७ जेष्ठ २०८१, सोमबार
सरकारले दबाब थेग्न सकेन : झाँक्री
  • काँचुली खबर

नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर उनलाई पक्राउ गरिएसँगै चौतर्फी रुपमा रिहाइको माग गएको थियो ।

दिनभर महानगरीय अपराध महाशाखामा रहेकी झाँक्रीले प्रहरीसँग भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिए ।

उनका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् । गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

सोही आधारमा प्रहरीको चासो भन्दा पनि बालु्वाटारकै दबाबमा झाँक्रीलाई पक्राउ गरिएको बताइएको छ ।

  • २९ माघ २०७७, बिहीबार १८:४४ प्रकाशित
  • Nabintech