२४ बैशाख २०८१, सोमबार
किन गरिन्छ विश्वकर्मा पूजा ?
  • काँचुली खबर

सामान्यतया भगवान् विश्वकर्मालाई हामी इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेछौँ, पूजा गर्दछौँ तर पौराणिक तथा प्रामाणिक (वैज्ञानिक) दृष्टिकोणमा विश्वकर्मालाई अनेक रूपका भगवान् मानिएको पाइन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन् ।

विश्वकर्माको जन्मका विषयमा विद्वानहरूमा अनेक मत पाइन्छ ।

१. अङ्गिरापुत्र सुधन्वालाई विश्वकर्मा

२. भुवन पुत्र भौवन विश्वकर्मालाई विश्वकर्मा

३. अष्टवसुमध्ये प्रभास वसु पुत्र विश्वकर्मा

वेदमा उल्लेख भएका अष्टवसुहरू विभिन्न कलाका ज्ञाता थिए । कोही अग्नि कलाका ज्ञाता थिए भने कोही यातायात, कोही वायव्यास्त्रआदि प्रवर्तक थिए भने कोही विभिन्न इन्धनादिका । ती अष्टवसुमध्ये प्रभास वसु आग्नेय कुशलताका धनी थिए । उनका पुत्रविश्वकर्माले पिताको कलालाई ग्रहण मात्र गरेनन् काका, ठूलो बुबाका शिल्पकलाका अनेक भेदलाई पनि सही ढङ्गबाट उतारी प्रवर्तकका रूपमा स्थापित भए । उनै विश्वकर्मा आदि विश्वकर्मा हुन् । यही सन्दर्भमा राजाभोजले आफ्नो कृतिमा यसरी लेखेका छन्ः

तदेष त्रिदशाचार्यः सर्व्सिद्धिप्रवर्तकः ।
सुतः प्रभासस्य वसोः स्वस्त्रीयश्च बृहस्पतेः ।।

त्यस्तै, स्कन्द पुराणको प्रभात खण्डमा विश्वकर्माको जन्म अर्थात् विश्वकर्मा को हुन् भन्ने विषयमा स्पष्ट भनिएको छ, त्यसैगरी अन्य पुराणले पनि यसै कुरालाई अनुसरण गरेको पाइन्छ ।

विश्वकर्माको जन्मका विषयमा स्कन्द पुराणहरूको मतः

विश्वकर्मा वृहस्पतिको भुवना नाम गरेकी बहिनी प्रभास वसुलाई विवाह गरी दिएपछि शिल्पकर्ता विश्वकर्माको जन्म भएको हो ।
विश्वकर्माको आमाको नाम भुवना थियो भने अन्य पुराणहरूमा भुवनाको अन्य नाम जस्तै योगसिद्धा, वरस्त्री नाम पनि लेखिएको पाइन्छ ।
प्राचीन ग्रन्थको मनन-अनुशीलनबाट यो थाहा पाइन्छ कि जहाँ ब्रह्मा, विष्णु र महेश्वरको पूजा–अर्चना हुन्छ त्यहाँ भगवान् विश्वकर्माको पनि स्मरण तथा पूजन गरिन्छ । ‘विश्वकर्मा’ यो शब्द यसरी बनेको छ ।

‘विश्वं कृत्स्नं कर्म व्यापारो वा यस्य सः’
अर्थात् जसको सम्यक् सृष्टि र कर्म व्यापार हो उनै विश्वकर्मा हुन् । उनै विश्वकर्माद्वारा नै विश्वको रचना भएको हो । विश्वकर्मालाई विश्वकृत, विश्वकर्मा, त्वष्टा, भूर्भुवः भुवनेश, स्वर्गदेव नामले चिनिन्छ ।

विश्वकर्माको स्वरूपः

भगवान् विश्वकर्माले एक हातमा नाप्ने फित्ता ९गज०, दोस्रो हातमा डोरी, तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक वा ज्ञानसूत्र धारण गरेका छन् । हाँसमाथि विराजमान विश्वकर्माका तीन नेत्र सुशोभित छन् भने उनले शिरभागमा सुन्दर मुकुट धारण गरेका छन् । सबैप्रकारले वृद्ध शरीर भएका विश्वकर्मा तीनै लोकका सबै प्रकारका देवघर, राजघर, मनुष्यघरलगायतका सुन्दर घर रचनाकर्ता तथा यो जगतको हितकर्ता, सृष्टिकर्ता र सूत्राधार नै हुन् ।

