बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर गाउपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र मावि मटेहियामा सञ्चालन गरिएको शिविरमा ४ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको सिनियर डिष्ट्रिक एडभाइजर मुकुट ढकालले जानकारी दिए । लायन्स रिजन चियर पर्सन समेत रहेका स्वास्थ्य शिविर संयोजक संजय सिंहको अध्यक्षतामा भएको शिविरको उद्घाटन प्रमुख अतिथि प्रदेश साँसद कृष्णा केसी नमुनाले गरेकी थिइन् । प्रदेश साँसद नमुनाले जनतालाई विभिन्न राहतका लागि योजना बनाइरहदा लायन्सले स्वास्थ्य उपचारको सहज पहुँच नभएको नरैनापुरमा आएर शिविर सञ्चालन गरेकोमा आभार व्यक्त गरिन् । आफु यस क्षेत्रको जननिर्वाचित प्रतिनिधी हुनुभन्दा पहिला र भएपछि समेत सबैभन्दा पछाडी परेको क्षेत्रलाई सबै हिसाबले अगाडि बढाउन लागिपरेको उनले बताइन् । आफ्नो निर्वाचन क्षेत्रका अन्य स्थानहरुमा समेत यसभन्दा पहिला पनी स्वास्थ्य शिविर भइरहेको भन्दै सांसद नमुनाले निकट समयमा नै अन्य गाउँहरुमा समेत विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर स्वास्थ्य शिविर गरिन लागेको जानकारी दिइन् । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग र नाक, कान, घाँटी, हाडजोर्नीको परिक्षण गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डाक्टर अब्दुल हुसेन खानको नेतृत्वमा रहेको चिकित्सकको टिमले स्वास्थ्य परिक्षणका क्रममा बढी जसो आँखा र कानका बिरामीहरु फेला परेको बताएको छ । बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
१ पुष २०७५, आईतवार २१:४५ प्रकाशित