१६ चैत्र २०८०, शुक्रबार
परराष्ट्रमन्त्री ज्ञवाली युरोप प्रस्थान
  • काँचुली खबर

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साताव्यापी भ्रमणका क्रममा युरोप प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली गएराति  पोर्चुगल प्रस्थान गरेका हुन् ।

समकक्षी अगस्टो सान्टोस सिल्भाको निमन्त्रणामा गएका ज्ञवालीले भोलि उनीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि परराष्ट्रमन्त्री ज्ञवाली बेल्जियम र लक्जेम्बर्ग जाने कार्यतालिका रहेको छ ।

बिहीबार बेल्जियमको ब्रसेल्स पुगेर त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडियर रेन्डियर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन परराष्ट्रमन्त्रीले नेपाली दूतावास तथा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आयोजित कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरणपछि नेपालको एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ । यस्तै शनिबार युरोपस्थित नेपाली राजदूतहरूको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ दूतावासको औचित्य, प्रभावकारिताका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबार गैरआवासीय नेपाली संगठनको कार्यक्रममा सहभागी भएर उनी सोमबार लक्जेम्बर्ग पुग्नुहुनेछ । त्यहाँका विकास सहायता तथा मानवीय मामिलामन्त्री रोमेन स्क्नेइदरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आगामी मंगलबार उनी स्वदेश फर्किने कार्यक्रम छ ।

 

  • ८ श्रावण २०७५, मंगलवार १०:३२ प्रकाशित
  • Nabintech