१३ बैशाख २०८१, बिहीबार
विश्वकप ज्वरो, ‘उपाधिको दाबेदार टोली पहिलो चरणबाटै बाहिरिन सक्छन् !
  • काँचुली खबर

भव्य उद्घाटन समारोह, त्यसपछि भएको आयोजक रुस र एसियाली टोली साउदी अरेबियाबीचको खेलसँगै विश्वकप फुटबलको २१औं संस्करण रुसमा सुरु भएको छ। फुटबल पारखीहरूका लागि यो प्रत्येक चार वर्षमा आउने कुम्भमेला हो, समय र पैसा हुनेले स्टेडियममै पुगेर आफ्नो मन पर्ने टोलीको खेल हेर्छन्। नभए टेलिभिजन जिन्दावाद।

एउटा कुरा के पक्का छ भने अबको कम्तीमा महिना दिनसम्म पत्रपत्रिका र टेलिभिजनदेखि चोक, चिया पसल, कार्यालय र घरमै पनि विश्वकपकै विषय प्राथमिकतामा पर्नेछन्। कुन देशका कुन खेलाडीले कस्तो प्रदर्शन गर्‍यो, कसले के गल्ती गर्‍यो रु यी सबै विषयमा ठूला बहस चल्ने निश्चित छ।

त्योभन्दा चर्को रूपमा ब्राजिल र अर्जेन्टिना, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पक्ष र विपक्षमा बहस हुनेछन्। बहसको केही अंश अन्य देश र तिनका खेलाडीले पनि लिनेछन्। यही विषयमा विपक्षी टोली र खेलाडीको समर्थनमा रहेका आफ्नै साथीसँग मनमुटावसमेत हुनसक्छ। किनभने यो सानोतिनो प्रतियोगिता हैन, विश्वकप फुटबल हो। र, नेपाली फुटबल समर्थकहरूलाई विश्वकपको ‘फिबर’ यसअघिबाटै लागिसकेको छ।

आफ्नो समर्थन देखाउन प्रतियोगिता सुरु हुनु अघिबाटै जर्सी नै लगाएर हिँड्न थालिएको छ। त्यहीँबाट बुझ्नुपर्छ, तिनको कट्टर समर्थन। फुटबल सुन्दर खेल हो। यसको सुन्दरता टोलीको संयोजन, तिनका खेलाडीले खेल्ने शैली अनि उनीहरूले मैदानमा देखाउने अनुशासनमा लुकेको हुन्छ।

फुटबलको सुन्दरता हेर्ने दर्शकको आँखामा पनि भर पर्छ। कसैलाई आक्रामक खेल मन पर्छ। टोलीको सेटअप पनि त्यस्तै हुनुपर्छ भन्ने उनीहरूको मत हुन्छ। यस्ता समर्थक क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी मन पराउँछन्, जो मैदानमा हरेक समय ‘एग्रेसिभ’ रूपमा प्रस्तुत हुन्छन्। गोल गरेपछि त्यसको खुसी मनाउने उनको शैली पनि त्यस्तै छ। त्यही कारण कतिपयले उनलाई घमण्डी खेलाडी पनि भन्छन्। तर, उनको त्यो शैली मन पराउने समर्थक त्यस्ता आरोपको खण्डन गर्न जस्तोसुकै बहसमा पनि बस्न तयार हुन्छन्।

पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट हालसम्म एक सय ४९ खेल खेलेका रोनाल्डोले ८१ गोल गरेका छन्। यो पोर्चुगलका लागि राष्ट्रिय टोलीबाट कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो। लामो प्रहार र हेडिङ गोल गर्न माहिर रोनाल्डो टोलीलाई आवश्यक परेको कुनै पनि बेला गोल निकाल्ने खुबी राख्छन्। आफ्नो सक्रिय खेल जीवनको अन्त्यतिर आइपुग्दा रोनाल्डोले रुस विश्वकपबाट अझ धेरै अपेक्षा गरिरहेका छन्।

उनका लागि रुस विश्वकप देशमा युरोकपपछि लगातार दोस्रो ठूलो उपाधि भित्र्याउने अवसर पनि हो। स्पेनिस क्लब रियल म्याड्रिडमा पाँच सत्र बिताउँदा चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले पछिल्लो पाँच वर्ष विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वर्ष सम्मान पनि पाएका थिए। रोनाल्डोले सन् २००६ मा विश्वकपमा पदार्पण गरेका हुन्। उनको उदयपछि पोर्चुगलले जितेको सबैभन्दा ठूलो उपाधि युरोकप हो। विश्वकपमा भने पोर्चुगलले एकपटक चौथो स्थान हासिल गर्‍यो। त्यसपछि प्रिक्वार्टरफाइनल र समूह चरणबाटै घर फर्किएको थियो।

