२५ बैशाख २०८१, मंगलवार
कालिन्चोक दर्शनः एक अविस्मरणीय यात्रा
  • काँचुली खबर

भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जिवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जिवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् । यस्तै जिवनमा संस्मरण गर्न योग्य रह्योे २०७७ सालको उत्तरार्धतिर गरिएको कालिन्चोक यात्रा । विश्व कोराना भाइरसको महामारीले थलिदा हिमालको काखमा रहेको सुन्दर हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । सरकारले गरेको कहिले लकडाउन त कहिले शटडाउनले घरभित्र बस्दा-बस्दा ज्यान जेलभित्रको कैदिजस्तो भइसकेको थियो । कोरानाले कुनै पनि प्राणीलाई स्वतन्त्रता किन प्यारो लाग्छ ? भन्ने कुराको हामी आम मानिसलाई गतिलै पाठ सिकाईसकेको थियो । केहि महिनापछि लकडाउन क्रमिक रुपमा खुकुलो हँदै गयो अनि रोजीरोटीका लागी मानिसहरु आ-आफ्नो दैनिक दिनचर्यामा फर्कन थाले । तैपनि सचेतनाका लागी मोबाइलका रिङ्गटोन र रेडियो टेलिभिजनका स्क्रिनहरुमा मुटु नै हलाउने गरि भौतिक दुरी, मास्क, स्यानिट्याइजरको नारा विज्ञापन जस्तै गरि घन्किन भने छाडेनन् ।

प्रायः प्रत्येक वर्ष चैत्र-बैशाखतिर नयाँ ठाऊँ घुम्न यात्रामा निस्कने यात्री म करिब दुई वर्ष पुरै वित्दा पनि राजधानीदेखि पाँचखाल र पाँचखालदेखि राजधानी भन्दा बाहिर निस्कन पाएको थिएन । यसैबिचमा सहकर्मी साथीहरुले दोलखाको प्रशिद्ध पर्यटकिय धार्मिक स्थल कालिन्चोक भगवती घुम्ने योजना बनाउनुभएको रहेछ । योजना सुन्दा असाध्यै खुशी लाग्यो । कोरानाका कारण लामो समयदेखीको उदासिन जिवनलाई पुनः उर्जा भर्ने समय यही हुन सक्छ जस्तो लाग्यो । पाँचखालदेखी सुनकोशीको किनार-किनारको दुर्ई घन्टे यात्रापछी दोलाखा खरिढुङ्गा पुग्दा करिब बेलुकाको ३ः०० बजिसकेको हुँदो हो । आकाश पुरै कालो बादलले मडारिएको थियो । खरीचौरको माथी डाँडामा बसेर ड्राई फुड खाजाका रुपमा खाने निधो गर्यौं । खाजा खाने तयारी गर्दै गर्दा जाडो छल्न लगाएका हाम्रा बाक्ला कपडाले पनि थेग्न नसक्ने गरि एकनासले चिसो बतास चलिरह्यो । केही बेरमा पानीले छिट्याउन पनि सुरु गर्यो । दोलाखा काठ्माण्डौँ राजधानीभन्दा पनि उचाईमा रहेको जिल्ला हो । सायद दोलखा उचाईमा रहेको ठाँउ भएर होला प्रायःजसो पानी पर्नेबेला यहाँ हिँऊ र असिना पनि पर्दो रहेछ । खाजा खाइसकेपछी सहकर्मी साथीहरुले फोटो खिच्दै गरेको बेला हाम्रा कपडाहरु कपासले छोपे जस्तो हिउँले सेताम्य भइसकेका थिए । हाम्रा शरिरमा हिँऊ परिरहेका बेला हामी हाम्रो बालापनमा जस्तै नाँचेर हिँउको आनन्द लिइरहेका थियौँ । हाम्रो साँझको बास चरिकोटमा बस्ने योजना रहेकाले हामी त्यहाँबाट अबेर नगरी हाम्रो यात्रालाई अघि बढायौँ ।

