१३ बैशाख २०८१, बिहीबार
कसले जित्ला ‘गोल्डेनबुट’ ?
  • काँचुली खबर

सन् २०१८ को विश्वकप फुटबलको प्रमुख दाबेदारको रूपमा जर्मनी, फ्रान्स, स्पेन, ब्राजिल, अर्जेन्टिना र बेल्जियमलाई हेरिएको छ । अहिले ‘गोल्डेन बुट’को दौडमा थुप्रै खेलाडी निस्किसकेका छन् । त्यसमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै ३ गोल गरेर ह्याट्रिकसमेत गरिसकेका छन् । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’को अवार्ड प्रदान गरिन्छ । यो अवार्डका लागि विश्वभरिका खेलाडीबीच टक्कर हुने प्रायः निश्चित छ । सन् २०१८ को ‘गोल्डेन बुट’ अवार्ड कसले जित्ला त्यो अहिले कुतूहलको विषय बनेको छ । रोनाल्डोले आफ्नो नाम अहिले अग्रपङ्क्तिमा राखे पनि एक सर्वेक्षणअनुसार उनलाई गोल्डेन बुटको दाबेदार मानिएको छैन ।

हेरी केन

फिफा विश्व कप २०१८ मा ‘गोल्डेन बुट’को प्रमुख दाबेदारको रूपमा इंग्ल्यान्डका कप्तान हेरी केनलाई हेरिएको छ । विश्वकपमा पहिलोपटक खेलिरहेका केनले पछिल्लो समयमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनलाई गोल्डेन बुटको दाबेदारको रूपमा हेरिएको हो । केन यो सिजनमा इङ्ग्लिस क्लब टोटनहामबाट ५० खेल खेल्दै ४३ गोल गरेका थिए । केनको यही प्रदर्शनलाई मध्यनजर राख्दै गोल्डेन बुटको दाबेदारमा खडा गरिएको हो ।

लियोनेल मेसी

विश्वका चर्चित खेलाडी लियोनेल मेसीलाई उनले गत सिजनमा गरेको प्रदर्शनका आधारमा ‘गोल्डेन बुट’को दाबेदार बनाएको छ । मेसीले गत सिजनमा शानदार खेल प्रदर्शन गर्दै ४५ गोल गरेका थिए । जसमा बार्सिलोनाको तर्फबाट उनले ३६ गोल गरेका थिए । ४ वर्षअघि सम्पन्न विश्वकपमा पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याएका थिए । फाइनलमा जर्मनीसँग पराजित भएर विश्वकप जित्न असफल भए पनि मेसीले बेस्ट प्लेयर र ‘गोल्डेन बल’को उपाधि भने जित्न सफल भएका थिए । मेसीले गत विश्वकपमा खेलेका ७ खेलमा ४ गोल गरेका थिए ।

नेमार

चार वर्षपहिले आफ्नै राष्ट्रमा आयोजना भएको विश्वकपमा सर्मनाक हारको सामना गर्दै प्रतियोगिताबाट बाहिएको ब्राजिलले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अड्कल काटिएको छ । ब्राजिलको उत्कृष्ट प्रदर्शनको जिम्मेवारी अहिले नेमारका काँधमा छ । घुँडाको चोटका कारण विगत तीन महिनादेखि मैदानबाहिर रहेका नेमारले यो विश्वकपमा आफ्नो स्वाभाविक प्रदर्शन गर्ने अड्कल काटिएको छ । पछिल्लोपटक विश्वकपअन्तर्गत भएका मैत्रीपूर्ण खेलमा नेमारले २ गोल गरेर आफूलाई विश्वकपमा पनि गोल गर्न सक्षम रहेको प्रमाणित गरेका थिए । यदि रुसमा आयोजित विश्वकपमा नेमारको जादु चल्यो भने उनले गोल्डेन बुट जित्ने सम्भावना देखिन्छ । त्यसैले नेमारलाई उनको स्टारडम र पछिल्लो प्रदर्शनको आधारमा गोल्डेन बुटको दाबेदारको रूपमा राखिएको छ ।

एन्टोइन ग्रोजमन

फिफा विश्वकपको प्रमुख दाबेदारसँगै फ्रान्स खेलाडी एन्टोइन ग्रिजमनको नाम पनि गोल्डेन बुटको दाबेदारको रूपमा अगाडि आएको छ । फरवार्ड खेलाडीको रूपमा परिचित ग्रिजमनलाई पछिल्लो विश्वकपमा कसैले चिन्दैनथ्यो । तर, सन् २०१६ मा सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गर्न सफल भएका थिए । उनको यही प्रदर्शन र गत सिजनमा आफ्नो क्लबबाट गरेको ३० गोलले उनलाई गोल्डेन बुटको दाबेदारमा उभ्याएको हो । यदि ग्रिजमनले यही प्रदर्शन रसियामा दोहो¥याए भने उनले गोल्डेन बुट जित्न सक्ने अनुमान गरिएको छ ।

थोमस मुलर

गोल्डेन बुटको चर्चा गर्दा थोमस मुलरको नाम आएन भने त्यो नुन नहालेको तरकारीजस्तै हुन्छ । मुलरले सन् २०१० मा सम्पन्न भएको फिफा विश्वकपमा २० वर्षको उमेरमा ५ गोल गरेर गोल्डेन बुटमाथि कब्जा जमाएका थिए । त्यस्तै, सन् २०१४ को विश्वकपमा पनि मुलरले ५ गोल गरेका थिए । मुलरकै उत्कृष्ट प्रदर्शनका कारण गत वर्ष जर्मनीले विश्वकप जितेको थियो । तर, उनी गोल्डेन बुट जित्न भने असफल भएका थिए । विश्वकपमा सधैँ उत्कृष्ट प्रदर्शन गर्दे आएका मुलरले यो विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जित्ने दाबी गरिएको छ ।

 

 

स्रोत : घटना र बिचार

  • ६ असार २०७५, बुधबार १५:१८ प्रकाशित
  • Nabintech