२४ बैशाख २०८१, सोमबार
भीभीआईपीहरुलाई गाडीसँगै एउटा एम्बुलेन्स
  • काँचुली खबर

 यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटका प्रमुख चूडामणि भण्डारीका अनुसार विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र होटलमा भेन्टिलेटरसहितको एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलदेखि होटलसम्म विशेषज्ञ चिकित्सकसहितको एउटा एम्बुलेन्स सञ्चालन गर्नेछ । त्यसैगरी आकस्मिक अवस्थाका लागि १३ वटा एम्बुलेन्स राखिएको छ । नेपाल एम्बुलेन्स सर्भिसका ६ वटा एम्बुलेन्स पनि तैनाथ रहनेछन् । नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्तपाल, नेपाल प्रहरी र आर्मी अस्पताल पनि स्वास्थ्य सेवाका लागि तयार रहनेछन् ।

बिमस्टेकमा आउने विशिष्ट पाहुनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको २ वटा टोली गठन गरी सेवा दिनेछ । विमानस्थलमा ३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिनेछ । प्रत्येक विशिष्ट पाहुनाको गाडीसँगै एउटा एम्बुलेन्स रहनेछ ।

सम्मेलन हुने सोल्टी होटलमा २४ सै घण्टा ८ जनाको टोली उपचारका लागि तैनाथ रहनेछ । टोलीमा जनरल फिजिसियन, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिसनर, एनेस्थेसियोलोजिष्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्स रहनेछन् । भेन्टिलेटरसहित ए ग्रेडको एम्बुलेन्सका लागि मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरेको छ ।

निजामति अस्पताल र काठमाडौं मेडिकल कलेजले त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य उपचार सेवा दिनेछन् । त्यसैगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालले आकस्मिक मेडिकल टोली परिचालन गर्नेछन् । यसको सुपरीवेक्षण मन्त्रालयले गर्नेछ । यी अस्पतालले आईसियु र सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गर्ने र एम्बुलेन्ससहितको सेवा दिने बताइएको छ ।

सैनिक अस्पताल छाउनी र बयोधा अस्पताल बल्खु, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राख्नेछन् र एयर एम्बुलेन्स सेवा दिनेछन् । त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गरेर सेवा दिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ग्रान्डी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राखेको जनाएको छ । सो अस्पताललाई आकस्मिक रुपमा एयर एम्बुलेन्स र हेलीप्याड तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

 

स्रोत : बाह्रखरी

  • १० भाद्र २०७५, आईतवार १२:१० प्रकाशित
  • Nabintech