१५ बैशाख २०८१, शनिबार
हावाबाट बनेको पर्स, वजन केवल ३३ ग्राम
  • काँचुली खबर

एजेन्सी। तपाईंले विभिन्न खालका पर्स देख्नुभएकै होला । कोही छालाले बनेका हुन्छन् त कोही कपडाबाट । तर के कहिल्यै यस्तो पर्सका बारेमा सुन्नुभएको छ जुन कपडा वा छालाबाट नभई हावाबाट बनेको हुन्छ ?

हावाबाट बनेको पर्स ! सुन्दैमा काल्पनिक र असम्भव लाग्दछ । तर हालै पेरिस फेसन सप्ताहमा यो पर्स सार्वजनिक गरिएको छ ।

यो पर्स बनाउनमा ९९ प्रतिशत हावा र १ प्रतिशत काँचको प्रयोग गरिएको छ । पेरिसस्थित चर्चित ब्राण्ड  Coperni ले गत सोमबार पेरिस फेसन सप्ताह २०२४ मा यो पर्स सार्वजनिक गरेको हो ।

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार यसअघि अमेरिकी मोडेल बेला हदिदलाई पनि एयरब्रस गरी अनौठो खालको ड्रेस पहिराइएको थियो ।

सोही कम्पनी कोपेर्नीले नासासँग मिलेर यो एयर स्वाइप ब्याग तयार गरेको हो । सो पर्स पूर्णरुपमा पारदर्शी छ र यसको वजन केवल ३३ ग्राम छ ।

पर्स निर्माता कोपेर्नीका अनुसार बादल जस्तो देखिने उक्त ह्याण्डब्याग अन्तरीक्ष प्रविधि नानोमेटेरियल सिलिका एरोजेलबाट बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो वस्तु हो जुन पृथ्वीमा रहेको सबैभन्दा हलुका तर ठोस पदार्थ हो । नासाले यो पदार्थको प्रयोग ताराहरुको धुलोलाई पक्रिनका लागि गर्दछ ।

यो पर्स बनाउनका लागि फ्रेन्च कम्पनीले अमेरिकन युनिभर्सिटी अफ साइप्रसका भिजुअल आर्टिस्ट तथा शोधकर्ता इओनिस माइकलौडिसको सहयोग लियो । डिजाइनरहरुले ब्रिटिस वोगलाई बताए अनुसार यसलाई सफल बनाउनमा १५ वटा प्रोटोटाइप तयार गरिएको थियो ।

कम्पनीका सहसंस्थापक तथा क्रिएटिभ डाइरेक्टर सेबेस्टियन मेयर तथा सिइओ अर्नड भ्यालेन्टले यसलाई वैज्ञानिक तर जादुमय भएको बताएका छन् ।

उता नासाका जर्ज गोल्डले यो पदार्थका विषयमा सन् २०१० मा भनेका थिए, यो केही यस्तो छ कि तपाइँले आफ्नो हत्केलामा सिलिका एरोजेल राख्न सक्नुहुन्छ । जब तपाईंले यसलाई टेबलमा खसाउनुहुन्छ भने यसबाट आवाज निस्किन्छ । यस्तो लाग्छ कि कुनै क्रिस्टलको ग्लास ठोक्कियो ।

सिलिका एरोजेलको प्रयोग नासाले सन् १९९९ मा स्टारडस्ट मिसनमा गरेको थियो । सो मिसन उल्कापिण्डबाट पृथ्वीमा नमूनाहरु ल्याउनका लागि प्रयोग गरिएको थियो ।

फ्रेन्च ब्राण्ड कोपेर्नीले तयार पारेको यो हावाको पर्समा आइफोन राख्न सकिने कम्पनीले जनाएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार १३:०५ प्रकाशित
  • Nabintech