त्यस्तै, महाओजस्वी, तेजोमय स्वरूप, चतुर्भुज, ब्रह्मतेजबाट तताएर सुन जस्तो वर्ण, कानमा दिव्य कुण्डल, ठूलो निधार जसमा ज्ञानचक्षु र शिरमा चन्द्रमाको दिव्यता झल्किरहेको यस्तो सुख मुद्रामा भगवान् विश्वकर्मा ज्ञानप्रदाता, मोक्षप्रदाता र विश्वका दुःखको निवारण कर्ता तथा सृष्टिकर्ताका रूपमा विराजमान छन् । भगवान् विश्वकर्माको स्वरूप वास्तवमै अत्यन्तै मनोहर र सुन्दर छ ।

विश्वरचयिता

‘ब्रह्माले सृष्टिपछि संसार बनाउने योजनाअनुसार राजा पृथुलाई नै सम्पूर्ण जिम्मेवारी दिएका थिए ।’ पृथ्वीको पहिलो राजा पृथुले उबड–खाबड अवस्थामा रहेको संसारलाई समतल पारेर भगवान् विश्वकर्मालाई बोलाएर संसारको भौगोलिक व्यवस्था मिलाउन लगाए । अनि भगवान् विश्वकर्माले ब्रह्माको आज्ञाबाट बसोबास योग्य भवन स्थल निर्माण गर्नुभयो र मानव जातिलाई व्यवस्थितता प्रदान गर्नुभयो ।

विश्वकर्माद्वारा नै विश्वको अर्थात् सम्पूर्ण संसारको सिर्जना भएको हो त्यस्तै, विश्वकर्माद्वारा नै सूर्यको गोलाकार, ताप पृथ्वीमा झर्ने दिशा, सूर्य रहने, घुम्ने दिशा, सूर्यको आकार–प्रकार सबै निर्णय भयो, चन्द्रको विम्व, चन्द्रको आकारप्रकार, वनस्पतिको उल्लेख, यथायोग्य वनस्पतिका क्रम, पशुपंक्षी अनुसारको वनस्पति निर्माण स्थान विश्वका सम्पूर्ण उपयोग्य प्रकृतिमय वातावरण पनि विश्वकर्माद्वारा निर्माण भएको हो भन्ने विद्वानहरूको मत छ ।

विश्वकर्माले नै संसारको सृष्टिलाई रचना गर्नुभएको कुरा स्वयम् ब्रह्माजी भन्नुहुन्छः

अर्थात् सम्पूर्ण संसारलाई महाप्राज्ञ विश्वकर्मा बनाउँछन् । हे पृथु १ उनले देवराज ईन्द्रको अमरावती निर्माण गरे, राजाहरूको धेरै मनोरम शहरहरू पनि उनले नै निर्माण गरे, तिमीले सेवा गर्न लायक बनाएको यस पृथ्वीमा विश्वकर्माले अवश्य पनि शहर, गाउँ, नगरहरूका सुन्दर, सुन्दर स्थानहरू बनाउँछन् ।

विश्वकर्माको विषयमा वेदमा पनि यसरी वर्णन भएको पाइन्छः

‘विश्वतः चक्षुरूत विश्वतोमुखो विश्वतो बाहुरूत विश्वतस्पात्’

यस्तो वर्णन गरेर वेदले उनको सर्वव्यापकता, सर्वज्ञता, शक्ति-सम्पन्नता र अनन्ततालाई राम्रोसँग देखाएको छ ।

वशिष्ट पुराणमा पनि भगवान् विश्वकर्माको वर्णन गरिएको छः

अर्थात् धर्मशास्त्रमा पनि माघ शुक्ल त्रयोदशीलाई विश्वकर्मा जयन्तीका रूपमा लिइन्छ । तर, शास्त्रले बताएअनुसार, विश्वकर्मा जयन्ती मनाउनु अनुचित हो । तर, पूजाआजा भने अवश्य पनि गर्नुपर्दछ । वर्षमा कयौँ दिन विश्वकर्माको पूजा अर्चना गरिन्छ । त्यसमा पनि कन्या संक्रान्ति अर्थात् आश्विन १ गतेका दिन विशेष गरी भगवान् विश्वकर्माको पूजा-अर्चना गरिन्छ । त्यसैगरी कार्तिक शुक्ल प्रतिपदा (गोवद्र्धन पूजा) र भाद्र शुक्ल पञ्चमीका दिन पनि विश्वकर्माको पूजा गर्ने परम्परा उत्तरी भारततर्फ छ । नेपालमा भने विश्वकर्मा पूजा असोज १ गते गरिन्छ । कतिपय स्थितिमा खड्गपूजा, साधनपूजा गर्नुपर्दा पनि भगवान् विश्वकर्मालाई स्मरण गर्ने प्रचलन पाइन्छ । प्रत्येक प्राणीले आफ्नो उन्नति, प्रगति, धन, धान्य, समृद्धि, पुत्र, पौत्र, शिल्प, कलाकारिता, बुद्धि, विवेक प्राप्तिका लागि विवाह, यज्ञ, गृह प्रवेश हरेक कार्यमा विश्वकर्माको पूजा-आजा गर्नु राम्रो मानिन्छ । किनकी विश्वकर्मालाई वेदले पनि भगवान् प्रजापतिको विशेषणका रूपमा प्रयोग गरेका छन्ः

