२३ बैशाख २०८१, आईतवार
एलन मस्कले गरे नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव
  • काँचुली खबर

८ माघ, काठमाण्डौं । टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले विभिन्न देशमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा (स्टारलिंक) विस्तार गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एलन मस्कको कम्पनीबाट स्टारलिंक सेवा सञ्चालन गर्ने प्रस्ताव आए दिने-नदिने विषयमा निर्णय भइनसकेको बताए । उनले भने, ‘आवश्यक अध्ययन गरेर यसबारे उचित निर्णय गर्नेछौँ ।’ दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले स्टारलिंक सेवा सुचारु गर्ने सहमति माग्दै स्पेसएक्सबाट प्रस्ताव आए पनि लगानी रकमबारे भने बताउन चाहेनन् । कम्पनीले परियोजनामा अधिकतम ६ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ ।

ब्लुमबर्गको बिलिनियर इन्डेक्सअनुसार आइतबार एलन मस्कको कुल धन (नेटवर्थ) २१९ अर्ब डलर कायम छ । वर्तमान विनिमयदरअनुसार नेपाली रुपैयाँमा उनको नेटवर्थ २९० खर्ब ४१ अर्ब ५९ करोड हो । विश्वकै धनीले नेपालमा लगानी गर्न खोज्नुलाई महत्वका साथ हेरिएको छ ।

विदेशी कम्पनीले नेपालमा इन्टरनेट सेवा सञ्चालन गर्न २० प्रतिशत सेयर हिस्सा नेपालीलाई दिनुपर्ने हुन्छ । तर, स्थानीयलाई साझेदार बनाउने नीति स्पेसएक्सको छैन । प्रचलित इन्टरनेट सेवामा पनि यसले असर गर्न सक्छ । यी यस्ता प्राविधिक विषयमा अध्ययन गरेर निर्णय लिने पक्षमा सरकार छ । स्पेसएक्सले सन् ०१९ बाट सुरु गरेको यो सेवा विश्वका ७० देशमा विस्तार भएको छ । दक्षिण छिमेकी मुलुक भारतले पनि स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ । कम्पनीले ०२३ भित्र नेपालमा स्टारलिंक सेवा विस्तार गर्ने व्यावसायिक योजना बनाएको थियो ।

सोहीअनुसार गत असारमा स्पेसएक्सका उच्च अधिकारीहरू गुपचुप नेपाल आएर यसबारे फिल्ड सर्भेसमेत गरिसकेका छन् । त्यसको केही समयपछि नेपालमा स्टारलिंक सेवा सुचारु गर्ने अनुमति माग्दै कम्पनीले प्रस्ताव दिएको हो । स्टारलिंक ‘वायरलेस’ अर्थात् सीधै स्टाटेलाइटको माध्यमबाट प्रयोग गर्न सकिने इन्टरनेट सेवा हो । यसमा तारविना नै राउटरले इन्टरनेट सेवा उपलब्ध गराउँछ । रुस-युक्रेन र इजरायल-हमास समूहको युद्धबाट प्रभावित क्षेत्रमा फाइबरको नेट अवरुद्ध भएपछि स्टारलिंकमार्फत इन्टरनेट सेवा दिइएको थियो ।

हाल नेपालमा फाइबर (इन्टरनेट प्रवाह गर्ने तार)को माध्यमबाट इन्टरनेट सेवा प्रदान गरिँदै आएको छ । त्यो अवस्थामा स्पेसएक्सले नेपालमा स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा सुचारु गर्ने प्रस्ताव गरेको हो । नेपाल भौगोलिक रूपमा विविधता तथा विकट मानिने ठाउँ हो । भौगोलिक अवस्थाकै कारण नेपालका विकट तथा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार हुन सकेको छैन । त्यो अवस्थामा स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रवाह गर्ने प्रविधि आउँदा इन्टरनेटको पहुँच विस्तारमा सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

अर्थविद् केशव आचार्यले एलन मस्कको कम्पनीबाट लगानी प्रस्ताव आउनु निकै महत्वपूर्ण भएको बताए । ‘विश्वकै धनी व्यक्ति मस्कले हचुवाको भरमा लगानी गर्न खोजेका पक्कै होइनन् । पक्कै पनि नेपालमा आएर प्राविधिक रूपमा अध्ययन तथा सर्भे गरेका हुन सक्छन् । त्योअनुसार नेपालमा केही सम्भावना देखेर नै यस्तो प्रस्ताव आएको हुन सक्छ, यो एकदमै महत्वपूर्ण पक्ष हो । विश्वकै धनी व्यक्तिले नेपालमा लगानी प्रस्ताव गर्दा र लगानी गरेपछि विश्वव्यापी रूपमा ठूलो सकारात्मक सन्देश जान्छ,’ उनले भने ।

-नयाँपत्रिकाबाट

  • ८ माघ २०८०, सोमबार १४:१० प्रकाशित
  • Nabintech