१३ बैशाख २०८१, बिहीबार
कलिउडमा उदाउँदै नयाँ अनुहार
  • काँचुली खबर

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय युवा पुस्ताको आकर्षण बढ्दो छ । हेलाको भावले हेरिने नेपाली फिल्मले पछिल्लो समय गति लिन थालेको छ । फिल्म क्षेत्रले गति लिन थालेसँगै नयाँ नयाँ अनुहारहरु फिल्म क्षेत्रमा देखिन थालेका छन् ।

पछिल्लो समय निर्माता निर्देशकहरु पनि आफ्नो फिल्मले नयाँ अनुहार खोजेको भन्दै हरेकजसो फिल्ममा नयाँ कलाकारहरुलाई लिन अग्रसर देखिन्छन । नव आगन्तुक कलाकारहरु कोहि फिल्म रिलिज अगावै चर्चा र दर्शकको माया पाउन सफल भएका छन् भने केही कलाकारलाई दर्शकले चिन्दैनन् पनि । यहाँ हामी फिल्म क्षेत्रमा आएका पछिल्लो समयका आशालाग्दा कलाकारहरुको चर्चा गर्दैछौँ ।

१) सलिनमान बनिया

नेपाली फिल्म क्षेत्रको आशालाग्दो कलाकार हुन् सलिनमान बनिया । गतवर्ष रिलिज भएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट फिल्म क्षेत्रमा उदाएका बनियालाई धेरैले सम्भावना बोकेको कलाकारको उपमा दिएका छन् ।
फिल्म ‘ए मेरो हजुर २’ मा उनको रुप र कामको पनि खुबै प्रशंसा भयो । सलिनमानले नव अभिनेताको अवार्ड पनि पाइसेका छन् । उनले अहिले धेरै फ्यान फलोअर्स कमाइसकेका सलिमान अहिले फिल्म यात्राको छायाँकनमा व्यस्त छन् ।

२) दिपिका प्रसाई

बोल्ड नायिका दिपिका प्रसाईको डेब्यु फिल्म ‘ऐश्वर्य’ हो । ऐश्वर्यबाट उनको चर्चा निकै भयो । उनको सुन्दरता र अभिनयको पनि खुबै प्रशंसा भयो । उनले यस फिल्ममा रमेश उप्रेतीसँग काम गरेकी थिइन् । उनी हाल दिपक-दीपाको निर्माण रहेको फिल्म ‘छक्का पञ्जा ३’को छायाँकनमा व्यस्त छिन् ।

३) जसिता गुरुङ

जसिता गुरुङलाई पनि फिल्म क्षेत्रको आशालाग्दो अनुहारको रुपमा हेरिन्छ । उनले अभिनय गरेको फिल्म ‘लिलिबिली’ गत वर्षको अन्त्यमा रिलिज भएको थियो । फिल्ममा उनको कामको प्रशंसा नै भयो ।
सुन्दरी नायिका जसिताले नव अभिनेत्रीको अवार्ड समेत उचालीसकेकी छिन् । उनी हाल कुनै फिल्ममा अनुबन्धित छैनन् । तर, उनले नायक प्रदीप खड्काले निर्माण गर्न लागेको फिल्म ‘लभ स्टेशन’मा काम गर्ने चर्चा चलिरहेको छ । प्रदीप र जसिताले फिल्म ‘लिलिबिली’मा सँगै काम गरेका थिए ।

४) आशिरमान देशराज जोशी

आशिरमान देशराज जोशीका धेरै फ्यान फलोअर्स छन् । उनी अभिनित फिल्म ‘ग्याङस्टार ब्लुज’ गएको वर्ष रिलिज भएको थियो । आशिरमानको फिल्म रिलिज अगवै चर्चा भएको थियो । उनलाई फिल्म रिलिज अगावै सम्भावना भएको नायकको रुपमा हेरिएको थियो ।
‘ग्याङस्टार ब्लुज’बाट खासै धमाका पिट्न नसकेका उनी हाल हेमराज विसी निर्देशित फिल्म ‘ब्रेक अप’को छायाँकनमा व्यस्त छन् । उनी पनि फिल्म क्षेत्रको एक आशालाग्दो अनुहार हुन् ।

५) सारा शिर्पाली

निखिल उप्रेतीले निर्माण गरेको फिल्म ‘रुद्र’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका सारा शिर्पालीलाई पनि फिल्म क्षेत्रको आशआशालाग्दो अुनहार मानिन्छ । उनले ‘रुद्र’ पछि फिल्म ‘पिंजडा ब्याक अगेन’मा पनि काम गरिन् । दुबै फिल्ममा उनको कामको प्रशंसा नै भयो ।
उनले सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ती’मा काम गरिसकेकी छिन् । ‘सुश्री सम्पती’ उनको रिलिजको तयारीमा रहेको फिल्म हो । सारालाई पनि सुन्दरी नायिकाको रुपमा लिइन्छ । उनको सुन्दरतासँगै अभिनयको पनि प्रसंशा हुने गरेको छ ।

६) धिरज मगर

धिरज मगर अधिनित फिल्म ‘इन्टु मन्टु लण्डन’मा रिलिज हुनै बाकीँ छ । तर पनि उनलाई फिल्म क्षेत्रको एक आशालाग्दो अनुहारको रुपमा लिइएको छ ।
युट्युवर धिरजले धेरै फ्यान फलोअर्स कमाइसकेका छन् । त्यसैले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रतिक्षित फिल्मको रुपमा लिइएको छ । यस फिल्ममा धिरजले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी भएर काम गरेका छन् ।

  • ५ असार २०७५, मंगलवार १३:५४ प्रकाशित
  • Nabintech