१६ चैत्र २०८०, शुक्रबार
लघुकथा : ‘नियम उल्लङ्घन’ !
  • काँचुली खबर

नेपालखाल्डोमा काल पल्कियो ।

अनुशासित, सदाचारी र धर्मात्माहरुलाई छानी छानी लिन थाल्यो । सृष्टिको नियम विरुद्ध गयो, ऊ । सन्सनी फैलियो । उसको ज्यादतीका विरुद्ध आन्दोलन छेडियो । सडकमा नारा जुलुस घन्किन थाले ।

सृष्टिको नियम – पालना गर ।
मनपरी तन्त्र – खारेज गर ।
ज्यादतीपूर्ण व्यवहार – बन्द गर ।

जनजीवन अस्तव्यस्त भयो । अन्तत: वार्ताबाट समस्या समाधान गर्ने निष्कर्षमा पुग्यो । आन्दोलनकारी र कालका प्रतिनिधि यमराजबिच घनिभूत वार्ता भयो । सृष्टि चलाउन वार्तामा यस्तो सहमति भयो, ‘आइतबार, सोमवार र मङ्गलवार व्यभिचारी र भ्रष्टाचारीहरुबाट लिने । बुधबार र बिहीबार बृद्धबृद्धाबाट लिने । शुक्रबार युवायुवती र शनिबार बालबालिकाबाट लिने ।’

अशान्त खाल्डोमा पुन: शान्तिले पाइला चालेको अनुभुति हुन थाल्यो । सबै आ-आफ्ना काममा लागे ।

आज मङ्गलबार । अचानक आँधी बेहरी र असिना पानी आयो । चट्याङ लागेर एक सज्जन युवाको मृत्युु भयो ।

सहमति तोडियो । जताततै खल्बली मच्चियो । सबै हातहातमा लाठी, भाला, खुकुरी, ढुंगा लिएर यमराजप्रति जाइलागे ।

सृष्टिको नियम रोकियो ।

ब्रह्माले चित्रगुप्तलाई मर्त्यलोक खटाए ।

अनुसन्धानले भन्यो, ‘त्यो दिन (मङ्गलबार) भ्रष्ट नेताको पालो थियो । यमराजले नेताबाट घुस खाएर सज्जन युवालाई लगेको रहस्य खुल्यो ।’

छविलाल खड्का
कोहलपुर

लघुकथा : ‘कालो सर्प’ !

  • २८ फाल्गुन २०७८, शनिबार १४:१४ प्रकाशित
  • Nabintech