१४ बैशाख २०८१, शुक्रबार
प्रेस संगठन बाँकेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  • काँचुली खबर

प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध सदस्यहरुलाई सपथ खुवाईएको हो । प्रेस संगठन लुम्बिनि प्रदेशका संयोजक मानसिंह विकले नयाँ सदस्य तथा पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

जिल्ला शाखा बिस्तार गर्ने क्रममा फागुन ८ गते संगठनप्रति आस्थावान ३७ जनालाई जिल्ला सदस्यमा मनोनित गरीएको थियो । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको छ ।

संगठनले पूर्णता पाएको खुसीयालीमा शनिबार अगैयास्थित बैसा पार्कमा बनभोज कार्यक्रमको समेत आयोजना गरीएको थियो । बनभोज कार्यक्रममा संगठनप्रति आस्थावान सय बढि पत्रकारहरुको उपस्थिती रहेको थियो ।

बनभोज तथा सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले संगठनलाई थप मर्यादित बनाउँदै संचारकर्ममार्फत समाजलाई रुपान्तरण गर्ने जिम्मेवारी संचारकर्मीहरुको काँधमा आएको बताए । केपी ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध संचारकर्मीहरुले खेलेको भुमिका तारिफयोग्य रहेको बताउँदै अथकले आगामी दिनमा समेत सत्यको पक्षमा प्रतिवद्ध भएर उभिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले प्रतिगमनका बिरुद्धमा एकजुट भएर नेपाली संचार जगतले न्याय प्राप्तीमा उल्लेखनिय योगदान दिएको बताए । उनले संगठनका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर अगाडी बढ्न सुझाव समेत दिएका थिए ।

प्रेस संगठन नेपाल बाँके शाखाका संयोजक डक्ट प्रसाद धितालको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमको सहजिकरण संगठनका सहसंयोजक राजेश आचार्यले गरेका थिए भने कार्यक्रममा संगठनका केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा जिम्मेवार पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा ८ बुँदे घोषणा पत्र समेत जारी गरीएको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार २०:०१ प्रकाशित
  • Nabintech