चरिकोट तर्फ हाम्रो यात्रा अघि बढिरहँदा हामीलाई बाटोभरी अबिरल वर्षाले स्वागत गरिरहेको थियो । बाहिरको वर्षाले हामीलाई यात्राभरी केहि शितलता र केहि आनन्द पनि थपिरहेको थियो । बाटोबाट क्षितिज पारी-पारी देखिने हरिया पहाडहरु हिउँले सेताम्य देखिन्थे । केहीबेरमा हाम्रो गाडीको सिसा र हुट पनि हिँउले छोपीसकेको थियो । सुमन दाइलाई बेला-बेलामा हिउँले सिसा छोपिदा गाडी ड्रइभ गर्न असहज भएको सोझै अनुमान गर्न सकिन्थ्यो । सन्तोष सरले यात्रामा बजाएका मिठा-मिठा गितहरुले बाटो झन छोटो बनाइरहेको हामीलाई अनभुती भइरहेको थियो । हामी सदरमुकाम चरीकोट पुग्दा सूर्य पश्चिममा पुगेर अस्ताईसकेको थियो । उचाईमा रहेको यस बजारका अग्ला-अग्ला व्यापारिक घरहरुमा सन्ध्यामा बालिएका बत्तिहरुले बजारै झिलिमिली र रमाइलो देखिन्थ्यो । आकाशबाट पानीे सिमसिम पर्न भने छाडेको थिएन । दोलाखाको यस सुन्दर सफा सहर पुग्दा नै सदाझैँ चिसो बतासले हामीलाई आनन्दको आभास दिइसकेको थियो । दोलाखाको प्रसिद्ध मन्दिर भिमेश्वर मन्दिर पुग्दा झमक्कै रात परिसकेको थियो । भिम सर बिधि पुर्याएर पुजा गर्दै हुनुहुन्थ्यो । संजिता मिसले घरबाटै पुजा सामानको जोहो गर्नुभएको रहेछ । हाम्रो गन्तव्य कालिन्चोक भएकाले हामीले यस प्रसिद्ध मन्दिरमा धेरै समय चाँही लिएनौँ । बलशाली भिमेश्वर भगवानको दर्शन गरेपछी साँझको बासको लागी हामी लाग्यौँ लज नमस्तेतिर ।

हामीलाई भोलीको यात्रा सहज गराइदिन र लजको व्यवस्था गरिदिन हाम्रै पूर्व विद्यार्थी भाईहरु हामीलाई स्वागत गर्न लज नमस्तेमा आएका रहेछन् । भोली विहानै उठेर भगवती कालिन्चोकको दर्शन गर्ने हाम्रो मुख्य अभिप्राय रहेकाले खाना खाएर थोरै रमाइलो कुराकानी गरि हामी बेलैमा निद्रादेवीको काखमा पुगेका थियौँ । विहानै उठी चिया समेत नपिएर हामीले कालिन्चोकतर्फको यात्राको श्रीगणेश गर्यौं । करिब आधा घन्टाको कच्चि बाटो उछिनेपछी हामी कालिन्चोकको फेद कुरीमा पगेका थियौँ । गाडि कुरीसम्ममात्र पुग्दो रहेछ । कुरी कालिन्चोक भगवती मन्दिरको आधार शिविर रहेछ । त्यहाँदेखि कालिन्चोक भगवती मन्दिरसम्म हिडेर या केबलकार चढेर जाने व्यवस्था पनि रहेछ । हामी पुग्दा सानो सुन्दर पहाडको फेदीमा रहेको कुरी बजार सेतै हिऊँले ढाकिएको थियो । सायद जिवनमा यसरी हिऊँ देखेको मैले पहिलो पल्ट हुनुपर्दछ । सेताम्य हिऊँले ढाकिएको कुरी बजार देख्दा लाग्दथ्यो सायद हामीले कल्पना गरेको स्वर्ग पनि यथार्थमा यस्तै हुनुपर्दछ । पुरै सेतै हिउँले ढाकिएको पहाड विहानै सुर्यको पहिलो किरणमा चाँदीझैँ चम्किरहेकोे जस्तो देखिन्थ्यो । सहपाठी मित्रहरुलाई हिउँसँग खेल्न, रमाउन र फोटो खिचाउँन भ्याइनभ्याई थियो । बास्तवमा हेलन केलरले भनेझैं ‘संसारका सबभन्दा राम्रा र राम्रा चिजहरु देख्न वा छुन पनि सकिदैन । तिनिहरुलाई हृदयले महसुस गर्नुपर्दछ ।’ वास्तवमा यि आकर्षक दृश्यको हामीले पनि अन्तरमनदेखिनै महशुस गरिरहेका थियौँ । पहाडको फेदीमा रहेको यस सानो भ्यालीमा रहेका कलात्मक घर र लजहरुले अचम्मसँग हाम्रो मन तानिरहेका थिए । पुरै हिउले ढाकिएको चिप्लो बाटोमा यात्रा गर्दा जुत्ता चिप्लिएर तिन चारपटक लड्दा पनि मलाई यो मनमोहक दृश्यको आनन्दले गर्दा होला कुनै दुखाई महशुस भएको थिएन । कुरीबाट कालिन्चोक भगवती मन्दिर पहाडको टुपोमा रहेछ । भिम सर लेक लाग्छ भन्नुहुन्थ्यो । यति अग्लो पहाडमा कहिल्यै नचढेका यात्री म त्यसमा पनि हिउँ नै हिउँले भरिएको त्यस अजङ्गको पहाड देख्दा म चढ्छुहोला जस्तो लागीसकेको थिएन ।कुसुम मिस पनि नजाने मनशायमा पुग्नुभएको रहेछ पछि संजिता मिस र सुमन दाइले हौसला दिएपछी हिड्नुभएछ । पहाड चढ्दा लेक लाग्छ भन्ने सबैभन्दा बढि उमेरका भिम सर सबैभन्दा अगाडी हिँड्नुभएको रहेछ । बलराम सरको परिवार म हिडेर यत्रो पहाड हिँड्न सक्दिन भन्नुहुन्थ्यो तर भिम सरलाई पछ्याई रहनुभएको थियो । सुरुमा मलाई पनि हिउँसहितको त्यो अग्लो चुचुरोमा रहेको गन्तव्य देखेर मन आत्तिएको थियो । कुरीमानै बस्ने या केवलकारमा चढेर माथी मन्दिरमा जाने मनमनै योजना बनाईसकेको थिए । साथीहरुले कागती खान सल्लाह दिनुभयो र नफर्कन भन्नुभयो । कागतीले श्वासप्रश्वासमा सहजता ल्याउछ भन्ने मान्यता रहेछ ।

