२३ बैशाख २०८१, आईतवार
नेपालमा प्रत्येक दिन जान्छ १० वटा भूकम्प
  • काँचुली खबर

१२ बैशाख, काठमाडौँ । आज वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् ।

नेपालमा २०३७ सालदेखि देशका विभिन्न भागमा भूकम्प मापन उपकरण राख्न थालिएको थियो । त्यस आधारमा २०३७ सालदेखि २०७२ सालसम्म नेपालमा साना ठुला गरेर करिब ८० हजार भूकम्प रेकर्ड भएको थियो । यस आधारमा २०३७ सालदेखि हालसम्म झन्डै डेढ लाख हाराहारी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपालमा निरन्तर भूकम्प गइरहेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने, ‘नेपालमा निरन्तर भूकम्प गइरहेको छ । ४ रेक्टर स्केल भन्दा तलका भूकम्प थाहा नपाउने किसिमको भएकोले अनुभूति नभएको हो । विगतमा पनि भूकम्प गइरहन्थ्यो भन्ने कुरा त्यतिबेलाको तथ्याङ्कहरूले पनि बताउँछ । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने नेपालको हिमालयमा भूकम्प गइरहन्छ ।’

हिमालय क्षेत्रमुनि भूकम्पका लागि ऊर्जा सञ्चित भइरहेको क्षेत्र हो । दक्षिणमा भारतीय प्लेट र उत्तरतिर रहेको यूरेसियन प्लेटबिच टकराब हुँदाखेरि जमिनमुनि शक्ति सञ्चित हुन्छ । हिमालयमुनि सञ्चित भएको त्यो शक्ति विभिन्न अन्तरालमा भूकम्पमार्फत बाहिर निस्किन्छ ।

भूकम्प गइसके पछाडि फेरि अर्को शक्ति सञ्चित हुन थाल्छ फेरि त्यो सञ्चित भएको शक्ति बाहिर निस्कँदाखेरि भूकम्प जाने डा। अधिकारीले बताउँछन् । यो प्रक्रिया करोडौँ वर्षदेखि चलिरहेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पहरू रेकर्ड गरिरहेको हुन्छ । अहिले हामीसँग भएका प्रविधिमा दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू रेकर्ड भइरहेको हुन्छ । अझ त्योभन्दा साना स्केलका भूकम्प त निरन्तर गइरहेको हुन्छ । वर्षभरिको औसत रेकर्ड हेर्दाखेरि दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू दैनिक १० वटा हाराहारीमा गइरहेको हुन्छ ।’

जोखिममा छ नेपालको पश्चिम क्षेत्र

समग्र नेपालको भूगोल नै भूकम्पीय जोखिममा रहे पनि पश्चिम नेपाल सबैभन्दा जोखिममा रहेको भूकम्पविद्को भनाई छ । पश्चिमी क्षेत्रमा महाभूकम्प गएको ५ सय वर्ष भएकोले त्यहाँको जमिनमुनि भूकम्पका लागि शक्ति सञ्चित भएर रहेको अधिकारी बताउँछन् । जमिनमुनिको शक्ति कहिले निस्कन्छ भन्ने निश्चित भने नहुने उनको भनाई छ ।

अधिकारी भन्छन्, ‘नेपालको पश्चिम मध्य वा पूर्व सबै क्षेत्र भूकम्पीय जोखिममा छ । पश्चिममा अहिले भर्खर जाजरकोट, बझाङमा र त्यसअघि गोरखामा गएको भूकम्पलाई हेर्दा जमिनमुनिको सञ्चित शक्ति निश्चित अन्तरालमा निस्किन्छ भन्ने हुँदैन । तरपनि साना-साना भूकम्पहरू भने गइरहेको हुन्छ ।’

उनी अगाडि भन्छन्, ‘जसमध्ये सानो-सानो भूकम्प त्यति नै छिटो-छिटो जान्छ जति भूकम्पको म्याग्निच्युड बढ्दै जान्छ त्यो ठुलो भूकम्प आउने समय पनि बढ्दै जान्छ । भनाइको अर्थ ठुला भूकम्पहरू लामो समयपछि दोहोरिन्छन् । त्यसका लागि धेरै शक्ति सञ्चित हुनुपर्छ सानो भूकम्पका लागि थोरै शक्ति सञ्चित भए पनि जाने भयो । जाजरकोटमा यसभन्दा अगाडि भूकम्प गएको हामीले सुनेका थिएनौँ । पश्चिम नेपालको कुरा गर्दा १५०५ मा गएको ठुलो महाभूकम्प गएको बुझिन्छ । त्यसभन्दा पछाडि त्यति ठुलो भूकम्प गएको छैन । जाजरकोटमा त्यसरी भूकम्प गएको अहिलेसम्म हामीलाई थाहा थिएन ।’

