पर्व बिदा कटौती विरोधमा जनजातिहरुले पुस ४ गते राजधानीमा धर्ना दिने
  • काँचुली खबर

आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन लागेका हुन् ।

आदिवासी समुदायको सांस्कृतिक पर्वहरुमा दिइँदै आएको सार्वजानिक विदा पुनस्र्थापनाका लागि राज्य तथा सरकारलाई दवाव स्वरुप धर्ना दिन लागिएको महासंघका अध्यक्ष जगत बरामले बताउनुभयो ।

चाडपर्वको विदा कटौतीविरुद्ध मंसिर २५ गते नै महासंघले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । सोही घोषणाअनुसार पुस ४ गते माइतीघर मण्डलामा धर्ना दिन लागेको हो । सो कार्यक्रम सफल पार्नका लागि व्यापक तयारी गरेको आयोजकले बताएको छ । आन्दोलनका रुपमा अघि सारिएको धर्ना कार्यक्रम सफल पार्न भन्दै महासंघले सोमबार राजधानीमा तयारी छलफल समेत गरेको छ ।

धर्ना कार्यक्रममा सबै आदिवासी जनजाति, बुद्धिजीवी, अधिकारकर्मी, न्यायप्रेमी जनसमुदायलाई एक्येवद्धता जनाइदिन समेत महासंघले आव्हान गरेको छ ।

यस्तो छ धर्नाका कार्यक्रम–

१. किरातजन्य समुदायहरु संयुक्त ब्यानरसहित बानेश्वरतर्फको चोकमा धर्ना बस्ने ।

२. विभिन्न ल्होसार मनाउने समुदायहरु सिंहदरवारतर्फको चोकमा धर्ना बस्ने ।

३. माघे संक्रान्ती तथा माघी मनाउने समुदायहरु थापाथली तर्फको चोकमा धर्ना बस्ने ।

४. अन्य आदिवासी संगठनहरु र विभिन्न महासंघीय संगठनहरु माथि उल्लेखित समुदायहरुको बिच बिचमा बस्ने ।

५. दिउँसो १ः०० बजेवाट २ः०० वजेसम्म विभिन्न ३ चोकमा धर्ना बसेर २ः०० बजेवाट ३ः०० बजेसम्म एकै चोकमा कोणसभा गर्दै कार्यक्रम समापन गर्ने ।

६. सम्पूर्ण आदिवासीजन्य संस्था तथा संगठनहरुले यथासक्दो धेरैभन्दा धेरै सहभागीहरुलाई उपस्थिति गराउने ।

everesttimes.net बाट साभार

  • २ पुष २०७५, सोमबार २०:२९ प्रकाशित
  • Nabintech