एलन मस्क बन्नेछन विश्वकै पहिलो ‘खर्बपति’
  • काँचुली खबर

५ असोज, काठमाडौं । संसारमा अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ । प्रविधिको विकास र त्यसैमा आधारित व्यवसायको माग बढ्दै गएकाले धनाढ्य अर्बपतिहरुको संख्या बढ्दै गएको छ । साथै अर्बपतिहरुको धन पनि दिन दुगुणा रात चौगुणा बढ्दै गइरहेको छ ।

कारोना महामारीमा धेरै आम मानिसहरुलाई जिउन कठिन भइरहँदा अर्बपतिहरुको धन उल्लेख्य मात्रामा वृद्धि भएको थियो। संसारमा अर्बपति (बिलिनियर)को सख्या हजारौँ रहेको छ । हालसम्म कोही पनि खर्बपति (ट्रिलिनियर) बनिसकेको छैन ।

संसारको पहिलो ट्रिलिनियर अमेरिकी व्यवसायी टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्क हुने अनुमान गरिएको छ । एक ट्रिलियन सम्पत्ति पुग्दा उनीसँग १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।

२०२४ मा मस्कको सम्पत्ति २ सय ४२ अर्ब डलर रहेको छ । अहिलेकै हिसाबमा पछिल्लो ७ वर्षको वृद्धिदरलाई आधार मान्दा २०२७ मा एलन मस्क विश्वको पहिलो ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको भिजुअल क्यापिटालिस्टले लेखेको छ । क्यापिटालिस्टले इन्फर्मा कनेक्ट एकेडेमीले हालै गरेको अध्ययनका आधारमा सार्वजनिक रिपोर्टमा रहेर उक्त प्रक्षेपण गरेको हो ।

टेस्लाका सीईओ मस्कको सम्पत्ति अहिलेकै दरमा वृद्धि हुने हो भने उनी नै संसारको पहिलो ट्रिलिनियर बन्नेछन् । मस्कलाई ट्रिलिनियर बन्न ३ वर्ष अर्थात् २०२७ सम्म लाग्ने अनुमान गरिएको छ ।

मस्कलाई पछ्याउँदै भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो ट्रिलिनियर बन्ने अनुमान गरिएको छ । अडानी समूहका अध्यक्ष गौतम अडानी २०२८ मा विश्वको दोस्रो ट्रिलिनियर बन्ने छन् ।

इनफर्माले यो अध्ययमा ३० जना धनाढ्यहरुको सम्पत्तिबारे अध्ययन गरेको जनाएको छ । ती ३० धनाढ्यहरुको २०१७ देखि २०२४ सम्मको सम्पत्ति वृद्धिदर केलाइएको छ । सो सम्पत्ति र वृद्धिदर फोब्र्सले सार्वजनिक गरेको तथ्यांकमा आधारित छन् । अध्ययनमा ती धनाढ्य प्रत्येकको औसत वार्षिक वृद्धिदर र आगामी ३० वर्षका लागि उनीहरुको सम्पत्ति वृद्धिको प्रक्षेपणलाई आधार मानिएको छ । यही आधारमा सम्भावित ट्रिलिनियरहरुको अनुमानित समय र सूची प्रक्षेपण गरिएको हो ।

१. एलन मस्क  : टेस्ला तथा स्पेरएक्सका सीईओ मस्क अमेरिकी नागरिक हुन् । उनी २०२७ सम्म विश्वको पहिलो ट्रिलिनियर बन्ने छन् । २०२४ मा उनले कुल सम्पत्ति २ सय ४२ अर्ब डलर रहेको छ ।

२. गौतम अडानी : भारतीय व्यावसायी गौतम अडानी अडानी समूहका अध्यक्ष हुन् । ऊर्जादेखि पोर्टसम्मको व्यवसायमा संलग्न अडानी २०२८ सम्म ट्रिलिनियर बन्ने अनुमान छ । २०२४ मा उनको कुल सम्पत्ति ८४ अर्ब डलर रहेको छ ।

३. जेन्सन हुवाङ : हुवाङ अमेरिकी चिप उत्पादन कम्पनी एनभिडियाका सहसंस्थापक तथा सीईओ हुन् । अमेरिकी नागरिक उनी पनि २०२८ मै ट्रिलिनियर बन्ने अनुमान गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति ७७ अर्ब डलर रहेको छ ।

४. प्रजोगो पंगेस्तु : इन्डोनेसियाका नागरिक पंगेस्तु बारिटो प्यासिफिकका सञ्चालक हुन् । उनी पनि २०२८ मै ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति ४३ अर्ब डलर रहेको छ ।

५. बर्नार्ड अर्नल : फ्रान्सेली अर्बपति अर्नल एलभीएमएचका मालिक हुन् । उनी २०३० सम्म ट्रिलिनियर बन्ने अनुमान गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति २ सय ३३ अर्ब डलर रहेको छ ।

६. मार्क जुकर्बग : फेसबुकका संस्थापक जुकर्बग अमेरिकी नागरिक हुन् । हाल फेसबुकको माउ कम्पनी मेटा रहेको छ । उनी २०३० मा ट्रिलिनियर बन्ने छन् । २०२४ मा उनको कुल सम्पत्ति १ सय ७७ अर्ब रहेको छ ।

७. फिल नाइट : अमेरिकी नागरिक नाइट निकीका मालिक हुन् । उनी २०३० सम्म ट्रिलिनियर बन्ने अनुमान गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति ४१ अर्ब डलर रहेको छ ।

८. मुकेश अम्बानी : भारतीय अर्बपति मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका मालिक हुन् । विभिन्न व्यापार तथा उद्योगमा लगानी गरेका उनी २०३३ मा ट्रिलिनियर बन्ने अनुमान गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति १ सय १६ अर्ब डलर रहेको छ ।

९. माइकल डेल : डेलका मालिक माइकल अमेरिकी नागरिक हुन् । उनी २०३३ सम्म ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ । २०२४ मा उनको कुल सम्पत्ति ९१ अर्ब डलर रहेको छ ।

१०. स्टेभ बालमर : बालमर पनि अमेरिकी नागरिक हुन् । माइक्रेसफ्टका मालिक उनी २०३४ सम्ममा ट्रिलिनियर बन्ने छन् । प्रक्षेपण मिलेमा उनी विश्वको १०औँ ट्रिलिनियर हुनेछन् । २०२४ मा उनको कुल सम्पत्ति १ सय २१ अर्ब डलर रहेको छ ।

  • ५ आश्विन २०८१, शनिबार १६:५१ प्रकाशित
  • Nabintech