४ बैशाख २०८१, मंगलवार
हेभिवेट अर्जेन्टिनाको अगाडि नवप्रवेसी आइसल्यान्ड तगारो
  • काँचुली खबर

नेपाली समय अनुसार आज ६ बजेर ४५ मिनेट जाँदा मस्कोमा अर्जेन्टिना र आइसल्यान्डबीच भिडन्त हुनेछ । यस खेलसँगै आइसल्यान्डले विश्वकप खेल्ने सानो राष्ट्रको किर्तिमान आफ्नो नाममा लेखाउनेछ । गत साता घाना विरुद्धको खेलमा चोटग्रस्त भएका मिडफिल्डर गिल्फी सिगुर्डसनले स्वास्थ्यलाभ गर्नु आइसल्यान्डका लागि खुसीको विषय हो ।

दुई पटकको विश्वविजेता अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्डलाई कमजोर आँकेको छ । त्यसैले प्रशिक्षक जर्ज साम्पाओलीले खेल सुरु हुनभन्दा अघि दिन नै सुरुवाती एघारमा कस–कसले खेल्छन् भन्ने विषय सार्वजनिक गरे । समुह डिमै आज क्रोयशिया र नाइजेरिया पनि भिड्दैछन् ।

यस्तो छ अर्जेन्टिनाको सुरुवाती एघार

विली कावालेरो (गोलकिपर)
इडुवार्डो साल्भियो, निकोलास ओटोमेन्डी, मार्कोस रोजो, निकोलास टाग्लियाफिको (डिफेन्स)
लुकास बिग्लिया, जाभियर मास्चिरानो, म्याक्सिमिलियानो मेजा, लियोनल मेस्सी (मिडफिल्ड)
एन्जेल डि मारिया, सर्जियो अग्वुइरो (स्ट्राइकर)

मेस्सीको महत्वाकांक्षा
बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिग जिताइसकेका लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट ओलम्पिक फुटबलबाहेक अरु कुनै उपाधि जितेका छैनन् । ओलम्पिकलाई फिफाले ठूलो उपाधि मान्दैन र त्यहाँ २३ वर्षमुनिका ३ खेलाडीले मात्रै प्रतिस्पर्धा गर्छन् ।

३१ वर्षका मेस्सीका लागि यो विश्वकप सम्भवत अन्तिम हो । त्यसैले उनको महत्वाकांक्षा यो उपाधि नै हो । सन् २०१४ देखि ०१६ सम्म एकपटक विश्वकप र दुईपटक कोपा अमेरिका गरेर अर्जेन्टिनाले तीन विश्वकपको फाइनल खेलेको थियो । तर सबै प्रतियोगितामा पराजित भयो । त्यो पीडा बिर्साउन पनि यसपटक मेस्सीलाई उपाधिको खाँचो छ ।

५ पटकका फिफा वर्ष खेलाडी मेस्सीले छनोट चरणमा अर्जेन्टिनाले गरेका १९ गोलमध्ये ७ गोल गरेका थिए । त्यसमध्ये छनोटको अन्तिम खेलमा गरेको ह्याट्रिक पनि समावेश छ ।

आइसल्यान्डले ठूलो लक्ष्य राखेको छैन । उसले कम्तिमा कसरी दोस्रो चरणमा पुग्ने भन्ने सोेचेको हुनुपर्छ । युरो २०१६ मा इङल्यान्डलाई हराउँदै आइसल्यान्ड क्वाटरफाइनल पुगेको थियो । फ्रान्समा भएको उक्त खेललाई प्रशिक्षक हेइमिर हलग्रिमसनले आफ्नो देशको फुटबल इतिहासकै सर्वाधिक ठूलो खेल भनेका थिए ।

तर, मेस्सीप्रति उनको विशेष सम्मान छ । ‘मेस्सीको जादु रोक्ने कुनै विशेष फर्मुला मसँग छैन । सबैले उनीविरुद्ध हरसंभव प्रयास गरेका छन् र पनि उनले गोल गर्छन्,’ उनले भनेका छन्, ‘मेस्सी विश्वका एक उत्कृष्ट खेलाडी हुन् । हामीले उनी विरुद्ध जे गर्न सक्छौं त्यही गछौं । पुरै टोली एकताबद्ध भएर मैदान उत्रनेछ ।’

आइसल्यान्डको रक्षापंक्ती बलियो छ । यता, अर्जेन्टिनासँग विश्वको जस्तोसुकै डिफेन्स लाइनअप भत्काउन सक्ने खुबी छ । मेस्सी, डि मारिया र अग्वुइरोको जोडीले अग्रपंक्तीबाट खेल्दा समर्थकहरुले त्यसको मज्जा लिनेछन् ।

केही तथ्य
– अर्जेन्टिना र आइसल्यान्ड एकअर्का विरुद्ध पहिलोपटक भिड्न लागेका हुन् ।

– अर्जेन्टिनाले पछिल्ला ७ वटा विश्वकपको समूह चरणमा युरोपेली टोलीसँग एकपटक मात्रै पराजय व्यहोरेको छ । सन् २००२ मा इङल्यान्डले अर्जेन्टनालाई हारको स्वाद चखाएको थियो ।

– विश्वकपमा अर्जेन्टिनाको यो १७ औं सहभागिता हो । पछिल्ला १२ संस्करणमा अर्जेन्टिना लगातार छनोट भइरहेको छ ।

– विश्वकपका पछिल्ला १२ संस्करणमा अर्जेन्टिनाले ११ पटक नकआउट यात्रा गरेको छ । सन् २००२ मा भने अर्जेन्टिना समुह चरणबाटै बाहिरिएको थियो ।

– पछिल्ला तीन विश्वकपमा अर्जेन्टिनाले आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्दै नकआउट यात्रा गरेको छ । पछिल्ला ६ विश्वकपमा सधैं उसले आफ्नो पहिलो खेल जितेको छ ।

– आइसल्यान्ड पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि आइसल्यान्डले खेलेका ठूलो प्रतियोगिता युरो २०१६ नै हो । जहाँ, आइसल्यान्ड क्वाटरफाइनल पुगेको थियो ।

– आइसल्यान्डको जनसंख्या ३ लाख ३४ हजार छ । यति थोरै जनसंख्या भएको देशले विश्वकप खेल्न लागेको यो पहिलो अवसर हो ।

– विश्वकप छनोटमा आइसल्यान्डका गिल्फी सिगुर्डसनले टोलीका लागि सर्वाधिक ४ गोल गरेका थिए ।

  • २ असार २०७५, शनिबार १८:३० प्रकाशित
  • Nabintech