पाकिस्तानको जीतको कामना गरीरहेको भारत
  • काँचुली खबर

२८ असोज, काठमाण्डौं । हरेक मामिलामा भारत र पाकिस्तान कट्टर दुस्मन राष्ट्र हुन् । अझै क्रिकेटको सन्दर्भलाई लिएर दुई देशको सम्बन्ध झन् दुस्मनीमा परिणत हुन्छ । यी दुई देशबीच हुने क्रिकेटका हरेक प्रतियोगिता विश्वकै सबैभन्दा धेरै हेरिने र रोचक बन्ने गर्छन् ।

मैदान, मानिस र मिडियामा यी दुई देशको क्रिकेटको प्रतिस्पर्धाले थप रौनक ल्याउने गर्दछ । तर क्रिकेटको कट्टर दुस्मन देश भए पनि आईसीसी महिला टी-२० क्रिकेटमा भने दुर्लभ संयोग देखिएको छ ।

उक्त दुर्लभ संयोग यूएईमा जारी प्रतियोगिताको नकआउट समीकरणमा देखिएको हो ।

जहाँ भारतको अघिल्लो चरणमा जाने सम्भावना जीवित रहन पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गर्नुपर्ने छ ।

पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गरे मात्रै भारत सेमिफाइनलमा प्रवेश गर्नेछ । यसैले आज राति हुने खेलमा सिंगो भारतीय पक्ष न्युजिल्याण्डविरुद्ध पाकिस्तानको जीतको पक्षमा हुनेछन् ।

अघिल्लो खेलमा भारत अस्ट्रेलियासँग ९ रनले पराजित हुन पुगेको थियो ।

यसैले पाकिस्तानले सामान्य मार्जिनले जितेमात्रै भारत अघिल्लो चरणमा जाने भएको हो । चार खेलपछि अस्ट्रेलियाले ४ वटैमा जीतसहित ८ अंक जोडेको छ । भारतको ४ खेलमा २ जीत र २ हारसहित ४ अंक भएको छ ।

३ खेलपछि न्युजिल्यान्डको ४ अंक भएको छ । न्युजिल्याण्डले २ मा जीत र १ मा हार बेहोरेको छ । श्रीलंकाले अंक बटुल्न सकेको छैन ।

पाकिस्तानले ३ खेलपछि एक जीतसहित २ अंक बटुलेको छ । यसैले अघिल्लो चरणमा जानको लागि पाकिस्तानलाई न्युजिल्यान्डविरुद्ध भारी मतान्तरको जीत आवश्यक छ । न्युजिल्यान्ड जिते भारत र पाकिस्तान दुवै आउट हुनेछन् । किनकि जीतले न्युजिल्यान्डको ६ अंक हुनेछ । पाकिस्तानले न्युजिल्यान्डविरुद्ध साँघुरो अन्तरको जीत निकाले मात्रै भारतको लागि भाग्य खुल्नेछ ।

यसैले सिंगो भारतीय १ अर्ब ४५ करोड भारतीय आज राति हुने खेलमा पाकिस्तानको जीतको पक्षमा छन् । तर फराकिलो जीत होइन । जुन क्रिकेटमा कहिलेकाहीँ हुने दुर्लभ संयोग हो ।

समूह बीमा इंग्ल्याण्ड, साउथ अफ्रिका, वेस्ट इण्डिज मध्येका दुई देश सेमिफाइनल पुग्नेछन् ।​

भारतको त्यो नाटकीय हार

पछिल्लो खेलमा भारत अस्ट्रेलियाविरुद्ध जीतनजिक पुगेर पनि अन्ततः नाटकीय रूपमा पराजित बन्न पुग्यो । १५२ रनको लक्ष्य पछ्याउँदा भारत १९ औं ओभरसम्म पनि जीतनजिक थियो ।

अन्तिम ओभरमा १४ रन आवश्यक हुँदा भारतको ५ विकेट मात्रै गुमेको थियो । हरमनप्रित ५० रन र पूजा भ्रष्ताकर ९ रन बनाएर खेलिरहेका थिए ।

१९ औं ओभरको पहिलो बलमा हरमनप्रितले १ रन जोडेर पूजालाई स्ट्राइक दिइन् । तर लगत्तैको बलमा अस्ट्रेलियाकी अन्नावेलले पूजालाई आउट गरिन् ।

तेस्रो बलमा अरुन्धती रेड्डी पनि रन आउट हुन पुगिन् । चौथो बलमा कौरले एक रन जोडिन् । फेरि पाँचौं बलमा श्रीयान्‌का पाटिल पनि रनआउट भइन् ।

वाइड बलमा रनआउट भएपछि लगत्तैको बलमा राधा यादव पनि आउट पुगिन् । अन्तिम बलमा रेनुका सिंहले एक रन जोडे पनि भारत अन्ततः नाटकीय रूपमा ९ रनले पराजित हुन पुगेको थियो ।

अन्तिम ओभरमा भारतले नाटकीय रूपमा ४ विकेट गुमाउँदा सेमिफाइनलको समीकरण थप कठिन बनेको हो ।

भारतीय महिला टिमले पाकिस्तानलाई ६ विकेट र श्रीलंकालाई ८२ रनले पराजित गरेको थियो । भारत न्युजिल्यान्डसँग भने ५८ रनले पराजित भएको थियो ।

  • २८ आश्विन २०८१, सोमबार १६:२२ प्रकाशित
  • Nabintech