६ जेष्ठ २०८१, आईतवार
यी हुन ऐरावतीका अध्यक्ष पदका ‘दावेदार’, कसले मार्ला बाजी ?
  • ऐरावती/प्युठान

प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर बस्नेत, नेपाली काँग्रेसको तर्फबाट नबिल बिक्रम शाह र नेकपा एमालेका तर्फबाट श्याम थापा यतिखेर अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन ।

माओवादीका बुद्धबहादुर बस्नेत २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको उपाध्यक्षमा बिजयी भइसकेका व्यक्ति हुन । उनले त्यतिबेला राष्ट्रिय जनमोर्चाका सीता गैरेलाई १३ मतले पराजित गरेका थिए ।

त्यसैगरी, काँग्रेसका शाह पनि उक्त निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका व्यक्ती हुन । उनले त्यतिबेला नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार टीका बहादुर गुरुङलाई १६ मतले पराजित गर्दै पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्याम थापा भने पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन ।

२०७४ मा उक्त पालिकामा नेकपा एमाले र माओवादीको चुनावी गठबन्धन बनेको थियो भने काँग्रेस र राष्ट्रिय जनमोर्चा एक्लाएक्लै चुनावमा भाग लिएका थिए । उक्त चुनावमा अध्यक्ष पदमा एमालेका गुरुङ काग्रेसका शाहसङ्ग १६ मतले पराजित भएका थिए भने, उपाध्यक्षमा माओवादीका बस्नेतले राष्ट्रिय जनमोर्चाका सीता गैरेलाई १३ मतले पराजित गरेका थिए ।

उक्त निर्वाचनमा अध्यक्ष पदमा काँग्रेसका शाहले २४९० मत प्राप्त गरेर बिजयी बन्दा माओवादी-एमाले गठबन्धनका गुरुङले २४७४ मत र राष्ट्रिय जनमोर्चाका कृष्ण श्रेष्ठले २२२२ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा माओवादीका बस्नेतले २१८१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सीता गैरेले २१६८ मत प्राप्त गरेका थिए ।

माओवादीका बस्नेत विद्यार्थी जीवन देखिनै माओवादी आन्दोलनमा लागेका व्यक्ती हुन । जनयुद्धकाल देखिनै उक्त पार्टीको स्थानीय नेतृत्व सम्हाल्दै आएका उनले तत्कालीन अवस्थामा जिल्लाको इन्टेलिजेन्स बिभाग प्रमुखको भुमिका सम्हालेका थिए । विभिन्न कालखण्डमा विभिन्न भुमिकामा काम गर्दै आएका उनि अहिले माओवादीको ऐरावती गाउँपालिका ईन्चार्जका साथै लुम्बिनी प्रदेश सदस्य समेत रहेका छन । उनि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को लुम्बिनी प्रदेश समितिका अध्यक्ष समेत हुन ।

त्यसैगरी, काँग्रेसका शाह भने २०७४ को स्थानीय निर्वाचनमा एक्कासि उदाएका व्यक्ती हुन । त्यसअघि उनको नाम राजनीति क्षेत्रमा सुनिने गरेको थिएन । हाल उनी काँग्रेसको कुनैपनि समितिको पदिय जिम्मेवारीमा छैनन ।

एमालेका श्याम थापा विद्यार्थीकाल देखि राजनीति क्षेत्रमा प्रवेश गरेका हुन । उनि विद्यार्थी राजनीति गर्दै पार्टीको विभिन्न तहमा रहेर काम गरिसकेका छन । हाल उनी एमालेको ऐरावती गाउँपालिका अध्यक्ष तथा नेपाल खेलकुद महासंघ र किसान महासंघका केन्द्रिय सदस्य समेत हुन ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष अहिले एउटै (अध्यक्ष) पदमा चुनावी प्रतिस्पर्धा गर्दा ऐरावतीको चुनावी माहोल थप रोचक बनेको छ । यी तीनजना मध्ये बाजी कसले मार्ने हो ? त्यो भने ऐरावतीका जनताको हातमा रहेको छ ।

यो पनि पढ्नुहोस ।

ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित

  • २५ बैशाख २०७९, आईतवार १९:१७ प्रकाशित
  • Nabintech