केहि पाइलाहरु के अगाडी सारेको थिए । कालिन्चोकको दर्शन गरेर माथीबाट फर्केको एक जोडी फिल्मि शैलीमा जस्तै गरि हिउँमा चिप्लिएर मेरै अगाडी लडे । कुनै दुखाइको अनुभुती नै नगरी हाँसी-हाँसी उनिहरु जुरुक्क उठे । यो उकालो चढ्न सकिन्छ त ? ’भनेर मैले प्रश्न तेस्र्याईहाले । लामो सास फेर्दै जोडी मध्येको एकजना महिलाले भनिन् “विस्तारै नआत्तिएर हिड्नुहोला सास बढ्दैन अनि मजाले पुगिन्छ ।” अघि बढ्ने मलाई थोरै भएपनि ढाडस मिल्यो । शरिरमा एक निमेष उर्जा भरियो । हिँउले ढाकिएको खुट्किलै-खुट्किला भएको बाटोमा विस्तारै-विस्तारै आफुलाई सम्हालिदै हामी अघि बढ्यौँ । बाटोमा सयौँ तिर्थ यात्रीहरु रहेछन् । चिसो हिउले छोपिएको बाटोमा भेटिएका दर्शनार्थीहरुको अनुहार पढ्दा सबैको मनोदशा उही पाइन्थ्यो । मूटु नै रोकिने गरि सास बढिरहेको थियो । छेउमा गाडिएका फलामका रेलिङ्को सहारा लिँदै हामी अघि बढिरहेका थियौँ । सायद एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पालाई पनि पहिलो पटक विश्वको सबैभन्दा अग्लो छानो सगरमाथा चढ्दा यस्तो असहज भएकोे थिएन होला जुन हामीमा पहाड चढ्दा महशुस भइरहेको थियो । कपडा पसिनाले भिजेर लुथ्रुक्क भइसकेको थियो र शरिर थाकेर शिथिल भइसकेको थियो । जति माथी उचाईमा चढेपनि मन्दिर दर्शन गरेर झरेका दर्शानार्थीहरुलाई बेला-बेलामा सोध्दा अव आधी घन्टामा माथी पुगिन्छ भन्ने एउटै उत्तरले हामीलाई अघि बढ्न निराश मात्रै बनाईरहन्थ्यो । बाटोको बिच-बिचमा साना खुद्रा पसलहरु राखिएका रहेछन् । हामी बेला-बेलामा शक्ति संचय गर्न र आराम गर्न चिया पिउने गथ्र्यौ अनि फेरी आफ्नो गन्तव्यको बाटो नाप्दथ्यौँ । म जन्मे-हुर्केको ठाउँ कोहलपुर-नेपालगंज तराई भएकाले पनि जिवनमा पहिलो पटक ३८४२ मिटर उचाइको यो पहाडको चुचुरामा उक्लिनु मेरा लागी सगरमाथा चढ्नु बराबर नै थियो ।


 

