी सबै मन पर्छ
त्यसैले मलाई गुलाब औधी मन पर्छ
जब ओठमा रङ्गिबिरङ्गि प्रेमिल लाली
भरेर बेहुलीझैँ सिँगारिन्छ गुलाब,
तब मलाई यो संसार नै मुस्कुराएझैँ लाग्छ
हर्षित मनले बुर्कुसी मार्दै मेरो कल्पनाको
अग्लो सगरमाथा चढ्न मन लाग्छ,
मनको अन्तरिक्षयान चढि निल आर्मस्ट्रङ्गजस्तै
एकपटक चन्द्रमामा पुग्न मन लाग्छ,
नेपोलिएन बोनापार्टले जस्तै पुरै विश्व
जिते झैँ अनुभुती हुन्छ,
त्यसैले मलाई गुलाब असाध्यै मन पर्छ,
जब असंख्य काँडैकाँडा बिचमा पनि रत्तिभर
पिडा नमानी सिंहझैँ निडर भै हिमाललेझैँ
दन्तलहर खोली मिठो मुस्कान छाडी
सधैँ मुस्कुराईरहेको म सुन्दर गुलाब देख्छु
तब, ममा एउटा बगिरहेको पवित्र नदिको वहावमा जस्तै
एकाएक विद्दुतिय उर्जा भरिन्छ र भन्न मन लाग्छ
सुखै-सुखमा मात्र कहाँ जिन्दगी रहेछ ?
दुखमा रमाउनु पनि त जिन्दगी रहेछ
हो, गुलाब मन्दिरमा चढ्छ
गुलाब जन्ममा चढ्छ
गुलाब मण्डपमा चढ्छ
अनि गुलाब चिहानमा चढ्छ
गुलाबमा संवेदना हुन्छ
अनि भावना हुन्छ
गुलाब मनकारी हुन्छ
सबैलाई हेर्ने समान नजर हुन्छ
त्यसैले, मलाई गुलाब मन पर्छ ।
गुलाब चलायमान हुन्छ
गुलाब कसैको रोजिरोटी त
कसैको जिविका
बनेको हुन्छ,
कतै गुलाब तड्पिएका दुई मनहरु
जोड्ने पुल बनेको हुन्छ,
त कतै गुलाब कसैको खुशी बनेर बसेको हुन्छ,
त्यसैले मलाई गुलाब असाध्यै मन पर्छ,
गुलाब मलाई मन पर्छ भन्नु
मैले गुलाब पाउनैपर्छ भन्ने
कदापि होइन,
र सुन्दर बोटबाट टपक्क टिप्नैपर्छ भन्ने झन हुँदै होइन
आफ्नो खुशिको लागी अरुको खुशी लुट्नुछैन
मलाई,
गुलाब मेरो मनमा छ
मस्तिष्कमा छ र मेरो मुटुमा छ
मलाई थाहा छ पाउनुमा भन्दा
त्याग र समर्पणमा महानता हुन्छ,
बरु सधैं सदाबहार दुख्नुछ त्यो
सुन्दरता, त्यो कोमलता र
त्यो माधुर्यता अनि फेरी एकपटक भन्नुछ,
प्रेम हो गुलाब,
मिलन हो गुलाब,
संघर्ष हो गुलाब,
सम्मान हो गुलाब,
सदभाव हो गुलाब,
शान्ति हो गुलाब,
सभ्यता हो गुलाब,
उत्साह हो गुलाब,
उमंग हो गुलाब,
त्यसैले, मलाई गुलाब मन पर्छ ।

बेगम थापा ‘निश्चल’
 

कालिन्चोक दर्शनः एक अविस्मरणीय यात्रा

  • ६ कार्तिक २०७८, शनिबार १५:०४ प्रकाशित
  • Nabintech