यता बझाङमा भने २०३७ सालमा पनि भूकम्प गएको, त्यसपछि बैतडीमा, दार्चुलामा साना भूकम्पहरू भने गएको उनले बताए । तर जाजरकोटमा र डोटीमा भने लामो समयपछि पहिलोपटक भूकम्प गएको बताए ।

अध्ययन अनुसार गोरखाभन्दा पश्चिमतर्फ भूकम्प जाने शक्ति सञ्चित भएको ५ सय वर्षभन्दा बढी समय भएको र त्यो शक्ति महाभूकम्प जानको लागि पर्याप्त हुने भनेर अहिलेसम्मको अध्ययनले देखाएको अधिकारीको भनाई छ ।

जमिनमुनि जम्मा भएको ऊर्जा थोरै थोरै मात्रामा निस्कँदा साना भूकम्प जाने र यसरी सानो मात्रामा निस्कँदा धेरै पटक बाहिर निस्कनुपर्ने, अन्यथा त्यो शक्ति बाहिर ननिस्किए ठुलो भूकम्पको जोखिम रहने उनले बताए ।

भूकम्पीय जोखिमबाट कसरी बच्ने ?

भूकम्पबाट कम क्षति गराउनका लागि संरचनाहरू कसरी सुरक्षित गर्ने भन्ने बारेमा सरकार र व्यक्ति गम्भीर हुनुपर्नेछ । २०७२ सालको भूकम्पबाट सिकेको पाठ अनुसार कस्तो संरचना बनाउने, कस्तो भवन बनाउने, कस्तो भवन बनाउँदा सुरक्षित हुन्छ भनेर गरिएको अध्ययन र अनुभवहरूलाई प्रयोग गर्नुपर्ने अधिकारी बताउँछन् ।

अधिकारी भन्छन्, ‘हामीले सिन्धुपाल्चोकदेखि गोरखासम्म भूकम्प पछि भौतिक संरचना निर्माणका लागि विभिन्न प्रयोग गरिसकेका छौँ । स्थानीय तहको प्रत्यक्ष निगरानीमा भूकम्प प्रतिरोधी त्यस्ता संरचना निर्माण भयो भने आगामी दिनमा विपद् दोहोरिन पाउँदैन । अर्कोतिर जोखिमयुक्त घरमा कोही बसेका छन् भने यसले भोलि सङ्कट आउन सक्छ । विपद्मा पर्न सकिन्छ भनेर त्यस्ता घरहरू व्यक्ति आफैले पनि भत्काएर अर्को बनाउनु पनि पर्ने हुन्छ जसले गर्दा क्षति न्यूनीकरण कम हुन सक्छ । त्यसका लागि पनि राज्यले नागरिकहरूलाई उत्प्रेरित गर्ने, त्यहाँ राज्य आफैँ गएर त्यस्ता घरहरूलाई प्रबलीकरण गर्न सकिन्छ कि रु मर्मत गर्न सकिन्छ कि रु अथवा उनीहरूलाई केही सहयोग गर्न सकिन्छ कि ? त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।’

यसरी विभिन्न चरणमा काम गर्ने हो भने भविष्यमा हुने क्षतिलाई कम गर्न सकिने उनले भनाई छ ।

नेपालमा ४२ ठाउँमा छन् भूकम्प मापन स्टेसन

२०७२ सालमा विनाशकारी भूकम्प गइसकेपछि राष्ट्रिय भूकम्प मापन केन्द्रमा झन्डै दोब्बर सङ्ख्यामा स्टेसनहरू थपिएका छन् । २०७२ सालभन्दा अगाडि २२ वटा स्टेसनहरू रहेकोमा अहिले यो सङ्ख्या ४२ वटा पुगेको छ । तर मानव जनशक्ति भने पर्याप्त नरहेको अधिकारीले बताए ।

उनले भने, ‘युरोप अमेरिका जापान लगायतका देशहरूले भूकम्प मापन गर्नका लागि जुन प्रविधिको प्रयोग गर्छन्, हामीले पनि त्यही नै प्रविधि प्रयोग गरिरहेका छौँ । हामीले तिनै दातृ निकायबाट यस्ता प्रविधिहरू सहयोग स्वरूप पाएका थियौँ ।’

उनले भूकम्प सबैको चासोको विषय रहेको र भूकम्प जाने बित्तिकै सम्झने तर गइसकेपछि बिर्सने बानी भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले अब विद्यालय शिक्षामा पनि यसलाई समावेश गर्नुपर्ने बताए ।

रातोपाटीबाट

  • १२ बैशाख २०८१, बुधबार १४:२८ प्रकाशित
  • Nabintech