३१ बैशाख २०८१, सोमबार
बाबुराम र म एउटै मोर्चामा छौं : प्रचण्ड
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताएका छन् । शनिबार समाजवादी पार्टीका संघीय अध्यक्ष डा। भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं । तर, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं ।’ इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने प्रचण्डले टिप्पणी गरे । इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए ।

उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ । हामीलाई अलग हुन दिँदैन । ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन् । हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन् । ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन् ।’

डा. बाबुराम भट्टराईको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रचण्डले जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउनेसमेत बताए । उनले भने, ‘सामाजिक क्रान्तिका निम्ति शहीद हुन्छन् त्यसलाई राज्यले अवहेलना गर्छ । दमन गर्छ । तर बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने छौं ।’

थुप्रै चिहानको उत्खनन् गरिनेसमेत उनले बताए । उनले भने, ‘थुप्रै चिहानको उत्खनन् गरेका छौं। फेरि पनि गर्ने छौं ।’ संविधान पूर्ण नभएको उल्लेख गर्दै यसको दुईपटक संशोधन भइसकेको प्रचण्डको भनाई थियो । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको मुल मर्ममाथि प्रहार गरेको आरोप लगाए ।

‘संविधान हाम्रो पूर्ण छैन । हामीले जस्तो सोचेका थियौ। तर समावशी लोकतन्त्रको राम्रो प्रस्तुति छ । यो संविधानलाई संसोधन गर्नु पर्छ भनेर दुइपटक भइपनि सकेको छ,’ उनले भने, ‘तर अहिले संविधानको मूल मर्माथि प्रहार भएको छ ।’ आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन पनि भएको प्रचण्डको भनाई थियो ।

  • १ फाल्गुन २०७७, शनिबार १७:२४ प्रकाशित
  • Nabintech