२४ बैशाख २०८१, सोमबार
आज लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी
  • काँचुली खबर

१२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा लुम्बिनीसहित तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । यसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा अहिले बिहानपख आंशिक खालको बादल लागेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले उपल्लो वायुमण्डलमा पातलो बादल रहेकाले काठमाडौंमा राम्रोसँग घाम नलागेको जानकारी दिइन् । तर काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज वर्षाको सम्भावना भने कम रहेको उनले बताइन् ।

गण्डकी र कर्णाली प्रदेशमा केही स्थानमा हिजो पनि छिटपुट वर्षा भएको थियो । त्यस्तै सम्भावना आज पनि कायम छ ।

  • १२ बैशाख २०८१, बुधबार ०८:५९ प्रकाशित
  • Nabintech