१ जेष्ठ २०८१, मंगलवार
लघुकथा : ‘रेडकार्ड’ !
  • काँचुली खबर

मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो !

‘उषा, ए उषा ! के को हल्ला हो ?’ अल्छी लाग्दो पाराले सोधें ।

‘पल्लो टोलका केटाहरु फुटबल हेरेर बसेका होलान् ।’ उषाले अनुमान पेश गरिन् ।

‘ए हो है । कोपा अमेरिका र युरोकप चलिरेहेको छ । बेकम्मा केटाहरु खाएर, पिएर, बाजि राखेर बसेका होलान् । खेलाडीहरु आफ्नो देशको इज्जत राख्न मरिमेटी खेल्दै होलान् । बेकम्माहरु भने यता……..’ म कोल्टो फेर्दै सोचें ।

मेस्सी ! मेस्सी !!
नेयमार ! नेयमार !!

हल्लाले कानको जालि फुट्ला जस्तो भयो । अर्को कोल्टो फर्कें ।

इटाली हाई हाई !!
इङ्गल्याण्ड वाई वाई !!

डिष्टर्व गरेर निन्द्रा भङ्ग गरिदिएकोमा भित्र भित्रै खुब रिसाएँ । उठेर बैठक रुममा छिरे । टिभी खोलें । नेपालमा चलिरहेको गाईजात्रे फुटबल टुर्नामेन्टको लाइभ दिएको रहेछ ।

‘हाम्रो स्ट्राइकर, फुटबलको पेले । पेले इज द पेले । जसरी पनि गोल हान्छ । कोई माइकालालले रोक्न सक्छ ?’ डिफेन्सरको भुमिकामा रहेको एक चिल्लाई रहेको थियो । साइड रेफ्रीले यल्लो कार्डको चेतावनी दिए ।

खेल जारी थियो ।

हल्ला खल्ला र अनुमानका बिच एउटा टिम संसदीय पोष्टमा गोल हान्न आतुर देखिन्थ्यो भने अर्को टिम चुनावी पोष्टमा गोल हान्न आतुर थियो । फाउलै फाउल खेल्दै चुनावी पोष्टतिर गोल हान्न कुदिरहेको नेपाली पेलेलाई मेइन रेफ्रीले रेडकार्ड दिए । उनी मैदानबाट बाहिरिए । यो सिजनको गाईजात्रे टुर्नामेन्ट समाप्त !

छविलाल खड्का
कोहलपुर

छविलाल खड्काका ‘पाँच साइनो’ !

  • २९ असार २०७८, मंगलवार २२:०८ प्रकाशित
  • Nabintech