१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफु जानकार रहेको बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पुर्ण ध्यान केन्द्रित भएको छ, ।’ रुस-युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । बर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको समेत प्रचण्डले बताए । उनले भने, ‘सामुहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सवैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ, ।’
प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चेम्बरले ८ बुँदे सुझाव समेत दिएको छ । बैंक तथा वित्तिय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए ।
उनले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायीत्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।’ मुलुकको पुँजिगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए ।
चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्ल सहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ लगायतले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई एवं शुभकामना दिएका थिए ।
१३ पुष २०७९, बुधबार १८:२१ प्रकाशित