हिँड्दै जाँदा बिचबाटोमा माथी मन्दिरको दर्शन गरेर लठ्ठी टेकेर झरिरहनु भएकी बुढी आमा भेटिनुभयो । सेताम्य कपाल फुलिसकेको यति बढि उमेरमा पनि कसरी यति अग्लो पहाड चढ्नुभएछ त भनेर मलाई आश्चर्य लाग्यो र अनौठो कौतुहलता पनि । मैले बुढी आमाको उमेर नसोधेर बस्न सकिन । ‘पचहत्तर बर्षकी भए’ भनेर भन्नुभयो । त्यो कमजोर र जिर्ण शरिर बोकेर जिवनको उत्तरार्धमा त्यति अग्लो पहाड चढ्ने ति बुढी आमालाई कुनै रहर थिएन होला । आमाको मन न हो, सायद आफ्ना सन्ततीहरुको भलाईका लागी कालिन्चोक भगवती मातासँग कही कुराको भाकल गर्नुभएको थियो होला । मलाई विद्धान अल्बर्ट आइन्सटाईनको महान वाणी याद आयो ‘केवल अरुको लागि बाँचिएको जिवन नै सार्थक जीवन हो ।’ मनमनै बुढी आमाको मनोकामना पुरा होस् भन्ने कामना गर्न मन लाग्यो र यो उहाँको यस अगम साहसलाई एकपटक सलाम गर्न भित्रैदेखी मन जागेर आयो । नेपाल सरकारबाट ज्येष्ठ नागरिकको प्रमाणपत्र पाइसक्नुभएकी आमा यत्रो उचाई नापेर झरिरहेको देख्दा म आफुलाई यूवाको दर्जा दिन पनि लज्जा बोध भयो । लंका उड्ने बेलामा हनुमानलाई अन्य बाँदर सेनाले शक्ति याद दिलाएजस्तै मलाई पनि बुढि आमाको प्रेरणाले एकाएक शरिरमा अनौठो उर्जा थपिएको महशुुस भयो । त्यसपछी मेरा डेगहरु नरोकिएर निरन्तर अघि बढ्न तत्पर भइनैरहे ।

केहि समयमा माथी उचाईमा पुगियो । अग्लो उचाईमा रहेको यस मन्दिरको नजिकैबाट सेता दन्तलहरहरु देखाएर मुस्कुराइरहेको गौँरीशंकर हिमालकोे सुन्दर दृश्यावलोकनले मनै लोभ्याएको थियो । द्धापर युगमा पाँच पाण्डवहरु यही ठाउँमा ध्यान गर्न आएका थिए भन्ने धार्मिक विश्वास रहेछ । धार्मिक किंवदन्ति अनुसार भगवती काली सुमेरु पर्वतमा ध्यान गरिरहेको ध्यानमग्न अवस्थामा दानवहरुले विजय प्राप्तीका लागी एकैपटक पुरै शक्ति लगाएर आक्रमण गरेका थिए रे । देवी भगवती र दानवबिच भयानक युद्ध भइरहेको अवस्थामा भगवान शिवले दैविक त्रिशुल प्रहार गर्दा त्यहाँ पवित्र जल उत्पन्न भएको थियो रे ! भन्ने धार्मिक विश्वास रहेछ । जुन पानीले भगवती कालीको बाघलाई शक्ति मिलेको थियो रे । त्यसपछी देवीद्धारा युद्धमा मारिएका सबै दानवहरुलाई कुरी भन्ने ठाउँमा गाडिएको थियो रे ।त्यसैले गर्दा पराजित दानवलाई जिस्काएर उक्त ठाउँलाई ‘कुरी’ नाम राखिएको थियो भन्ने पौराणिक जनविश्वास रहेछ । जे भएपनि हामीलाई यस दैवी शक्ति भएको ठाउँमा पुग्न पाउँदा जिउँदै स्वर्ग देख्न पाए जस्तो अनुभुती भइरहेको थियो । भगवती माताको दर्शन गरेर प्रसाद र आशिर्वाद ग्रहण गरि हामी तल झर्यौं । चढ्दा जति गाह्रो भएको थियो तल झर्दा उत्तिकै नै आनन्द आउँदो रहेछ । हाइकिङ्को लागी उपयुक्त यस सुन्दर स्थानबाट तल झर्दा बाटोमा बिच-बिचमा हिउँमा खेल्दै फोटो खिच्दै तल झर्यौं । केहिबेरमा कुरी बजार पुगियो । खाना खाएर गाडिमा चढ्यौँ । त्यसपछी घर फर्कने निधो गर्यौं । कच्चि बाटोमा गाडिले आफ्नो रफ्तार लिइनैरह्यो । पछाडी उडेको धुलोसँगै कालिन्चोकको पैदल यात्राका सम्झनाहरु मोबाइलमा कैद भई सपनाजस्तै धुमिल हुँदै पछाडी छुट्दै गए ।

https://kanchulikhabar.com/news/34537

  • २१ श्रावण २०७८, बिहीबार १३:५८ प्रकाशित
  • Nabintech