१४ बैशाख २०८१, शुक्रबार
कुकुरहरुलाई बुट लगाईदिन प्रहरीको सुझाव
  • काँचुली खबर

स्वीट्जरल्याण्डको जुरिच शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न मालिकहरूलाई आग्रह गरेको छ। जुरिचमा शहरमा उच्च तापक्रमबाट कुकुरको पैताला जोगाउन प्रहरीले तीनका मालिकलाई आग्रह गरेको हो। जुरिच प्रहरीले कुकुरको पक्षमा अभियान नै चलाएको छ। कुकुरका मालिकहरूलाई चर्को गर्मीमा उनीहरूका ‘चारखुट्टे साथी’ लाई जोगाउने काइदाबारे प्रहरीले सिकाइरहेको छ। चर्को घामले तातेको फुटपाथमा हिँड्नु कुकुरको निम्ति पीडादायी हुनसक्ने तर्क प्रहरीको छ। युरोपभर केही साता यता निकै गर्मी बढेको बेला तापक्रम उच्च विन्दुमा पुगेको देशमध्ये स्वीट्जल्याण्ड पनि हो। जुरिच प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार ३० डिग्री सेल्सियस तापक्रम पुग्दा जमिनमा ५० देखि ५५ डिग्री सरह महसुस हुने भएकाले यसले कुकुरलाई असहज हुन सक्ने बताए। प्रहरीले कुकुरलाई बाहिर लग्नुअघि जमिनमा हत्केला उल्टो पारी पाँच सेकेण्ड राखेर कतिको तातो छ भन्ने जाँच गर्न कुकुर मालिकहरूलाई सल्लाह दिएका छन्। उनीहरूले कुकुरको निम्ति पर्याप्त पिउने पानी भएको सुनिश्चित गर्न र घामले तातेको कारमा कुकुरलाई नछोड्न पनि सुझाएका छन्। प्रहरीले भनेको छ, ‘निकै गर्मी छ। तातेको सडक छल्नुस्। ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफैँ बोक्नुस्।’

  • २१ श्रावण २०७५, सोमबार १२:२९ प्रकाशित
  • Nabintech