‘प्रजापति विश्वकर्मा विसुचित ।’

वास्तुशास्त्रका अठार उपदेशकमध्ये विश्वकर्मा प्रमुख मानिन्छन् । किनकी, गृहवास्तुका लागि अन्य उपदेशकको पूजा–आजा, स्मरण, अर्चना गरिँदैन । अरू सबै उपदेशक मात्र हुन् तर विश्वकर्मा गृहवास्तुका भगवान् नै हुन् । वास्तुस्थिति मिलाउन विश्वकर्माद्वारा रचना गरिएको वास्तुशास्त्रका सिद्धान्त जति महत्वपूर्ण र उपयोगी अरू कुनै हुन सक्दैन ।

सर्वप्रथम ब्रह्माको आज्ञाबाट संसारको भौगोलिक अवस्थालाई महाराज पृथुले मिलाएपछि विश्वकर्माले वास्तुसिद्धान्तमा रहेर संसार सिर्जना गर्नुभयो । त्यसअगाडि ईन्द्रादि देवताको महल भएको शहर अमरावती नगरी निर्माण गर्नुभएको थियो । त्यसपछि ईन्द्रवन, स्वर्णमयी लङ्का, द्वारिका, हस्तिनापुर उत्कृष्ट शैलीका दरबार रचना गरी कलाकारिता, शिल्पकारिताको बेजोड उदाहरण प्रस्तुत गरेका हुन् ।

विश्वकर्माकै देनले यन्त्र विकास हुन पायो । अहिले हामी मानवजाति बिहान उठेदेखि बेलुका सुतुञ्जेलसम्म यन्त्र प्रयोग गर्दछौँ, जस्तैः मोबाइल फोन, बिजुली । त्यसैगरी उनैको शिल्पकारिताको प्रयोग गर्दछौँ, जस्तैः काठ, घर, मन्दिर, भवन । विश्वकर्माको शिल्पकारिता, आग्नेय कुशलता, ओजस्विताको गहकिलो अध्ययन गरेर नाट्यशास्त्रका रचयिता भरतमुनि आचार्यले आफ्नो ‘नाट्यशास्त्रम्’ कृतिमा पनि भगवान् विश्वकर्माद्वारा रचना गरिएको अमरावती, द्वारिकाको यथोक्त वर्णन गरेका छन् । विश्वकर्मीयशिल्पका विषयमा विभिन्न पुस्तकको रचना भइसकेको पाइन्छ । उनको शिल्पकारितालाई सम्पूर्ण मानव जातिले नै प्रशंसा गरेको पाइन्छ ।

भगवान् विश्वकर्माले विश्व रचना गर्ने ब्रह्माको कल्पनालाई साकार प्रदान गरे । जसअन्तर्गत भगवानका रथदेखि अमरावती शहरसम्म र ससाना यन्त्रदेखि घर, भवन, महल, पुल, अत्याधुनिक कलकारखानासम्म निर्माण गर्ने भगवान् विश्वकर्माको प्रभावका कारण मानव जाति यस अवस्थासम्म आइपुग्न सकेका छन् ।

शिवझैँ विश्वकर्मा पनि त्रिनेत्रधारी हुन् । सम्पूर्ण जगतको सृष्टि गर्ने विश्वकर्माले नक्षत्रदेखि सूर्यसम्मको वास्तुस्थिति मिलाए, पृथ्वीको वास्तु मिलाए, हरेक बस्तु, प्राणीका लागि उपयोग्य वातावरणको वास्तुस्थिति मिलाए र देवलोकको वास्तु सिद्धान्तलाई संसारमा मानव कल्याणार्थ उतारी हरेक प्राणीको मनको वास्तु मिलाए, त्यसैले असोज १ गते भगवान् विश्वकर्माको पूजाअर्चना हामी मनैदेखि गर्दछौँ, प्रत्येक यन्त्रलाई विश्वकर्माको प्रतीक मानेर पूज्दछौँ, भगवान् विश्वकर्माको कथा गाउँछौँ, भजन गर्दछौँ ।

 

स्रोत : जनता समाचार

  • १ आश्विन २०७५, सोमबार ०९:३५ प्रकाशित
  • Nabintech