१४ बैशाख २०८१, शुक्रबार
पर्यटक आगमनमा १३ प्रतिशतले वृद्धि
  • काँचुली खबर

काठमाडौं – सन् २०१८ को पहिलो ६ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३ सय ४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ ।

पर्यटन प्रवर्द्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो । तुलनात्मक रूपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

‘अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवर्द्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ,’ उनले भने ।

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’जस्ता अभियान सञ्चालन गरेका छन् । जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८ सय ५० बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ को जुनमा कुल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए ।

भारतीय र चिनियाँ पर्यटक बढे

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३ सय ७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो गत वर्षको ६ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो ।

यस्तै, चीनबाट ७१ हजार हजार ३ सय ७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४।१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५।३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८ सय ५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कुल एक लाख ३१ हजार ७ सय ३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५।३३ प्रतिशतले बढी हो ।

युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्यान्ड पोल्यान्ड, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो ६ महिनामा एक लाख दुई हजार ४ सय ४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो १९।६९ प्रतिशतले बढी हो ।

६ महिनामा अष्ट्रेलिया र न्युजिल्यान्डका १८ हजार ६ सय ७३ जनाले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३ सय ७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करिब ३।५९ प्रतिशतले बढी हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ । करिब २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न सहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष नवराज दाहालले तुलनात्मक रूपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रूपमा लिन सकिने टिप्पणी गरे । उनले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिए ।

  • ५ श्रावण २०७५, शनिबार ०८:२७ प्रकाशित
  • Nabintech