दूतावासमा पस्‍नेबित्तिकै खसोगीको हत्या
  • काँचुली खबर

एजेन्सी
विदेश – साउदी अरबका पत्रकार जमाल खसोगीको हत्याबारे टर्कीले खुलासा गरेको छ। इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा प्रवेश गर्नेबित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको टर्कीको भनाइ छ। खसोगी मारिएपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर नष्ट गरिएको इस्तानबुलका मुख्य सरकारी वकिलले बताएका छन्।

खसोगी कसरी मारिएका थिए भन्नेबारे टर्कीले पहिलो पल्ट जानकारी दिएको हो। ‘घाँटी थिचेर मारेपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर नष्ट गरियो,’ बुधबार मुख्य सरकारी वकिल इरफान फिदानले वक्तव्य निकालेर भनेका छन्। सोमबार फिदानले साउदी समकक्षीसँग भेट गरेका थिए। तर सो भेटको कुनै परिणाम ननिस्केको उनले बताएका छन्। टर्कीको यो भनाइबारे साउदी अरबले कुनै प्रतिक्रिया दिएको छैन।

खसोगीको हत्या नियोजित भएको पनि फिदानले दाबी गरेका छन्। साउदी संस्थापनसँग असन्तुष्ट खसोगी अक्टोबर २ मा महावाणिज्यदूतावासमा प्रवेश गरेपछि बेपत्ता पारिएका थिए। साउदी अरबले पहिले उनको बारेमा आफूलाई केही थाहा नभएको बताएपनि पछि उनको हत्या गरिएको स्वीकार गरेको थियो।

साउदी अरबले हत्यामा संलग्न भनिएका १८ जनालाई पक्रेको छ। टर्कीले भने आरोपितहरुको सुपुर्दगीका लागि प्रयास गरिरहेको छ। टर्कीले आफूहरुसँग हत्याको अझ विस्तृत प्रमाण गरेको दाबी पनि गरेको छ। कतिपयले खसोग्गी हत्याको रहस्य ढाकछोप हुनसक्ने आशंका समेत व्यक्त गरेका छन्।

खसोगीकी प्रेमिका हेतिस सेन्गिजले हत्यालाई ढाकछोप हुन नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेकी छन्। खसोगी हत्यापछि साउदी अरबको विश्वव्यापी आलोचना भएको छ।

  • १५ कार्तिक २०७५, बिहीबार १३:१२ प्रकाशित
  • Nabintech