२९ बैशाख २०८१, शनिबार
कुन जिल्ला मा कुन नेताले कति मत पाए ?? हेर्नुहोस पूरा विवरण
  • काँचुली खबर

विभिन्न जिल्लामा मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त भइरहेको छ ।

बैतडी— यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ ।
कुल १३ हजार ५०८ मत गणना हुँदा आज बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा (क)मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख)मा नेकपा (एमाले)का लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गर्नुभएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

बेनी, म्याग्दी ः म्याग्दीमा प्रतिनिधिसभामा एमाले–माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एमाले)का भूपेन्द्रबहादुर थापाले अग्रता कायम गर्नुभएको छ । बिहान ५ बजेसम्मको मतपरिणामअनुसार थापाले ११ हजार ८९३ मतसहित अग्रता कामय गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका खुमबहादुर गर्वुजा, खम्वीरले १० हजार ५६ मतसहित थापालाई पछ्याई रहनुभएको छ ।
त्यसैगरी, प्रदेशसभा (क)मा वाम गठवन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का विनोद केसीले सात हजार ४० मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचनले ६ हजार १९० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले चार हजार ९५० र नेकाका अमलाल फगामीले चार हजार ५३७ मत प्राप्त गर्नुभएको छ ।

एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खोटाङ ः मंसिर १० गते खोटाङमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुका साढे सात बजेदेखि शुरु गरिएको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।
प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का विशाल भट्टराईको छ हजार २४१ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाकी सरस्वती बजिमयको चार हजार ३८१ रहेको छ । भट्टराई र बजियमयको पछिल्लो मतान्तर एक हजार ८६० रहेको छ ।
प्रदेशसभा सदस्य क्षेत्र नं १ (क)मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन राईको दुई हजार ९१८ र नेकाका सुवासकुमार पोखरेलको एक हजार ६९४ मत रहेको छ ।
यस्तै, प्रदेशसभा २ (ख)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई (पासाङ)को तीन हजार ४९१ र नेकाका विष्णुकुमार राईले एक हजार ९५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दश राजनीतिक दलका १९ जना उम्मेदवार रहेको जिल्लामा कूल एक लाख २५ हजार १८३ मतदाता रहेको र ७१ हजार ३११ मत खसेको थियो ।

संखुवासभा ः यसैगरी, यहाँ बिहीबार साँझ ५ः३० बजेदेखि संखुवासभाको निर्वाचन मतगणना शुरु गरिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा नेकाका उम्मेदवार दीपक खड्काको एक हजार १४६, साझा वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र गौतमको एक हजार ६९ मत प्राप्तगर्नुभएको छ ।
प्रदेश नंं १ संखुवासभा (क)मा नेकाका टंकप्रसाद राईको ८०७, साझा वाम गठबन्धन माओवादी केन्द्रका पूर्णप्रसाद राई एक हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने प्रदेश नं १ संखुवासभा (ख)का नेकाका दीपक लिम्बूको ९१७, साझा वाम गठबन्धनका एमालेका तुलसीप्रसाद न्यौपानेले एक हजार ७० मत प्राप्त गर्नुभएको बिहान ४ बजेसम्मको पछिल्लो मतगणना सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

सोलुखुम्बु ः सोलुखुम्बुमा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । मतगणना शुरु भएसँगै अग्रता लिएको वाम गठबन्धनले अहिले मतान्तर फराकिलो बनाउँदै लगेको छ ।
प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार हेमकुमार राईले ६ हजार ४६८ मत प्राप्त गर्दा नेकाका उम्मेदवार पूर्वमन्त्री बलबहादुर केसीले चार हजार ६४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रदेश (क)मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले तीन हजार २४९ मत प्राप्त गर्दा नेकाका प्रकाशसिंह कार्कीले एक हजार ९७९ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले तीन हजार ४६५ मत प्राप्त गर्दा नेकाका आङगेलु शेर्पाले दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ ।

बेसीशहर, लमजुङ ः लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनिधिसभामा १४ हजार ८१६ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिनुभएको छ । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा नेकाका उम्मेदवार दिलबहादुर घर्तीले ६ हजार ९१४ मत ल्याउनुभएको छ ।
यस्तै, प्रदेशसभा (क) र (ख) दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा (क)मा सात हजार ५१३ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनन्ञ्जय दवाडीले चार हजार ३९३ मतले अग्रता लिनुभएको छ् । दवाडीलाई काँग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले दुई हजार ९०६ मतले पछ्याउनुभएको छ ।
प्रदेशसभा (ख)मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिनुभएको छ ।

गुरुङले तीन हजार ९०३ मत ल्याउँदा कोइरालाले तीन हजार ५४५ मत ल्याउनुभएको छ । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा (क)मा ३६ हजार ६८ र प्रदेशसभा (ख)मा ४१ हजार २७२ मत खसेको थियो ।

रोल्पा ः मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रोल्पामा बिहीबार बेलुकादेखि शुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार वाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
बिहान ८ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुनले पाँच हजार ५१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फवाट नेकाका उम्मेदवार अमरसिं पुनले दुई हजार ६४९ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाका लागि हालसम्म १७ हजार ८०३ मतगणना भएकामा एक हजार २३९ मत बदर भएको बताइएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फवाट नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसीले एक हजार ८९४ मत प्राप्त गर्नुभएको छ । यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार शेरबहादुर महराले एक हजार ४९७ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा तीन हजार ९४३ मतगणना भइसकेको छ ।
प्रदेश सभा (ख)मा वाम गठबन्धनका तर्फवाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दीपेन्द्र पुनले तीन हजार ७११ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका नेकाका खगेन्द्रप्रकाश हमालले ८६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा पाँच हजार २५ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले बताएको छ ।

  • २२ मंसिर २०७४, शुक्रबार ०५:१४ प्रकाशित
  • Nabintech