१४ बैशाख २०८१, शुक्रबार
पक्राउ पर्दैनन् अपराधीहरू, वर्षौंदेखि रहस्यमै छन् घटना
  • काँचुली खबर

प्रदेश नम्बर सातको अस्थाई राजधानी धनगढीको व्यस्त सडकमा गत आइतबार बिहान सवा १० बजे निर्मल कार्कीमाथि गोली प्रहार भयो। सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो। घटनाको एक साता पुग्नै लाग्दासमेत प्रहरीले आक्रमणकारी प्रक्राउ गर्न सकेको छैन। गएको फागुन २८ गते घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण भयो। राति करिब सवा ८ बजेको समयमा आफ्नै घरमा रहेका बेला चौधरीमाथि खुकुरी र गोली प्रहार भएको थियो। घटनाको एक साता नबित्दै जिल्ला प्रहरी कार्यालय कैलालीले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरेको थियो। ‘चन्दा नदिएपछि नगर प्रमुख चौधरीलाई आक्रमण गरिएको हो आक्रमणमा संलग्न रहेका चारजना हाम्रो नियन्त्रणमा छन्,’ पत्रकार सम्मलेनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विनोद घिमेरेले भने।

प्रहरीले सार्वजनिक गरेका रहेका घोडाघोडी नगरपालिका लक्ष्मीपुरका कमल क्षेत्री, सोही स्थानका भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ का पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का हृदयराज बोगटीलाई प्रहरीले आवश्यक प्रमाण नभेट्टाएको भन्दै पक्राउ गरेको एक सात नपुग्दै रिहा गर्‍यो। कैलालीको गोदावरी नागरपालिका प्रमुख हरिसिंह साउदको घरमा बम विस्फोट गराउने को हुन् भन्नेबारे प्रहरीले अझै अनभिज्ञता प्रकट गर्ने गरेको छ। प्रहरीले गम्भीर अनुसन्धान गर्न नसकेको आरोप जनप्रतिनिधि हुन् वा सर्वसाधारण एकपछि अर्को गर्दै भएको आक्रमणका विषयमा प्रहरीले गम्भीर अनुसन्धान गर्न नसकेको आरोप स्थानीयको छ। आक्रमणका घटनमा मात्रै होइनन् जघन्य अपराधमा समेत प्रहरीको सक्रियता नभएको सर्वसाधारण बताउँछन्।

एकवर्षमा पनि पत्ता लागेन हत्यारा

७ जेठ ०७४ राति धनगढी उपमहानगरपालिका(७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशीको रहस्यमय ढंगबाट हत्या भयो। हत्यालगत्तै बझाङ थलारा गाउँपालिका ३ की २० वर्षीया पूजा बटाला उनका ससुरा कलक बटालालगायत सात जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। हत्या गरिएका वृद्ध दम्पती घटनाको एक वर्ष पूरा हुँदासम्म दम्पती हत्याको न त रहस्य खुल्यो, नत अपराधीको पहिचान नै भयो, बरु पक्राउ परेका सातजनामध्ये पाँचजना छुटे दुईजना ससुरा बुहारी पुर्पक्षका लागि थुनामा छन्। घटनाको लामो समय बितिसक्दा पनि प्रहरीले सत्यतथ्य सार्वननिक नगरेको स्थानीयको आक्रोश छ। हत्यामा संलग्नमध्येका दुईजना पक्राउ परिसक्दा पनि घटना रहस्यमय नै रहनु थप रहस्यको विषय हो। एक हुल जमातले वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर रातभर भोजभतेर र नाचगान गरेको स्थानीयले बताएका छन्। दुईजनालाई मात्रै थुनेर घटना ढाकछोप गर्ने प्रयास यसबाट हत्यामा संलग्न दुईजना मात्रै छैनन् भन्ने बुझिन्छ। तर प्रहरीले दुई जनालाई मात्रै थुनामा राखेर घटना ढाकछोप गर्न खोजेको आरोप पीडित परिवारको छ। मृतक दम्पतीकी छोरी कमला जोशी भन्छिन्, ‘आमा बुबाको हत्या सुनियोजित हो, तर प्रहरी प्रशासन मौन छ।’

पक्राउ परेकी पूजा बटालाले हत्यामा संलग्न रहेको बयान प्रहरीलाई दिएकी छन्। उनले घटनामा अरुहरुको संलग्न रहेको बताएको पीडितहरुको भनाइ छ। नामै किटान गरेर बयान दिँदासमेत प्रहरीले चासो नदिएको मृतक दम्पतीका ज्वाइँ केशव जोशीको भनाइ छ। जोशीले भने, ‘प्रहरीले चासो दिएमा जटिल विषयका मुद्दाहरु त किनारा लाग्छन् हाम्रो विषयमा प्रहरी गम्भीर नबनेको देख्दा अचम्म लाग्छ।’ उनी थप्छन्, ‘यी प्रहरीलाई नै कसैले केही न केही दिएको हुनुपर्छ।’ पाँच वर्षअघिका घटनालाई छैन न्याय वृद्धा दम्पतीको हत्याजस्तै धनगढीमै पाँच वर्षअघि २५ मंसिर ०६९ मा हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन्।

हत्याबारे प्रहरी प्रशासनले प्रभावकारी रुपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको पीडित परिवारको गुनासो छ। केही वर्षअघि अत्तरियास्थित खानेपानी ट्यांकीनजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुलनजिक अज्ञात महिलाको बलात्कारपछि भएको वीभत्स हत्या लगायतका कुनै पनि घटनामा प्रहरीले अपराधीलाई कानुनको दायरामा ल्याउन सकेको छैन। क्षेत्रीय प्रमुख वर्षौंदेखि बेपत्ता, दुई करोड लुटेर भाग्ने पक्राउ परेनन् लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।

२६ मंसिर ०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नोपली रुपैयाँ र २ सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गस्थित मालाखेती जंगलमा दिउँसै लुटिएको थियो। चार वर्षमा दोषी पक्राउ पर्ने त परैको कुरा भयो प्रहरीले सुराकसम्म पनि हात पार्न सकेको छैन। कैलालीका प्रहरी प्रहरी उपरीक्षक विनोद घिमिरे भने ढिलो चाँडो अपराधी पक्राउ गर्ने बताउँछन्। उनी भन्छन्, ‘ढुक्क हुनुहोस् हामी अपराधी पक्राउ गर्छौं’। ‘कतिपय अवस्थामा घटना भएलगत्तै अपराधी पक्राउ परिहाल्छ भन्ने हुँदैन,’ उनले भने। अपराधको वर्षांैपछि पनि अपराधी पक्राउ पर्ने उनले दाबी गरे। पछिल्लो समय बढिरहेको अपराधिक गतिविधिले स्थानीयलाई थप त्रसित बनाएको छ। त्यसैमाथि प्रहरीले घटनाका दोषी पक्राउ गर्न नसक्दा थुप्रै पीडित परिवारहरु अझै न्यायको पर्खाइमा छन्।

  • २० जेष्ठ २०७५, आईतवार १५:३० प्रकाशित
  • Nabintech