महिला विश्वकप आजबाट सुरु हुँदै, विजेताले कति पाउँछन् पुरस्कार ?
  • काँचुली खबर

१७ असोज, काठमाडौँ । आजबाट महिला टी-२० विश्वकप सुरु हुँदै छ । युएईमा सुरु हुने प्रतियोगितामा १० टिमबीच १७ दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २३ खेल हुनेछ । १० टोलीलाई २ समूहमा विभाजन गरेर खेल सुरु हुँदै छ ।

समूह ‘ए’मा भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, साउथ अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।

समूह चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा भएपछि दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलका खेल आगामी १७ र १८ अक्टोबरमा हुँदा प्रतियोगिताको फाइनल २० अक्टोबरमा हुनेछ । प्रतियोगिता युएईका दुई भेन्युमा आयोजना हुनेछ । जसमा शारजाँहा र दुबइमा खेल हुनेछ । दुबईमा पहिलो सेमिफाइनल र फाइनल हुँदा सारजाहाँमा दोस्रो सेमिफाइनलको खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो ३ः४५ बजे बंगलादेश र स्कटल्यान्ड भिड्दा साँझ ७ः४५ मा हुने खेलमा पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सेमिफाइनल र फाइनलमा रिजर्व डे राखिएको छ ।

आईसीसीले पहिलो पटक महिला र पुरुष टिमको पुरस्कार राशी बराबर राखेको छ । विजेताले ३२ करोड बढी प्राप्त गर्नेछन् । उपविजेताले १६ करोडभन्दा बढी तथा सेमिफाइनल पुग्ने दुवै टिमले ९-९ करोड प्राप्त गर्नेछन् ।

महिला विश्वकपमा सर्वधिक सफल टोली अस्ट्रेलिया हो । उसले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्टइन्डिजले समान १-१ पटक जितेका छन् । भारतले भने अहिलेसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन ।

  • १७ आश्विन २०८१, बिहीबार १७:१२ प्रकाशित
  • Nabintech