अनि त्यसको ठीक विपरीत शालीन खेल मन पराउने समर्थक लियोनल मेसी लगायतको समर्थक बन्न सक्छन्, जसको खेल मात्रै हैन, मैदानमा व्यवहार पनि त्यस्तै शालीन हुने गर्छ। लियोनल मेसीले आफ्नो फुटबल करिअरमा प्रायः सबै उपाधि जितिसकेका छन्। तर, उनले अहिलेसम्म आफ्नो राष्ट्रका लागि विश्वकप ट्रफी जित्न सकेका छैनन्। त्यसैले अहिले संसारभरका फुटबल प्रशंसकको ध्यान विश्वकप आयोजक राष्ट्र रुसतर्फ केन्द्रित भएको छ, मेसीले अर्जेन्टिनामा विश्वकप ट्रफी तेस्रोपटक भित्र्याउन सक्लान् भनेर।

मेसीकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना रुस विश्वकपमा छनोट भएको हो। गत वर्ष दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीले नै जादुमयी प्रदर्शन गरेपछि अर्जेन्टिना कपमा छनोट भएको थियो। छनोट पक्का गर्न कुनै पनि अवस्थामा जित आवश्यक रहेको उक्त खेलमा मेसीले नै तीन गोल गर्दै टोलीलाई ३-१ को जितसहित विश्वकप सहभागिता पक्का गराएका थिए।

रुस विश्वकपमा पनि अर्जेन्टिनाको यात्रा मेसीमाथि नै निर्भर रहनेछ। उनकै प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपमा तय गर्ने यात्राको निर्धारण हुनेछ। अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीका लागि एक सय २३ खेल खेलेका मेसीले ६१ गोल गरेका छन्। यद्यपि उनको यो गोल हालसम्म उनलाई सिनियर राष्ट्रिय टोलीबाट उपाधि दिलाउन भने पर्याप्त बन्न सकेको छैन।

रोनाल्डो र मेसीबाहेक चर्चामा ब्राजिलका नेमार, उरुग्वेको लुइस स्वारेज, फ्रान्सका एन्टोइन ग्रिजम्यानको काँधमा आफ्नो देशमा वल्र्डकप भित्र्याउने ठूलो जिम्मेवारी छ। आफ्नै भूमिमा लज्जास्पद प्रदर्शनको चार वर्षपछि ब्राजिल पुनः उपाधि जित्ने लक्ष्यसहित रुस पुग्दा नेमारबाट धेरै आशा गरिएको छ। रुस विश्वकपमा उरुग्वेले हात पार्ने सफलता स्वारेजकै प्रदर्शनमा निर्भर रहनेछ। यो सिजन क्लब र आफ्नो देशका लागि ३४ गोल गरेका स्वारेज उरुग्वेका लागि समग्रमा अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

ग्रिजम्यान जस्तोसुकै बलियो प्रतिद्वन्द्वीलाई पनि अत्याउने क्षमता राख्छन्। सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीमा आबद्ध भएका ग्रिजम्यानले राष्ट्रिय टोलीका लागि १९ गोल गरिसकेका छन्। उनले ५१ गोलमा सहयोगीको भूमिकासमेत निर्वाह गरेका छन्। बल छक्याउने कलाले विपक्षी रक्षकलाई सधैं दबाबमा राख्ने ग्रिजम्यानको खेलले एकपटक पुनः फ्रान्सको भाग्य चम्किन सक्छ।

फुटबल बुझ्न र सिक्न चाहनेका लागि विश्वकप यस्तो सहज अवसर हो, जसबाट घरमै बसेर टेलिभिजनमार्फत मनोरञ्जनसहित सिक्न सकिन्छ। रुस विश्वकपमा विभिन्न पाँच महादेशीय क्षेत्रबाट ३२ टोलीको सहभागिता छ। तीमध्ये सबैभन्दा बढी युरोपेली क्षेत्रबाट १४ टोली छन्। त्यसपछि एसिया, दक्षिण अमेरिका र अफ्रिकी महादेशबाट पाँच\पाँच देश छनोट भएका छन् भने उत्तर अमेरिका, केन्द्रीय अमेरिका र क्यारेबियन क्षेत्रबाट भने तीन टोली छनोट भएका छन्।

क्षेत्रअनुसार खेलाडीहरूले खेल्ने शैली फरक हुने गर्छ। उनीहरूको फुटबल बुझाइ र जितका लागि अपनाउने रणनीति फरक हुने गर्छ। त्यसमा फरकफरक कला भएका खेलाडी आउने गर्छन्। त्यसले गर्दा नै त हो, विश्वकप यति रोचक र हेर्नलायक बन्ने पनि।

