१ जेष्ठ २०८१, मंगलवार
लघुकथा : ‘भूमिका’ !
  • काँचुली खबर

‘बा-आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।’ ऊ सानै छँदा बाले भनेको सम्झ्यो ।

उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा-आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका रहरहरु उसका थप उर्जा बने । बाका अघि सकिँदैन भनेका कुरा अहिले चुपचाप गर्न थाल्यो ।

बाको च्यातिएको कछाड र आमाको भ्वाङ्ग परेको गुन्यूले भन्दा स्वास्नीको रेशमी साडीले घच्घच्याउन थाल्यो । रेशमी साडीकै लागि घर छोड्यो। सहर पस्यो ।

छोरा-छोरी जन्मिए । बाबू बन्यो । जिम्मेवारीको चाङ लाग्यो । लालन-पालन, भरण-पोषण, पढाइ-लेखाईका साथै उनीहरुको भविष्य निर्माणको ठूलै पहाड खडा भयो ।

‘राजुकी आमा, यो पाराले धानिएला जस्तो लागेन । विदेस जानू पर्यो ।’ साँझ सुत्ने बेला उराठ स्वरमा बोल्यो ।

‘गर्नु पर्यो त । स्वास्नी, छोरा-छोरीका लागि ।’ उसले सहज रुपले उत्तर दिई ।

ऊ विदेस उड्यो । काम पनि ठिकै पायो । महिनै पिच्छे खर्च पठाउन थाल्यो । ‘सबै पैसा खर्च नगर्नु । बचत गर्नु । भविष्यका लागि ।’ फोनमा स्वास्नीलाई सम्झाउँथ्यो । घरतिरको खबर सब ठिक भएको सुन्दा खुसी हुन्थ्यो ।

भिजाको म्याद सकियो । अनेक जुगाड लाएर दुई वर्ष म्याद थप्यो । तल्लाघरे रुद्रेले फोन गर्यो, ‘ए घनश्याम ! घर आउँदैनस् । तेरा बा त सिकिस्त बिरामी छन् त । छोरा-छोरा मात्र भन्छन् । तेरै निम्ति प्राण अडे जस्तो छ । डाँडाका जून । मैले भनेको नभनेस् नि ।’

‘ए हो ! ल ल ।’ घनश्यामे द्रवीभूत भयो ।

यस्तो जरुरी कुरा पनि नभनेकोमा स्वास्नीप्रति क्रुद भयो । ऊ पनि खबरै नगरी घर आयो । बा थिएनन् । आत्मग्लानी भयो । स्वास्नीको असल लोग्ने र छोरा-छोरीको जिम्मेवार बाबू बन्न सके पनि बाबुको कर्त्तव्यनिष्ट छोरो बन्न भने सकेन ।

छविलाल खड्काका ‘पाँच साइनो’ !

  • ६ असार २०७८, आईतवार १९:५७ प्रकाशित
  • Nabintech