कठिन छनोट चरण पार गरेर अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका टोली प्रायः एकसेएक हुने गर्छन्। कुनै पनि टोलीले ठूला टोलीलाई पराजित गर्नसक्ने क्षमता राख्छन्। उपाधिको दाबेदार मानिएको टोली पहिलो चरणबाटै बाहिरिन सक्छन्। अन्डर डग मानिएका टोलीहरू निकै अघि बढ्न सक्छन्। आखिर फुटबल आश्चर्यको खेल हो भने विश्वकप त्यही आश्चर्य देखाउने मञ्च पनि त हो।

यस्ता प्रतियोगितामा गरिने प्रदर्शन र बन्ने कीर्तिमानले कतिपय खेलाडीको जीवन नै कायापलट हुने गर्छ। विश्वकपको प्रदर्शनपछि खेलाडीलाई ठूला क्लबहरूले करोडौं रकम खर्च गर्न तयार हुन्छन्। त्यसले उनीहरूको खेलले ठूलो मञ्च मात्रै पाउँदैन, महिनामै लाखौं पारि श्रमिक पनि कुम्ल्याउँछन्।

यसपटक विश्वकप केही समर्थकका लागि भने खल्लो हुने निश्चित छ। यसपटक चारपटकका विश्वकप उपाधि जितिसकेको इटाली र पछिल्ला दुई संस्करणमा क्रमशः दोस्रो र तेस्रो बनेको नेदरल्यान्ड्स छैनन्। उनीहरू छनोट प्रतियोगितामै रोकिए। इटाली र नेदरल्यान्ड्स नहुनु भनेको विश्वकपमा दुईवटा फुटबल शैली नहुनु हो।

इटालीको अर्थ डिफेन्सिभ खेल्ने र काउन्टर एट्याकमा गोल गर्ने शैली। नेदरल्यान्ड्सको अर्थ हार्ड एन्ड फास्ट फुटबल शैली। विश्वकप टोलीमध्ये इटालीको रक्षापंक्ति सधैं निकै सशक्त रहने गर्छ। कुनै पनि टोलीलाई इटालीको रक्षापंक्ति कटाएर गोल गर्न असम्भवजस्तै देखिन्छ। त्यस्तै अवस्थामा काउन्टर एट्याकमा गोल गर्दै इटालीले चारपटक विश्वकप उपाधि जितेको छ।

हार्ड एन्ड फास्ट फुटबल खेल्ने नेदरल्यान्ड्सले ब्राजिल विश्वकपमा टिकी टाका शैलीमा अघिल्लोपटक उपाधि जितेको स्पेनलाई समूहगत चरणको पहिलो खेलमै ध्वस्त बनाएको थियो। संयोग कस्तो भने दक्षिण अफ्रिका विश्वकप उपाधि जित्दा स्पेनले नेदरल्यान्ड्सलाई नै फाइनलमा पराजित गरेको थियो।

रुस विश्वकपमा रक्षात्मक र हार्ड एन्ड फास्ट फुटबल मन पराउने समर्थकले इटाली र नेदरल्यान्ड्सलाई ‘मिस’ गर्नेछन्। त्यसबाहेक रुस विश्वकपले धेरै रोचक क्षण दिने पक्का छ। यसपटक दुई टोली आइसल्यान्ड र पनामाले विश्वकप फुटबलमा डेब्यु गर्दैछन्। साथै यसअघि विश्वकप उपाधि जितिसकेका सात देश यसपटक पनि उपाधिको बलियो दाबेदार देखिएका छन्। त्यसमा ब्राजिलले अझै उपाधि थप्दै ६ उपाधिका साथ विश्वकप फुटबलमा सर्वाधिक उपाधि जित्ने टोलीको सूचीमा आफूलाई अझै शीर्ष स्थानमा राख्नेछ वा साविक विजेता जर्मनीले उपाधि रक्षा गर्दै ब्राजिलको बराबरी गर्ला रु वा रुस विश्वकपमा सहभागी तर अहिलेसम्म उपाधि जित्न नसकेका अन्य २५ टोलीमध्ये कसैले पहिलोपटक उपाधि जित्ला रु यसको टुंगो अबको झन्डै महिना दिनपछि लाग्नेछ। त्यस बेलासम्म विश्वकपको मजा लिनु उपयुक्त हुनेछ।

  • ३ असार २०७५, आईतवार १२:५९ प्रकाशित
  • Nabintech